PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

उद्घाटन खेलमा आयोजक रसिया हावी, साउदी अरेबियाको ठूलो अन्तरको पराजय

उद्घाटन खेलमा आयोजक रसिया हावी, साउदी अरेबियाको ठूलो अन्तरको पराजय


विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ। 

पूरै खेलमा रसिया हावी रह्यो। साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो। 

खेल सुरु भएको १२ औँ मिनेटमा गजिन्स्कीले हेडमार्फत् शानदार गोल गरी मस्कोको मैदानमा उपस्थित हजारौँ दर्शकलाई खुशी बनाएका थिए। उनको यही गोल यो पटकको विश्वकपको पहिलो गोल हुन पुग्यो। मध्यान्तर हुनु दुई मिनेट अघि चेरीसेभले गोल गरी अन्तर दोब्बर बनाए। 

मध्यान्तरपछि रसियाले तीन गोल अझै थप्यो। 

स्टार स्ट्राइकर फेदोर स्मोलोभको सट्टा मैदानमा छिरेका जुबाले मैदानमा प्रवेश गरेको एक मिनेटमै ७१ औँ मिनेटमा गोल गरे। बाँकी दुई गोल इन्जुरी टाइममा भए। चेरीसेभले ९१ औँ मिनेटमा गोल गरी कूल गोल संख्या पहिलो खेलमै दुई पुर्‍याए भने ९४ औँ मिनेटमा गोलोभिनले फ्रिकिकबाट सीधै गोल गरी ५-० को अन्तरमा साउदी अरेबियालाई पराजित गरे। 

पहिलो खेलमा शान्दार विजयसँगै रसियाले आफ्नो समूहमा तीन अङ्क त पाएको छ नै, गोल अन्तर शानदार बनाएको छ। यो समूहमा रहेका उरुग्वे र इजिप्टको खेल भोलि हुँदैछ। 

खेलमा रसियाकै अलान जागोएभ चोटका कारण खेलको २४ औँ मिनेटमै बाहिरिए। उनी बाँकी खेलहरुमा पनि फर्कन सक्ने नसक्ने निश्चित छैन। 

 
 
 


ट्रेन्डिङ पोस्ट

Ncell