सन्दर्भ २०६५/ ६६ सालतिरको। ठाउँ लमजुङको सिम्बाली गाउँ। विशेषगरी गुरुङ समुदायभित्र नागरिकता बारे विवाद सुनिरहन्थिन् साबित्री। पछि थाहा पाइन्- छोरी बाठी हुन्छे, काम र पढाइका लागि टाढा जान्छे भन्ने डरका कारण अभिभावकले समयमा नागरिकता नबनाइदिँदा रहेछन्।
छोरी घरभित्रै सुरक्षित र संस्कारी हुन्छे भन्ने विश्वास गढेको थियो। छोरीहरु पनि प्राय: आमाबुवाले चाहेजस्तै भइदिन्थे- बिहान बेलुका घरको काममा सहयोग। कहिले घाँस दाउरा त कहिले खेत पनि। अनि दिउँसो स्कूल।
सँगैका साथी स्कूल छुट्टी भएपछि मेला भ्याउन हतार हतार घर फर्कदा साबित्रा भण्डारी भने सुटुक्क चौरतिर लाग्थिन्। फुटबल खेल्न जम्मा भएका केटाहरुको हुलमा पस्थिन्। कहिले अरु खेलेको हेर्थिन् त कहिले आफैँ खेल्थिन्।
‘खेल्नका लागि चिनेको दाइहरु हुनुपर्थ्यो। उहाँहरुले 'तँ छोरी मान्छे हामीसँग नखेल्' भन्नुभएन। बरु मैले नजानेको सिकाउनु भयो’, साबित्रा स्कूले जीवनमा आफूले गरेको आँटको कथा सुनाउँछिन्। उनको त्यो आँट समाजले कोरेको नियम विपरीत थियो। भन्छिन्, ’नखेल् भन्नेको कुरा सुनेर पनि नसुनेजस्तो गरेँ। सधैं।‘
सुरुवाती दिनमा केटाहरुको समुहमा पस्न उनलाई पनि अप्ठ्यारो नलागेको होइन। तर, जब उनीहरुसँगै कुद्न सक्छु, उनीहरुजस्तै खेल्न सक्छु भन्ने भयो तब उनी लजाएर बसिनन्।
स्कूल पढ्दा कुनै पनि खेलकुद प्रतियोगितामा सहभागी हुन छुटाउँदिन थिइन् उनी। भलिबलमा अब्बल। स्कूलमा प्राय: छात्राले खेलकुदमा रुची नदेखाउनु वा घरबाट अनुमति नपाउनुले राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिताका लागि उनकै नाम जान्थ्यो। जिल्लाका अरु स्कूलका प्रतिस्पर्धीलाई जितेर प्रमाणपत्र र पदकहरु पनि थुप्रैपटक ल्याइन्। विभिन्न स्कूलका विद्यार्थी र दर्शकहरुको बीचबाट टिलिक्क टल्कने पहेलो र सेतो रङका पदक थाप्दाको खुशी सेयर गर्दै भनिन्, ‘भाग लिएको कुनै पनि खेलमा खाली हात फर्कनु परेन। मेडल जित्नुले मलाई खेलकुदप्रति झनै आकर्षित गरेको हो।‘
खेलेर पुरस्कार र मेडल ल्याउँदा मख्ख आमाबुवा छोरी सधैं खेल्न हिँड्दा भने खुशी हुन सकेनन्। उनी भागी भागी फुटबल खेल्न केटाको हुलमा मिस्सिन्थिन्। देख्नेहरु घरमा कुरा पुर्याउँथे। उनको आमाबुवालाई उक्साउँथे- छोरीलाई किन बिग्रिन छाडेको?
केटाको हुलमा खेल्नु मात्र कहाँ हो र साबित्राले त कपाल पनि केटाको जस्तै छोटो बनाएर काटिन्, खेल्न सजिलो होस् भनेर। सुरुसुरुमा गाली मात्र गर्ने आमाले त्यसपछि त हातै हालिन्। त्यसैले साँझमा खेलेर रातमा फर्कँदा लुकेर घर छिर्नु पर्थ्यो। हाँस्दै सुनाउँछिन्, ’कहिले काही आमाले नकुट्दा अचम्म लाग्थ्यो। म भाइ बहिनीसँग कुरा गर्थें- आज के भयो र?’
केही समय त उनलाई आमाले घरबाट टाढा निस्किन समेत दिइनन्। मोजा गुट्मुटाएर बनाएको बल स्मरणमा ताजा छ। बरु यसरी आँगनमा एक्लै खेलिन्। तर, खेल्न छोडिनन्।
गाउँलेको 'बिग्री, छोरी मान्छे भएर उत्ताउली भइ' भन्ने कुरा कटाइ, बावाको 'पढेर बस्' गाली र आमाको कुटाईलाई साबित्राको जिद्दी स्वभाव र खेलाडी नै बन्छु भन्ने हुटहुटीले जित्यो। सहनुले उनलाई खेलाडी बनायो। खेल समाचार उनको रुची बन्यो। हरेक बुलेटिनको अन्तिममा आउने खेलकुदका खबर हेरेर चर्चामा रहेका नेपाली महिला फुटबलरहरु जमुना गुरुङ र अनु लामा चिनिन्। उनीहरुको वाहवाही र जितमा रमाएको खुशीको फुटेज टिभीमा हेरेर दङ्ग परिन्। र आफूलाई पनि त्यतै कतै खोजिरहिन्।
‘पहिलोपटक साफ च्याम्पियनसीपको बारेमा थाहा पाउँदा अपडेट लिन टिभी अगाडि कुरेर बस्थेँ। जमुना गुरुङले गोल्डेन बुट पाएको समाचार हेर्दा खेलाडी बन्नु नै मेरो लक्ष्य रह्यो,’ भनिन्।
'साम्बा' बनिन् साबित्रा
२०७१ सालमा एसएलसी परीक्षा सकेर काठमाडौं आइन् उनी, फुटबललाई करियर बनाउन। जर्सी, बुट, बल परको कुरा उनले त पर्याप्त ट्रेनिङ पनि पाएकी थिइनन्। साथ र सहयोग गर्ने केही मान्छेको हौसलाका कारण उनी लड्न भने तयार थिइन्। त्यसैले एपिएफको सेलेक्सनमा सहभागी भइन्। छानिइन् पनि। ‘ट्रेनिङ पर्याप्त थिएन। त्यसैले फालिन्छु कि भन्ने डर थियो। तर, गाउँ, परिवार र समाजसँग लडेर गरेको मिहेनत काम लाग्यो। आमाको कुटाइले पनि मलाई निकै बलियो बनाएको रहेछ’, दङ्ग पर्दै सुनाइन्।
सशस्त्र प्रहरी बलमा जोडिएने बित्तिकै चितवनमा भएको राष्ट्रिय महिला लिग खेलिन्। सोही वर्ष अर्थात् सन् २०१४ को पाकिस्तानमा भएको साफ च्याम्पियनसीप उनको पहिलो अन्तर्राष्ट्रिय प्ल्याटफर्म थियो। डेब्यु गेममा भुटान विरुद्ध गोल गरेपछि उनलाई चर्चामा आउन समय लागेन। भन्छिन्, ’अवसर पाए के के गर्छु भन्ने थियो। सोचेको जस्तो सजिलो नहुँदो रै'छ। तर, मैले सधैं सक्दो एफोर्ट लगाएँ।’
उनले भनेको एफोर्टको नतिजा खेलहरुमा देखिन थाले। आएको छोटो समयमा उनले गोलको जादु देखाइन्। लामो समयदेखि कोचिङ र खेलमै लागेकाहरुको प्यारी बनिन्। भनिन्, 'मेरो नाम लामो लागेर होला दिदीहरुले सर्टकट नाम दिनु भयो।' त्यसपछि उनी सबैकी ‘साम्बा’ भइन्।
साम्बा औपचारिक रुपमा राष्ट्रिय टिमसँग जोडिएको दुई वर्षमै अर्थात् सन् २०१६ मा साउथ एसियाको उत्कृष्ट महिला स्ट्राइकर घोषित भइन्। उनले हालसम्म अन्तराष्ट्रिय फुटबलमा १७ गोल गरेकी छिन्।
स्क्रिनमा विदेशी फुटबलको रौनक, मैदानमा आफ्नो दुर्दशा
फुटबल खेल्नुले उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनायो। आफ्नै गाउँ लम्जुङमा त कतिपटक कार्यक्रमहरुको प्रमुख अतिथि पनि बनिन्। पहिले उनको खेल मोह देखेर रिसाउने बाबा आमा छोरीले नाम कमाएको देखेर खुशी भए। यो सबै कुरा सुनाइरहँदा केही चिन्तित बन्छिन् र बोल्छिन्, ’नाम मात्र कमाएर त केही नहुने रहेछ? भविष्य, करियरको बारेमा त हामीले पनि सोच्नु पर्छ नि।' राष्ट्रिय महिला फुटबलको अहिलेको आर्थिक, भौतिक लगायत अन्य अवस्था हेर्दा उनी निराश छिन्। भन्छिन्, 'फुटबलमै केही गरेर खान्छु भनेर ढुक्क हुने अवस्था नै छैन।' न्यून पारिश्रमिक, पुरुष फुटबलको तुलनामा कम महत्व दिइनु, सुविधा, सेवा र भौतिक पूर्वाधार निकै कम। अरु त अरु टुर्नामेन्ट नै नहुनुले धेरै महिला खेलाडीलाई विदेशिन बाध्य बनाएको यथार्थ उनी धकाई धकाई सुनाउँछिन्। गत वर्ष २०७४ मा एउटा पनि राष्ट्रिय महिला फुटबल टुर्नामेन्ट भएन। उनीहरुले ट्रेनिङ र क्लब भनेरै समय कटाउनु पर्यो। न पैसा न खेल। जसका कारण पहिलोपटक खेल्न छोड्ने विचार बनाइन्।
‘तर खेल्नुले नै धेरै कुरा सिकायो, बुझायो। चटक्क छोड्न गाह्रो हुने रहेछ। आफै आशावादी बनेँ। एसियाको रनर्स अप लिस्टमा रहेको टिमलाई हामीले नै च्याम्पियन बनाउने हो भन्ने भयो,’ उनमा आत्मविश्वास छ, सँगै भविष्यप्रतिको डर पनि।
माल्द्विप्स, दुबई लगायत देशमा नेपालका प्राय महिला फुटबल खेलाडी खेल्नकै लागि जाने गरेका छन्। साबित्रा डराउँछिन् आफ्नो पनि अन्तिम बाटो त्यही हुने हो कि भनेर। किनकि देशको खेलाडी हुनुसँगै आफू हुनु र आफ्नाको हुनुको जिम्मेवारीवोध छ उनमा। भन्छिन्, ’भोली मेरो भाइ बहिनीले राम्रो स्कूल, कलेज पढ्छु भन्दा मसँग पैसा नहोला। मैले के जवाफ दिनु? यस्ता विषयहरुले फिल्डमा भएको इजुरीले भन्दा बढी दुख्छ।'
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरु हेरेर निकै लोभिन्छिन् उनी। 'विदेशी क्लबका गेम स्क्रिनमा हेरेर रमाउनु न हो। आफू मैदानमा उत्रदा पो झस्कनु पर्छ,' धरातलको अवस्था सुनाइन्।
खेलकुदको दयनीयस्थिति सम्झदा चिन्ता लाग्ने सुनाउँछिन्। ‘देशको स्थिति पनि हेर्नु पर्यो नि जस्तो लाग्छ। त्यसैले चुप लाग्नुको विकल्प नै छैन।’ धेरै ठूला ठूला अपेक्षा होइनन्- कम्तिमा खेल सुधार्न आवश्यक पूर्वाधार र अभावविना बाँच्ने अवस्था सिर्जना भए हौसला मिल्ने उनको तर्क हो।
खेलाडीको स्टाइल र साम्बा लुक्स
ब्वाइज कट हेयर स्टाइल। ट्र्याक सुट र स्पोर्टस सुजमा भेटिने साम्बा फरक शैली र लुक्सका कारण पनि चिनिन्छिन्। अन्तर्राष्ट्रिय खेलाडीहरुको स्टाइलबाट आफू निकै प्रभावित भएको बताउँछिन् उनी। कपालमा फरक स्टाइल र रङ्ग खेलाउन रमाउने उनी प्राय रोनाल्डोको हेयर स्टाइल फलो गर्छिन्।
‘रोनाल्डोको कपाल अनि मैदानमा देखाउने एटिच्युडको प्रशंसक हुँ,’ भनिन्। स्टाइलले आत्मविश्वास र पर्सन्यालिटी झल्काउन आवश्यक भूमिका खेल्ने उनको विश्वास हो। त्यसैले स्क्रिनमा गेम मात्र होइन इन्टर्नेटमा खेलाडीको जीवनशैलीलाई नि खुब पच्छ्याउँछिन् साम्बा।
५ कक्षा पढ्दादेखि नै कपाल पाल्नु, कोर्नु, चिटिक्क बनाएर बाट्ने रहर हराएको हो उनको। 'लामो कपाल भएका छोरी मान्छे लक्षिनका हुन्छन्' भन्ने आमाको भनाइ बिर्सेर कपाल छोट्याएकी उनले त्यसपछि कहिले पनि कपाल लामो बनाइनन्। किनकि उनका लागि खेल्दा पसिना नआउनु, अप्ठ्यारो नहुनु, अरुले तान्न सजिलो नहुनुले महत्व राख्थ्यो। आमाका लागि छोरीले कपाल काट्नु लक्षिनको कुरा थिएन होला तर उनले छोटो कपालमै देशको लागि खेलिन्, गोल गरिन्, उत्कृष्ट स्ट्राइकर समेत घोषित भइन्।
विश्वकप २०१८ मा भएका ब्राजिलको हरेक खेलसँगै नेयमारको हेयर स्टाइलले उनको ध्यान खिच्यो। नेयमारले ५ खेलमा फरक फरक स्टाइल बनाएका थिए। साम्बा खेलमा टेक्निक र कपालमा स्टाइलको फरक प्रयोग गर्न खुब रुचाउँछिन्।
साम्बा ब्राजिल समर्थक थिइन्। विशेषगरी नेयमार, मार्सेलो र विलियन उनलाई मनपर्ने खेलाडी हुन्। ‘गोल नगर्नुले हराएको हो। ब्राजिलको खेल कमजोर चाहिँ थिएन,’ उनले भनिन्।
अब विश्वकप जस्ले जिते पनि उनी खेल हेरेर मज्जा लिने पक्षमा छिन्। आइतबार हुने फिनालेमा फ्रान्स र क्रोएसिया कपका लागि भिड्दैछन्। जसमा उनी क्रोएसियाको समर्थनमा खेल हेर्छिन्। भन्छिन्, 'खेल हुर्कँदै गर्दा मिल्ने सपोर्ट कति महत्वपूर्ण हुन्छ महसुस गर्न सक्छु। क्रोएसिया हुर्कँदै गर्दा अपत्यारिलो ढङ्गले माथि आएको टिम हो। त्यसैले क्रोएसियाले जिते इतिहास बन्छ।'
फ्रान्सले त पहिले नै कप उचालेको कारण पनि योपटक क्रोएसियाले जितोस् भन्ने पक्षमा उभिएकी छिन् साम्बा। साम्बा अर्थात् नेपाली महिला फुटबलकी हिरो।
*(उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ गोल गरेकोमा अन्यथा भएकाले सच्याइएको छ। सं.)