PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मेक्सिकोका कोचले गरे नेमारको 'एक्टिङ'को आलोचना, लायुनले भने- पल्टिन मन लागे घरमा पल्टिए हुन्छ नि



मेक्सिकोका कोचले गरे नेमारको 'एक्टिङ'को आलोचना, लायुनले भने- पल्टिन मन लागे घरमा पल्टिए हुन्छ नि

सोमबार ब्राजिलसँग २-० ले पराजित भएको खेलमा नेमारको एक्सनलाई लिएर मेक्सिकोका कोच जुआँ कार्लोस ओसोरियोले आलोचना गर्दै खेल सुचारु गर्न अफिसियलहरुले धेरै समय लगाउनु लज्जाजनक भएको बताएका छन्। 

१-० ले ब्राजिलले अग्रता लिइरहेको बेला ७२ औँ मिनेटमा नेमार बल चेज गर्दै गर्दा लडेका थिए। मेक्सिकोका मिगुएल लायुनले बल लिन जाने क्रममा यी सुपरस्टारको कुर्कुच्चा कुल्चिदिए। त्यसपछि नेमारले जे गरे, त्यसको चर्को आलोचना सोसल मिडियामा समेत भयो। रेफ्रीले केही समय खेल रोकेका थिए। 

मेक्सिकोका कोच ओसोरियोका अनुसार बराबरी गोलका लागि प्रयास गरिरहेको मेक्सिकोको गति यो घटनाका कारण रोकियो। उनले नेमारको नाम भने लिएनन्, खेलपछिको पत्रकार सम्मेलनमा सीधै प्रश्न सोध्दा  यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे। 
 
हाम्रो खेलमा नियन्त्रण थियो, तर मेरो लागि यो लाजको विषय हुन जान्छ कि एक खेलाडीको लागि यति धेरै समय नष्ट गरियो, उनले भने। 

'एउटा खेलाडीका लागि चार मिनेटको समय ढिला गर्नु खेल्ने बच्चाहरुका लागि समेत एउटा शिक्षा हो। खेल मानिसहरु बीच हुने हो, जोकरहरुबीच हैन', उनले भने। 

समूह चरणको खेलमा स्विट्जरल्यान्डसितको खेलमा अतिरञ्जित तरिकाले गुल्टिएपछि पनि नेमारको हाँसो उडाइएको थियो। ब्राजिली स्टारले टिभी ग्लोबोसित कुरा गर्दै घटनाबारे भने, उनीहरुले मलाई कुल्चिए। यो ठीक थिएन। 

अनि थपे, 'उनीहरुले धेरै बोले तर उनीहरु अब घर जाँदैछन्।'

लायुनले भने आफूले जानाजानी नेमारलाई नकुल्चिएको बताए। यी मेक्सिकोका विङ्ग ब्याकले भने, अन्त्यमा यो फुटबल हो। यदि उनी आफूलाई कसैले नछोओस् भन्ने चाहन्छन् भने उनले अरु नै केही गरे हुन्छ। उनी भूइँमै रहन चाहन्छन् भने आफ्नै घरमा गएर पल्टिए हुन्छ।'
 
'मैले उनलाई अलिकति छोएको थिएँ। तर त्यो त्यतिबेला जब म बल लिन गएको थिएँ र उनले मलाई आधा छेके। मैले त उनलाई हेरेको पनि थिइनँ, मेरो आँखा त बलमा थियो।'

मेक्सिकोका भेटेरन रफा मार्क्युएजले नेमारको व्यवहार अनौठो नभएको बताए। भने, 'हामीले नेमारलाई राम्ररी चिनेका छौँ। उनको क्यारेक्टर र एटिच्युड बुझेका छौँ।'

ब्राजिली कोच टिटेले भने आफ्ना खेलाडीको प्रतिरक्षा गर्दै भने, नेमारले केही गरेको छैन। उनीहरुले कुल्चिएका हुन्। 

मेक्सिकन कोचको प्रतिक्रियाबारे सोध्दा उनले भने, यो हारको नतिजा हो। जब हारिन्छ त्यसको फ्रस्टेसनमा यस्ता कमेन्ट आउँछन्। 

ओसोरियोले इटालियन रेफ्री जियानलुका रोचीको पनि आलोचना गरे ब्राजिलको पक्षमा धेरै निर्णय गरेको भन्दै। (स्रोत : इएसपिएन)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell