PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पेनाल्टी जित्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्न सफल, कोलम्बियाको अन्तिमसम्मको संघर्ष व्यर्थ

पेनाल्टी जित्दै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्न सफल, कोलम्बियाको अन्तिमसम्मको संघर्ष व्यर्थ


पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको छ। यसअघि विश्वकपमा पेनाल्टीमा सधैँ ठगिँदै आएको इंग्ल्यान्ड यसपटक भने सफल हुँदै क्वार्टरफाइनल प्रवेश गरेको हो। 

त्यसो त कप्तान ह्यारी केनले ५७ औँ मिनेटमा गरेको पेनाल्टीका मद्दतले इंग्ल्यान्ड कोलम्बियालाई घर फर्काउँदै क्वार्टरफाइनलमा प्रवेश गर्ने निश्चित जस्तै भइसकेको थियो। तर  पाँच मिनेट थपिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा पाएको कर्नरलाई येरी मिनाले हेड गर्दै गोल गरेपछि कोलम्बियाले खेललाई थप ३० मिनेट तन्काउन सफल भएको थियो। 

तर थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता छानिने भयो।  इंग्ल्यान्डका गोलकिपर पिकफोर्ड र कोलम्बियाका ओस्पिनामाथि टिमको भविष्य निर्भर हुने भयो।

इंग्ल्यान्डका तर्फबाट ह्यारी केन र मार्कस रसफोर्ड तथा कोलम्बियाका तर्फबट कुअादराद्रो र लुइस मुरियलले सुरुमा गोल गरे। 

इंग्ल्यान्डका हेन्डरसनको पेनाल्टी ओस्पिनाले रोक्न सफल भएका थिए। तर लगत्तै कोलम्बियाका उरिबेले पोलमा बल हानेपछि कोलम्बियाले लिएको अग्रता गुमेको थियो। 

त्यसपछि इंग्ल्यान्डका ट्रिपियरले गोल गरे तर कोलम्बियाका कार्लोस बाकाको पेनाल्टी पिकफोर्डले रोके। निर्णायक पेनाल्टी हान्न इंग्ल्यान्डका एरिक डायर आए। उनको पेनाल्टीलाई ओस्पिनाले सही गेस पनि गरे, हातले बल छोएका पनि थिए। तर रोक्न सकेनन्। बल जालीभित्र छिरेसँगै कोलम्बियाको अघि बढ्ने सम्भावना पनि समाप्त भयो। 

इंग्ल्यान्डले मुख्य प्रतियोगितामा पेनाल्टीमा विजय पाएको यो दोस्रो पटक हो। यसअघि युरो १९९६ मा स्पेनलाई उसले पराजित गरेको थियो। विश्वकपमा भने उसले पहिलो पटक पेनाल्टी सुटआउटमा विजय हात पारेको हो। 

इंग्ल्यान्डको क्वार्टरफाइनलमा भेट स्विडेनसित हुनेछ।  सन् २००६ यता इंग्ल्यान्ड पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell