PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

बनारस र नेपालको सेतु: साम्राजेश्वरी पशुपतिनाथ



स्वेच्छा राउत

बनारस र नेपालको सेतु: साम्राजेश्वरी पशुपतिनाथ

बनारस र नेपाललाई जोड्ने धेरै आधारहरू छन्। सम्बन्ध सेतुमा संस्कृति, शिक्षा र धर्म सबैभन्दा अग्रस्थानमा छन्। नेपालको राजनीतिमा ‘काशी’ कहिल्यै टुटेन। टुक्रे राज्यदेखि एकीकरणपछिको नेपालसम्म। अझ प्रजातान्त्रिक आन्दोलनसम्म पनि। त्यसैलाई बयान गर्छ वाराणसी नामले चिनिने यो आध्यात्मिक शहरका नेपाली मन्दिरहरूले। नेपालको राजनीतिक इतिहासका कालखण्डका पान्नाहरु यहाँ छ्यापछ्याप्ती छन्।

नेपालका राजा र रानीका नाममा रहेका घाटले सिङ्गो नेपाललाई प्रतिनिधित्व गर्छ। यहाँ नेपाली बस्ने धर्मशालाहरू छ र परम्परादेखि अहिलेसम्म पनि पढ्न जाने नेपालीको लावालस्कर कायमै छ। अनि तीर्थाटन र घुम्न पुग्ने नेपालीलाई आफ्नै देशमा छु कि भन्ने महसुस गराउने पशुपतिनाथको मन्दिर पनि। राजा महाराजा, ऋषि आदिका नाममा स्थापित ८४ घाटहरूको आडमा वर्षौँदेखि इतिहास बोकेको ‘ललिता घाट’ पनि छ जसले विशेष महत्त्व राख्छ। किम्बदन्ती र विवादबीचको इतिहासको साक्षी हो यो घाट। घाटको ठीक माथि छ- साम्राजेश्वरी-पशुपतिनाथ मन्दिर।

वरिपरि काष्ठकला कुदिएका झ्याल र ढोका, पुराना राता इँटको प्रयोगले उठाइएको गारो, प्यागोडा शैलीको छानो। झट्ट हेर्दा, ठ्याक्कै नेपालमा रहेको पशुपतिनाथ।

मन्दिरको नाम र बाहिरी आवरणमात्र नभएर भित्र रहेको शिवलिंग पनि नेपाली शैलीकै। 

पशुपतिनाथको प्रतिरूप वाराणसी मन्दिरको भौतिक संरचना तुलनात्मक रूपमा नेपालकोभन्दा सानो छ। समानता पनि छ, त्यहाँको पशुपतिनाथको काखमा गङ्गा बग्छिन् यहाँ वाग्मती।


वाराणसीको पशुपति मन्दिरमा पुजारी र सेवक त्यहाँ संस्कृत पढ्न बसेका नेपाली विद्यार्थी रहँदै आएका छन्। १५ वर्षदेखि उक्त मन्दिरलाई सुरक्षा दिँदै आएका भैयालाल यादव भन्छन्, ’नेपालीहरूको बोली र व्यवहार राम्रो छ। त्यसैले वर्षौँ सँगै काम गर्दा पनि मनमुटाव भएको छैन।‘ 

उनका अनुसार ललिता घाट र पशुपतिको मन्दिरमा अन्य घाटमा भन्दा सर्वाधिक सङ्ख्यामा नेपालीहरू आउने गरेका छन्। भन्छन्, ’काम गर्नेहरु मात्र होइन, घुम्न आउनेले पनि राम्रो महसुस गराउँछन्।‘ 

उनको शब्दमा- पशुपतिनाथ र शिवजीले नेपाली र वाराणसीकालाई आफन्त बनाएका छन्। केही समय यता पुजारीको रूपमा काम गर्दै आएका राजकुमार पाण्डे छेउमा बसेका थिए। भैयालालले बोलेको कुरा सुनेर मुस्कुराउँछन् र भन्छन्, ’साँच्चै धर्मले मान्छेलाई जोडेको छ।‘ पाण्डे वाराणसीमा रहेर एस्ट्रोलोजीमा डिप्लोमा गर्दैछन्।

*** 
वर्षौँदेखि निरन्तर चलेको वाराणसी नेपाल निकट बनाउने यो सम्बन्धबारे अनेकन ऐतिहासिक किम्बदन्ती छन्। 

भनिन्छ - १८०० देखि १८०४ सम्म नेपालका राजा रणबहादुर शाह काशीमा बसेका थिए। उक्त धार्मिक थलो मै सन्यास पनि धारण गरे। त्यहाँ उनले तपस्या गरेको कुटीलाई श्रीमती ललिता त्रिपुरा सुन्दरीको नाम दिए- ललिता घाट।

ललिता घाटको माथिपट्टि पशुपतिनाथ मन्दिरको स्थापना पनि सुरु त गरे। तर, निर्माणाधीन अवस्थामै छोडेर नेपाल फर्कनु पर्योन उनलाई १८०६ मा। 

रणबहादुरको मृत्युपछि उनका छोरा गिर्वाणयुद्ध विक्रम शाह काशीमा बुवाको श्राद्ध गर्न गएका थिए। बुवाले पुण्य कमाउन स्थापना गरेको घाट र तपस्या गरेको भूमि अवलोकन गरे। आधा बनेको पशुपतिनाथको मन्दिर देखेर उनले त्यसै छोड्न सकेनन्। र, नेपालबाट कालिगढ एवं भौतिक सामाग्री लगेर निर्माण पूरा गरे। 


‘तर, इतिहास पनि फरक फरक व्याख्या गरिएको छ,’ पुजारी राजकुमार पाण्डे भन्छन्, ‘फरक कथा अनुसार यस मन्दिरको निर्माण गिर्वाणयुद्ध विक्रमका पनि छोरा राजा राजेन्द्र विक्रम शाहले पूरा गरेका हुन्।‘ 

पाण्डेको कुरालाई मन्दिरको नामले पुष्टि गर्छ। राजेन्द्र विक्रमले आफ्नो हजुरबुवा रणबहादुरले निर्माण थालेको मन्दिरलाई १८४३ मा पूरा गरे। मन्दिरलाई आफ्नी जेठी श्रीमती साम्राज्यलक्ष्मी देवीको नाम दिए। त्यसैले मन्दिरको नाम ‘साम्राजेश्वरी पशुपतिनाथ’ रहन गयो। 

मन्दिरका भैयालाल यादवले दिएको जानकारी अनुसार मन्दिरमा प्रयोग सम्पूर्ण काठ र काष्ठकला नेपालबाटै लगिएको थियो। काष्ठकलाकै कारण सो मन्दिर वाराणासीमा चर्चित छ। मन्दिरको पटकपटक जीर्णोद्धार समेत भएको छ।

ललिताघाट धर्मशाला सञ्चालक समितिका महासचिव डाक्टर गोपालप्रसाद अधिकारी पनि उक्त मन्दिर राजेन्द्र शाहले नै बनाएको दाबी गर्छन्। उनले पहिलोपोस्टसँग भनेका थिए, ’बुवा निर्गुणानन्दको साधना स्थलमा राजा राजेन्द्रले चौघडा धर्मशाला बनाए। यसलाई नेपाली धर्मशाला र पशुपतिनाथ धर्मशाला पनि भनिन्छ। राजेन्द्रले धर्मशाला वरिपरि साम्राज्येश्वरी पशुपतिनाथ महादेव, राजराजेश्वरी र ललितागौरी गरी तीन मन्दिरको स्थापना गरेका हुन्।‘ 

*** 
तीमध्ये राजराजेश्वरी मन्दिर सरकारी दस्तावेज नहुनुका कारण नेपाल सरकारले आफ्नो दाबी गर्न सकेको छैन। ललिताघाट र साम्राजेश्वरी-पशुपतिनाथ मन्दिर पनि स्थानीयले नै उपयोग गर्दै आएका थिए। नेपाल सरकार र वाराणसीका सांस्कृतिक राजाको पहलमा ती धार्मिक संरचनाहरूलाई नेपालको प्रमाणित गरिसकेपछि बस्ती उठाउने काम भयो, त्यो पनि क्षतिपूर्ति दिएर। 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सन् २००० मा नेपाल सरकारले ललिता घाटसहित साम्राज्यश्वरी पशुपतिनाथ र धर्मशालाका लागि ट्रस्टमार्फत खर्च गर्दै आएको छ। वाराणसीमा रहेको नेपाली मन्दिरहरू र धर्मशाला जीर्ण बन्दै गएकाले र त्यहाँको जग्गा स्थानीयले अतिक्रमण सुरु गर्नुका कारण साम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रस्ट) गठन भएको हो। 
‘नेपाल सरकारले पूजा आजाका लागि गुठी संस्थानमार्फत वर्षको भारतीय रुपैयाँ एक लाख पठाउने गरेको छ,‘ उनले भने।

उक्त रकमबाट साम्राज्यश्वरी पशुपतिनाथ पनि सञ्चालित छ। पुजारी एवं द्वारपालका लागि तलब एवं अन्य सेवा सुविधा र महाशिवरात्रि लगायतमा हुने ठूला पूजाको अवसरमा बढी खर्च हुने गर्छ। 

‘दैनिक आउने भक्तजनले पनि दान दक्षिणा त दिन्छन् तर त्यो मन्दिर सञ्चालनको लागि पर्याप्त छैन,’ पुजारी पाण्डेले बताए। उनका अनुसार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय साथै अन्य देशका नागरिक पनि दर्शनका लागि आउने गरेका छन्। वाराणसीमा रहेको विश्वनाथ मन्दिरको दर्शन गर्ने प्राय सबै पशुपतिनाथ दर्शनका लागि पनि आउँछन्। ‘२०१७ मा युरोपियन देशका धेरै आएको पाएँ। दैनिक ५०/ ६० जनासम्म। उनीहरू धेरैले रुचिका साथ यो मन्दिरको इतिहासबारे सोध्ने गरेका छन्,‘ उनले भने।

***
मन्दिरसँग जोडिएका फरक-फरक कथाहरू छ। तर, मन्दिर रहेको ललिता घाट भने रणबहादुरले श्रीमती ललिता त्रिपुरा सुन्दरीकै नाममा बनाएको दाबी छ। ललिता त्रिपुरा सुन्दरी साहित्य छपाउने नेपालको पहिलो महिलाको रूपमा चिनिन्छिन्। उनले ‘राजधर्म’ नामको पुस्तक छपाएकी थिइन्। जसमा राजा महाराजाले पालन गर्नु पर्ने नियमहरूको व्याख्या गरिएको थियो। 

रोचक त के रहेको छ भने उनको किताब वाराणासीबाटै छापिएको थियो। ‘मोडर्न दीपक प्रेस’बाट छापिएको भनिने उक्त पुस्तकलाई इतिहासविदहरुले नेपाली भाषा साहित्यको उल्लेखनीय कामको रूपमा व्याख्या समेत गरेका छन्। अहिले नयाँ मान्छे देखिने बित्तिकै ‘गाइड गर्छु’ भन्दै आउने हरेक लोकल/ पार्ट टाइम गाइडले इतिहासको यो पाटो उल्लेख गर्न बिर्सँदैनन्।

त्यो समयमा किताब एवं कविताहरू लेखेर साहित्यकार बनेकी हजुरआमा ललिताबाट राजेन्द्र प्रभावित थिए। जसको परिणाम राजेन्द्रले पनि तीन पुस्तक प्रकाशन गराए। त्यसपछि नै रानी ललिताको नाममा निर्मित घाटको शिरमा नाति राजेन्द्रले आफ्नी श्रीमतीको नाममा पशुपतिनाथको मन्दिर बनाइदिए।

द्वारपाल भैयालाल भन्छन्,- ‘ठूलाको आशीर्वाद सधैँ शिरमै हुन्छ नि।‘

हिन्दुहरूको महत्त्वपूर्ण धार्मिक थलो वाराणसीमा नेपालीहरू बर्सेनि हजारौँको सङ्ख्यामा जान्छन् बस रिजर्भ गरेर अथवा गाडी र रेलबाट पनि। बुद्ध एयरले पुन: काठमाडौँ – वाराणसी फ्लाइट सुरु गरेर हवाई मार्गको यात्रा पनि थपिदिएको छ। 

‘विमानमा एक घण्टामा आउने जाने भएपछि नेपाली तिर्थालुको सङ्ख्या केही बढेको छ। यसले बनारसको एउटा कुनामा रहेको नेपाली सम्पदाबारे धेरैलाई जानकार बनाउँदा कि?’, गाइड दीपक सहानीले भने। नेपाली तिर्थालुले जानी नजानी हिन्दी बोलेर आफूसँग जानकारीहरू लिँदा खुसी लाग्ने सुनाउँछन् उनी। ‘लोकल गाइड हुँ। अङ्ग्रेजी कामचलाउ छ। विदेशीहरूसँग गाह्रो हुन्छ। नेपाली त आफ्नै दाइ भाइ जस्तै सहज प्रस्तुत हुन्छन्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell