PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

शक्ति दी पावर : रन दिन कन्जुस, रन चोर्न माहिर



गोविन्दराज नेपाल

शक्ति दी पावर : रन दिन कन्जुस, रन चोर्न माहिर

काठमाडौं :  शक्ति गौचन नेपाली क्रिकेटले पाएको लेजेण्ड प्लेअर हुन् भन्दा फरक नपर्ला। शक्ति दी पावर, रन दिन कन्जुस, पातलो शरिर, सँधै हाँसिरहने अनी नेपालको लागि एक हजार पुरा गर्ने पहिलो खेलाडी, नेपाली टिमबाट ह्याट्रिक विकेट लिने पहिलो खेलाडी, यू-१९ र सिनियर टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी। शक्ति गौचनका विशेषताहरु हुन्।

शक्तिको बारेमा किन यती धेरै चर्चा गरिँदैछ त? शक्ति वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैभन्दा अनुभवी र पाका खेलाडी। डेब्यु गरेका हिसाबले पनि सबैभन्दा पुराना खेलाडी। अनी ठिक यसै बेला नेपालले दुई दशक लामो क्रिकेट इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट सिरिज खेल्दैछ। नेदरल्याण्ड्सँग हुने उक्त दुई खेलको ओडिआई सिरिज र त्यसअघि लर्ड्समा नेदरल्याण्डसँगै एमसीसीसँग हुने टी-२० ट्राई सिरिजका लागि नेपाली टोली बिहीवार लण्डन प्रस्थान गर्दैछ।

त्यसैको अघिल्लो दिन शक्ति गौचनले अब सन्यास लिने घोषणा गरे। उनले युरोप टुर नै नेपालको लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय टुर हुने बताए। 'इट्स राइट टाइट टु मुभ फरवार्ड।' सन्यास घोषणा कार्यक्रममा शक्तिले भने। 'अब मेरो स्थान लिने खेलाडी आइसके।'

अधिकांश खेलाडीले सन्यास लिने बेला भावुक भएर आँशु झारे उक्त कठिन निर्णय लिन्छन् तर शक्ति अरु भन्दा फरक रहे। उनले राष्ट्रिय क्रिकेट टिम र सञ्चारकर्मीको अगाडी हाँसी हाँसी सन्यास लिने घोषणा गरे।

नेपालले लर्ड्समा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक टी-२० र नेदरल्याण्ड्समा दुई ओडिआई खेल खेल्नेछ। उक्त खेलपछि शक्तिले घरेलु मैदानमै हुने एक अन्तर्राष्ट्रिय खेल खेलेर सन्यास लिने बताएका छन्। नेपाली टिमबाट विदेश टुर भने शक्ति यो नै अन्तिम हुनेछ।

अहिले खेलिरहेका राष्ट्रि टिममा आधा जसो खेलाडी शक्तिकै ब्याचका छन्। उनले आफू पहिलो ओडिआई खेले र बिदा हुन लागेको बताउँदै अन्य खेलाडी टेष्ट खेलोस् भन्ने कामना गरे।

जतिखेरै हाँसिरहने शक्तिको सबैभन्दा ठूलो विशेषता हो। खेल्दा होस् या मैदान बाहिर होस् शक्ति राष्ट्रिय टिमदेखि लिएर सबै खेलाडीका लागि प्रेरणाको स्रोत समेत हुन्।

गत मार्चमा जिम्बावेमा भएको वर्ल्ड कप क्वालिफायरमा शक्तिले ड्रेसिङ रुममा भब्य सेलेब्रेसन गरेको भिडियो समेत भाइरल भएको थियो।

शक्तिले सन्यास घोषणा गरेपछि नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले समेत शक्तिको खुलेर प्रशंसा गर्दै यस्तो खेलाडी अब जन्माउन समय लाग्ने बताए।

कप्तान पारसले शक्ति गौचनसँग आफूले यसरी खेल्छु भनेर कहिल्लयै कल्पना समेत नगरेको प्रतिक्रिया दिए।

पारस खड्काले आफू सानो हुँदा कहिले पनि शक्तिसँग क्रिकेट खेल्ने अवसर पाउने नसोचेको बताए। 'उहाँसँग खेल्ने मौका पाएँ। म स्कुलमा हुँदा उहाँ यु–१९ र सिनियर टिमका लागि खेल्नु हुन्थ्यो। कहिले पनि सोचेको थिइनँ की शक्ति गौचन जस्तोसँग क्रिकेट खेल्न पाउँछु, डेसिङ रुम शेयर गर्नु पाउँछु भनेर। मलाई विश्वास छ, राज्यले उहाँको योगदानको कदर गर्दै राम्रो पुरस्कारको घोषणा गर्नु हुनेछ। त्यो भन्दा पनि महत्वपूर्ण कुरा हामीले उहालाई मिस गर्नेछौ।'

“शक्ति गौचन नेपाली क्रिकेटमा सबैभन्दा बढी मेहनेत गर्ने खेलाडी। मलाई लाग्दैन, उहाँको उमेरसम्म मैले क्रिकेट खेल्न सक्छु होला। किनकी उहाँको खेलप्रति जुन लगाव छ। उहाँले भैरहवामा पनि एउटा क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइसक्नु भएको छ।'

प्रशिक्षक टमाटाले शक्तिलेनेपाली क्रिकेटको लागि धेरै त्याग गरेको बताए। 'सन् २००१ मा शक्तिले यु–१७ को कप्तानी गरेका थिए। त्यसबेला बंगलादेशमा आईसीसी र एसीसीको कार्यक्रम थियो। नेपाली क्रिकेटमा उनको यात्रा लामो छ।' टमाटाले भने। 'नपाली क्रिकेटलाई शक्तिले धेरै दिएको छ जुनियर खेलाडीलाई प्रोत्साहन गर्नेदेखि टिमलाईहरेक क्षेत्रमा शक्तिले सहयोग राख्ने गर्छन्। उनको बारेमा व्याख्या गर्नु भन्दा पनि आगामी दिनको शुभकामना भन्छु।'

 

एक हजार रन, डबल सेन्चुरी, ह्याट्रिक विकेट

यी तीनवटै सफलता हात पार्ने नेपालको लागि पहिलो र एक मात्र खेलाडी हुन् शक्ति गौचन। उनले यू-१९ र सिनियर राष्ट्रिय टिमका लागि शतक प्रहार गरेका छन्। नेपालको लागि एक हजार रन पुरा गर्ने पहिलो खेलाडी हुन्। यस्तै ब्याट्रिङबाट बलिङमा जमेका शक्ति नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो बलर समेत हुन्।

यी सब सफलता शक्तिको खेलप्रतिको लगाव, मेहनत  र निरन्तरको परिश्रमले गर्दा नै हो। नाम नै शक्ति भनेजस्तै क्रिकेट खेल्दा पनि उनमा अनौठो किसिमको शक्ति पैदा हुन्छ सायद। सबैले सम्झेको हुनुपर्छ। सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा बंगलेदशमा शक्तिले हंङकङ विरुद्ध विकेट लिएपछि मैदानको चारैतिर दौडिए खुशी मनाउन। त्यो देखेर कमेन्टेटरले उकलाई शक्ति द पावरको नाम दिए।

फुटबल खेलाडी जसरी नै शक्ति विकेट लिएपछि दौडिएर खुशी मनाउँछन्।

सन् २००२ मा १८ वर्षको उमेरमै शक्तिले एसीसी ट्रफीमार्फत नेपाली राष्ट्रिय टोलीका लागि  ओमान विरुद्ध डेब्यु गरे। त्यसअघि नै उनले २००१ मा यू-१९ बाट खेल्दै शतक प्रहार गरिसकेका थिए।

सुरुमा ब्याटिङ गर्न माहिर शक्तिले २००५ मा इटली विरुद्ध राष्ट्रिय टिमका लागि शतक प्रहार गरेका थिए। अहिले बलरका रुपमा चिनिएपनि सुरुमा शक्ति ब्याटिङबाट नेपाललाई जिताउँथे।

यस्तै सन् २०१२ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ अन्तर्गत शक्तिले मलेसियाविरुद्ध कीरत्मानी बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै ८ मेडन ओभर राखेर मात्र २ रन खर्चेर ३ विकेट लिएका थिए। उक्त बेष्ट इकोनोमीको कीर्तिमान अहिलेसम्म नेपालका कुनै पनि खेलाडीले तोड्न सकेका छैनन्।

शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट समेत लिएका छन्। शक्तिले सन् २०१२ मा आईसीसी टी–२० क्वालिफायरमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए।

शक्तिको करियरकै उत्कष्ट र सम्झनलायक क्षण भनेको २०१४ को टी-२० विश्वकप नै हो। उनले बंगलादेशमा भएको विश्वकपको पहिलो खेलमै हङकङ विरुद्ध ३ विकेट लिए। शक्तिकै म्यान अफ दि म्याच प्रदर्शनमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो।

शक्तिले दोस्रो खेलमा अफगानिस्तानका नारोज मंगल र कप्तान मोहाद नावीको विकेट लादै नेपाललाई ९ रनको जित दिलाउन मद्दत गरे।

झण्डै दुई दशक लामो क्रिकेट करियरलाई बिट मार्दै गर्दा शक्तिले आगामी दिनमा आफू क्रिकेटमै रहिरहने बताए। राष्ट्रिय टिमबाट सन्यास लिने बताएपनि उनले घरेलु क्रिकेट भने खेल्ने बताएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट करियर टुङ्गाउन लाग्दै गर्दा शक्तिले आफू दोस्रो इनिङ्स मार्फत नेपाली क्रिकेटमा लागिरहने बताए। 'म खेलाडीको रुपमा नभएपनि कुनै न कुनै रुपमा नेपाली क्रिकेटटिमसँगै हुनेछ्। के गर्दा नेपाली क्रिकेटलाई माथि उठाउन सकिन्छ त्यो नै रोजेर गर्नेछु। सबैभन्दा पहिले टिमलाई मिस गर्नेंछु।'

शक्तिले नेपालको लागि ९ टी-२० अन्तर्राष्ट्रिय, ४ फस्ट क्लास, २३ लिस्ट ए र ३० टी-२० खेल खेलेका छन्। करियरको सुरुवातमा ब्याट्म्यानको भूमिकामा रहेर नेपालका लागि रन जोडेका शक्तिले करियरको पछिल्लो समय बलरको भूमिका निर्वाह गरे। दुवैमा उनी सफल भए। नेपालबाट हजार रन बनाउनुका साथै उनले १०० विकेट समेत लिएका छन्। मेहबुब आलम, बसन्त रेग्मी र र विनोद दासपछि सय विकेट लिने शक्ति चौथो खेलाडी हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell