PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विश्वकपबाट बाहिरिएसँगै ६ देशका १० खेलाडीले लिए सन्न्यास, सबैभन्दा धेरै जापानी



विश्वकपबाट बाहिरिएसँगै ६ देशका १० खेलाडीले लिए सन्न्यास, सबैभन्दा धेरै जापानी

रसियामा जारी विश्वकपका सेमिफाइनल खेलहरु भोलि शुरु हुँदैछ। फुटबलमा नाम कमाएका देशहरु र मेसी, रोनाल्डो, नेमार, सुवारेज जस्ता फुटबल स्टारहरु विश्वकपबाट बाहिरिसकेका छन्। आफ्नो टोली विश्वकपबाट बाहिरिएसँगै कतिपय खेलाडीहरुले सन्न्यास लिएका छन्। हालसम्म ६ देशका १० जना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन्। 

आन्द्रेज इनेष्टा, स्पेन 

२०१० विश्वकप फाइनलमा नेडरल्याण्ड विरुद्ध आन्द्रेज इनेष्टाले गरेको गोलले स्पेनले पहिलो पटक विश्वकप उपाधी विजयी हासिल गरेको थियो। रसियामा जारी विश्वकपमा आयोजक रसियासँग पराजित हुदै स्पेन बाहिरिएपछि  इनेष्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। 

 २००६ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका इनेष्टाले १३१ खेलमा १३ गोल गरेका थिए। सन् २००० देखि बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका इनेष्टा हाल जापानिज क्लब भिस्सेल कोबेसँग आबद्ध छन्। विश्वकै उत्कृष्ट मिडफिल्डरका रुपमा रहेका इनेष्टाले सन्न्यास घोषणा गर्दै भने 'सबै कुराको शुरुवात र अन्त्य हुन्छ। कहिलेकाही हामीले सोचेको जस्तो विदार्इ हामीले पाउँदैनौं।'

ज्याभिएर मास्चेरानो, अर्जेन्टिना

३४ वर्षीय ज्याभिएर मास्चेरानो अर्जेन्टिनी फुटबलका एक प्रभावशाली खेलाडी थिए। अर्जेन्टिनाबाट १४३ खेल खेलेका मास्चेरानोले विश्वकपमा फ्रान्ससँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन्। बार्सिलोनाबाट फुटबल खेल्दै आएका मास्चेरानो केही महिना अगाडि मात्रै चाइनिज सुपर लिगको हेबिइ चाइना फर्चुन क्लबसँग आबद्ध भएका छन्। सन्यास लिँदै उनले यो विदार्इ लिने समय भएको र आगामी दिनहरुमा अर्जेन्टिनाले सफलता हासिल गर्नेमा आशावादी रहेको बताएका थिए।

केसुके होन्डा, जापान

रसियामा जारी विश्वकप अन्तर्गत बेल्जियमसँग पराजित भएपछि जापानका केसुके होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए। सन्न्यास घोषणा गर्दै होन्डाले भने 'मैले जापानी टोलीबाट आफ्नो करियर सकाएँ। तर म खुसी छु किनभने हाम्रा पछाडि धेरै युवा खेलाडीहरु छन्। उनीहरुले जापानी फुटबलमा नयाँ इतिहास बनाउनेमा म आशावादी छु।' ३२ वर्षीय होन्डाले जापानबाट ९८ खेलमा ३७ गोल गरेका थिए।

माकोटा हासिब, जापान

रसिया विश्वकपमा जापानी टोलीको कप्तानी सम्हालेका माकोटा हासिबले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। ३४ वर्षीय माकोटा हासिब २००६ देखि आफूलार्इ साथ दिएका सबैलार्इ धन्यवाद दिँदै राष्ट्रिय टोलीबाट बिदा लिएका हुन्। आउने दिनहरुमा सबै मिलेर जापानी राष्ट्रिय टोलीलार्इ अझ बलियो बनाउनु पर्ने हासिबको भनार्इ थियो। जापानबाट ११४ खेलेका हासिबले जापानबाट फुटबल खेल्दा जहिल्यै गर्व महसुस गरेको भन्दै राष्ट्रिय टोलीबाट खेलेको क्षण कहिल्यै नबिर्सने बताएका थिए।

गोकोटु सकार्इ, जापान

जापानी टोलीबाट विदा हुने अर्को खेलाडी हुन् गोकोटु सकार्इ। २७ वर्षीय सकार्इ बुन्डेसलिगामा ह्यामबर्गर एसभिबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्। २०११ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सकार्इले सन्यास लिदै आफूले जहिल्यै टोलीलार्इ सहयोग गर्न कोसिस गरेको तर राम्रो प्रदर्शन गर्न नसकेको बताएका थिए। 

एलेक्जान्डर सामडोभ, रसिया

फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रसियन मिडफिल्डर एलेक्जान्डर सामडोभले रसियन राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरे। क्रोएसियासँग पराजितपछि आफूलाई मिश्रित अनुभव बताएका ३३ वर्षीय फुटबलर सामडोभले भने  ‘म केही निराश भएँ, तर हामीले समर्थकलाई गर्व गर्न लायक काम गर्यौँ। किनकी हामीले राम्रो फुटबल खेल्यौँ। यसरी अन्त्य हुनु दुःखद् हो’ 

सन् २०११ मा रसियन राष्ट्रिय टोलीमा डेब्यु गरेका सामडोभले ५३ खेल खेल्दै ७ गोल गरेका छन्।

सर्गेई इग्नाशेभिच, रसिया

रसियन फुटबल टोलीका एक प्रभावशाली डिफेन्डर सर्गेई इग्नाशेभिचले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए।  आफ्नो १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा ३८ वर्षीय इग्नाशेभिचले रसियका लगि हालसम्मकै धेरै १२७ खेल खेलेका छन्। क्रोएसियासँगको खेलपछि बोल्दै उनले यो आफ्नो अन्तिम खेल भएको र विश्वकप नभएको भए आफूले पहिलै सन्न्यास लिनसक्ने बताएका थिए। 

रसिया विश्वकप आफ्ना लागि प्रेरणा भएको भन्दै उनले भने 'म डिसेम्बरमा प्रशिक्षणको लाइसेन्स लिने सोच्दैछु। म प्रशिक्षक बन्न चाहन्छु, एउटा राम्रो प्रशिक्षक।'

राफेल मार्क्वेज, मेक्सिको

रसियामा मेक्सिकन फुटबल टोलीको कप्तानी गरेका राफेल मार्क्वेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए। मेक्सिको उत्कृष्ट फुटबल रहेका ३९ वर्षीय मार्क्वेजले मेक्सिकोबाट १४७ खेल खेल्दै १९ गोल गरेका थिए। रसियामा मार्क्वेजले कप्तानका रुपमा पाँच विश्वकप खेल्ने पहिलो खेलाडीको रेकर्ड राख्न सफल भए। मेक्सिको प्रि क्वाटरफाइनल खेलमा ब्राजिलसँग पराजित भएको थियो।

ओरिव परेल्टा, मेक्सिको

२०११ बाट मेक्सिकन फुटबल टोलीबाट खेल्दै आएका ओरिव परेल्टाले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए। मेक्सिकोबाट ६७ खेल खेल्दै २५ गोल गरेका स्ट्राइकर परेल्टा लिगा एमएक्स क्ल्ब अमेरिकाबाट फुटबल खेल्छन्। सन्न्यास लिंदै उनले विश्वकपमा मेक्सिकोबाट खेल्न पाउनु आफ्नो करियर कै उच्च सफलता भएको बताएका थिए। 

सरदार अजमोन, इरान

इरानी मेसीका नामले प्रख्यात सरदार अजमोनले इरान विश्वकपबाट बाहिरिए सँगै युवा उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। विश्वकपमा गरेको प्रदर्शनका आधारमा अजमोनको आलोचना भएपछि उनको आमा सिकिस्त बिरामी भएकी थिइन्। त्यसले आफूलार्इ सन्न्यास लिने अवस्थासम्म पुर्‍याएको अजमोनले बताए।  २३ वर्ष को उमेरमा अजमोनले इरानबाट ३३ खेल खेल्दै २३ गोल गरेका छन्। रसियन क्ल्ब रुबिन कजानबाट फुटबल खेल्ने सरदार अजमोनले सन्नास लिदै इरानका लागि नखेल्ने निर्णय आफैका लागि धेरै दुखद भएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell