PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

तीन क्षण जहाँ उरुग्वे चुक्यो र क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो



तीन क्षण जहाँ उरुग्वे चुक्यो र क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो

विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धात्मक हुने आशा गरिएको थियो। तर परिणाम फ्रान्सको पक्षमा एकोहोरो भयो। खेल २-० ले जित्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। यो खेलमा उरुग्वेले गुमाएका तीन मौका जसले फ्रान्सविरुद्धको खेलको परिणाम अर्कै हुनसक्थ्यो।

१) कभानी घाइते

यो विश्वकपमा उरुग्वेको टिमबाट कभानी र सुआरेजको जोडी जमेको थियो। कभानीले गरेका गोलहरुमा सुआरेजको महत्त्वपूर्ण योगदान हुन्थ्यो। तर पोर्चुगलसितको खेलमा कभानी घाइते भए। फलस्वरुप यो खेल उनले खेल्न सकेनन्। यस्तो लाग्थ्यो उरुग्वे कभानीको अनुपस्थितिमा मनोवैज्ञानिक रुपमै तल परिसकेको थियो। जोडी नभेट्टाउँदा पूरै खेलमा सुआरेज लयमा आउन सकेनन्। फ्रेन्च डिफेन्सले बार्सिलोनाका यी स्ट्राइकरलाई चलमलाउन दिएनन्। फलस्वरुप उनले खेल भरी एउटा पनि सट हान्न सकेनन्।  

२) लोरिसको गजबको बचाउ

४० औँ मिनेटमा रफायल भारानोले फ्रिकिकबाट आएको क्रसलाई हेड गर्दै गोल गरे। प्रतियोगिता भर एक गोलमात्र खाएको उरुग्वेको डिफेन्स हतप्रभ भएको थियो यो गोलले। तर यसको ४२ औँ मिनेटमै उरुग्वेले गेममा फर्कने प्रयास गरेको थियो। फ्रिकिकमा पाएको बललाई कासेरेसले गरेको हेड ह्युगो लोरिसले डाइभ गरी एक हातले शानदार बचाउ गरे। रिबाउन्डमा पनि उरुग्वे गोल गर्न असफल भयो। यदि यहाँ लोरिस चुकेको भए खेलको नतिजा जे पनि हुनसक्थ्यो। यही बचाउ खेलको महत्त्वपूर्ण क्षण हुन पुग्यो। 

३) ६३ औँ मिनेटको त्यो गोल

फ्रान्सको अग्रता १-० थियो। उरुग्वे गोल फर्काउन भरमग्दुर प्रयास गर्दै थियो। तर ६३ औँ मिनेटमा ग्रिजम्यानले गोल गरे। उनको टाढैबाट हानेको  सटलाई उरुग्वेका गोलकिपर मुस्लेराले पन्च गर्न खोजे तर बल अगाडि जानको साटो माथि गयो र सीधै नेटभित्र पस्यो। मुस्लेराले फेरि त्यसलाई रोक्ने समय नै थिएन। दुई गोलको अग्रता लिएसँगै उरुग्वेको खेलमा फर्कने सम्भावना अन्त्य भयो। 

हेर्नुस् भिडियो हाइलाइट


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell