PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्लेयर्स टु वाच, ह्यारी केन VS ड्यानिजेल सुबासिक 



प्लेयर्स टु वाच, ह्यारी केन VS ड्यानिजेल सुबासिक 

विश्वकप फाइनलमा प्रवेश गर्न आज राति ११:४५ बजे मस्कोको लुजिनिकी स्टेडियममा १९६६ विश्वकप विजेता इंग्ल्यान्डले क्रोएसियाको सामना गर्दैछ। यी दुर्इ टोलीमा विजयी हुनेले आइतवार हुने फाइनलमा फ्रान्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यस्तै पराजित हुने टोलीले शनिवार तेस्रो स्थानका लागि बेल्जियमसँग भिड्नेछ।
 
रसिया विश्वकपमा सर्वाधिक गोलकर्ता रहेका ह्यारी केन र क्रोएसियालार्इ सेमिफाइनलसम्म पुर्‍याउन निर्णायक भूमिका खेलेका गोलकिपर ड्यानिजेल सुबासिकमाथि आज धेरैको नजर रहनेछ।  

ह्यारी केन


क्वाटरफाइनलमा स्विडेनलार्इ पराजित गर्दै २८ वर्षपछि सेमिफाइनलमा पुगेको इंग्ल्यान्ड यसपटक उत्कृष्ट फर्ममा रहेको छ। ५२ वर्षपछि विश्वकप फाइनलमा पुग्ने लक्ष्यसाथ इंग्ल्यान्डको कप्तानी सम्हालिरहेका ह्यारी केनको रसिया विश्वकपमा एक प्रभावशाली खेलाडीका रुपमा उदाएका छन्। यो विश्वकपमा सर्वाधिक गोल गरेका ह्यारी केनले युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको नेतृत्व गरिरहेका छन्। 

गोल्डेन बुटका प्रमुख दाबेदार रहेका ह्यारीले रसियामा ६ गोल गरिसकेका छन्। प्रिक्वाटरफाइनल खेलमा कोलम्बियाविरुद्धको खेलमा उनले गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ट्युनिसिया विरुद्धको पहिलो खेलमा दुई गोल गरी टोलीलाई विजयी बनाएका ह्यारीले पानामा विरुद्धको हयाट्रिक गर्दै इंग्ल्यान्डलाई ६-१ ले विजयी बनाएका थिए। उनले इंग्ल्यान्डका लागि २७ खेलमा १९ गोल गरिसकेका छन्।

इंग्ल्यान्ड फुटबल टोलीका पूर्व मिडफिल्डर जेमी रेडकन्यापले त ह्यारी केनलाई मेसी र रोनाल्डो सँग तुलना गरेका थिए। १९६६ विश्वकप विजेता इंग्ल्यान्ड फेरि इतिहास रच्ने दाउमा रहेको छ। यसैले पनि टोटनह्याम हटस्परबाट व्यवसायिक फुटबल खेल्दै आएका केनमाथि आज इंग्ल्यान्डका समर्थकहरुले निकै आशा राखेका छन्। 

तर अर्जेन्टिना जस्तो सश्क्त टोलीलार्इ पराजित गरेको क्रोएसिया उच्च मनोबलका साथ मैदानमा इंग्ल्यान्डका विरुद्ध हुनेछ। इभान राकिटिक, लुका मोड्रिक जस्ता प्रभावशाली खेलाडी रहेको क्रोएसियालो टोलीको सामना  गर्न इंग्ल्यान्डको टोलीले केनलार्इ मैदानमा साथ दिनुपर्नेछ। 

ड्यानिजेल सुबासिक 


गोलकिपर ड्यानिजेल सुबासिकले पछिल्ला दुर्इ खेलमा गरेको प्रदर्शनले उनी क्रोएसियाली टोलीका हिरो भएका छन्। क्वाटरफाइनल खेलमा आयोजक रसियालार्इ पराजित गर्ने क्रममा उनले पेनाल्टी सुटआउटमा रसियाका फेडोर स्मोलोभको प्रहार रोकेका थिए। 

यस्तै उनले प्रिक्वाटरफाइनलमा डेनमार्कसँगको खेलमा भएको पेनाल्टी सुटआउटमा पनि ३ पेनाल्टी रोकेका थिए। सुबासिकले साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसनको पेनाल्टी रोकेका थिए। उनैले गर्दा एउटै विश्वकपमा दुई वटा पेनाल्टी सुटआउटमा विजयी हुने सन् १९९० मा अर्जेन्टिनापछि क्रोएसिया पहिलो टिम बन्यो।

फुटबलमा गोलकिपरले गोल विरलै गर्ने गर्छन्। तर सन् २०११-१२ को सिजनमा बोउलोग्नेसित २-१ को विजयमा उनैले फ्रिकिकबाट विजयी गोल गरेका थिए। क्लबस्तरमा पनि उनी सफल रहेका छन्। 

२०१२ पछि हजडुक सुपिल्टबाट एएस मोनाको पुगेका सुबासिकले त्यहाँ उत्कृष्ट करियर बनाउँदैछन्। उनले एएस मोनाकोलाई लिग वान २०१६/१७ को उपाधि जिताएर आफैंलाई एक लिडरका रूपमा स्थापित गरेका छन्। सोही वर्ष उनी लिग वानमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। आज ड्यानिजेल सुबासिकका सामु इंग्ल्यान्डका ह्यारी केनको युवा टोली चुनौतीका रुपमा रहेको छ। १९९८ विश्वकपमा पहिलोपटक सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया यसपाली फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell