PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रसिया VS क्रोएसिया : घरेलु मैदानमा क्रोएसियाको कडा सामना गर्ने तयारीमा रसिया



रसिया VS क्रोएसिया : घरेलु मैदानमा क्रोएसियाको कडा सामना गर्ने तयारीमा रसिया
फोटो: skysports.com

विश्वकप आयोजक रसियाले आज उपाधि दाबेदार मानिएको क्रोएसियाको सामना गर्दैछ। बेलुकी ११ :४५ बजे फिस्ट स्टेडियम सोचीमा यी दुर्इ टोली भिड्नेछन्। दुबै टोलीले क्वाटर फाइनल खेलमा आफ्ना प्रतिस्पर्धीलार्इ पेनाल्टी सुटआउटमा पराजित गरेर क्वाटर फाइनलको यात्रा तय गरेका हुन्। रसियाले सन् २०१० को विश्व विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको थियो। 

स्पेनका कोके र असपासले प्रहार गरेको दुवैको पेनाल्टी रसियाका गोलकिपर इगोर अकिनफिभले बचाएका थिए। यस्तै क्रोएसियाका गोलकिपर ड्यानिएल सुबासिसले डेनमार्कसँगको खेलमा भएको पेनाल्टी सुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो।

हालसम्म ३ पटक मैदानमा भिडेका यी दुर्इ टोलीका दुर्इ खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक २०१५ मा मैत्रीपूर्ण खेलमा भने क्रोएसियाले रसियालार्इ ३-१ गोल अन्तरले पराजित गरेको थियो। 
 
क्रोएसिया र रसिया विश्वकपमा पहिलो पटक आमनेसामने हुदैछन्। रसिया आफ्नो घरेलु मैदानमा सशक्त देखिएको छ। स्पेनजस्तो बलियो टोलीलार्इ विश्वकपबाट बहिरन बाध्य पारेको रसिया हालसम्मकै उच्च सफलता प्राप्त गर्ने होडमा हुनेछ। १९६६ मा भएको विश्वकपमा चौथो भएको रसिया १९७० मा क्वाटर फाइनलसम्म पुगेको थियो (सोभियत युनियन हुँदा)।

त्यसपछि रसिया क्वाटरफाइनलसम्म पुग्न सकेको छैन। त्यसैले पनि रसियाली टोली यो अवसर गुमाउन चाहदैन र  कडा मिहिनेतका साथ फिस्ट स्टेडियममा क्रोएसियाको सामना गर्नेछ। इगोर अकिनफिभ, एलेक्सेन्डर ग्लोभिन, फोडोर स्मोलोभ लगायतका घरेलु टोलीसँग आज पुरै रसिया नयाँ इतिहास बनाउने आशामा रहनेछ।

क्रोएसिया सन् १९९८ मा  सेमिफाइनलमा पुगेको थियो। त्यसपछिका विश्वकपमा समूह चरणबाटै बाहिरिएको क्रोएसिया पनि आजको खेल जित्दै नयाँ इतिहास रच्ने दाउमा रहेको छ। समूह चरणमा बलियो मानिएको अर्जेन्टिनालार्इ ३- ० ले पराजित गरेको क्रोएसियालार्इ धेरैले यसपटकको उपाधि दाबेदारका रुपमा लिएका छन्। क्रोएसियन टोलीमा रहेका इभान राकाटिक, लुका मोडरिक, ड्यानिएल सुबासिस, मारियो मान्जुकिक जस्ता खेलाडीमाथि क्रोएसियाली समर्थकहरुले धेरै अपेक्षा राखेका छन्। क्रोएसियाभन्दा कमजोर मानिएको रसियालार्इ उसैको घरमा पराजित गर्न भने क्रोएसियाली टोलीले धेरै परिश्रम गर्नु पर्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell