PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एसियन गेम्समा नेपाल : पदक ताक्ने कि सहभागितामा रमाउने?



गोविन्दराज नेपाल

एसियन गेम्समा नेपाल : पदक ताक्ने कि सहभागितामा रमाउने?

 

  • १८औँ एसियन गेम्स-२०१८
  • मिति : अगष्ट १८-सेप्टेम्वर २, २०१८
  • आयोजक देश र स्थल : इन्डोनेसिया, जाकार्ता र पालेम्बाङ
  • मुख्य खेल स्थल : गेलोरा बुङ कार्लो स्टेडियम
  • खेल संख्या : ४०
  • इभेन्ट संख्या : ४६२
  • मोट्टो : इनिर्जी अफ एसिया
  • सहभागि देश : ४५
  • नेपालले भाग लिने खेल संख्या : २९
  • नेपाली खेलाडी संख्या :१८५
  •  

इन्डोनेसियामा हुने १८औँ एसियन गेम्सको सामान्य जानकारी र नेपालले भाग लिने खेल र खेलाडी संख्या।

 

एसियन राष्ट्रहरुको सबैभन्दा ठूलो खेल मेला एसियन गेम्सको १८औँ संस्करण इन्डोनेसियाको दुई शहरमा आयोजना हुँदैछ। एसियाका ४५ वटै राष्ट्रका खेलाडीहरुले यस खेल महोत्सवमा भाग लिनेछन्। कुनै देशले धेरै खेलाडी पठाउँछन् त कुनै देशले थोरै खेलाडिलाई प्रतिस्पर्धामा उतार्नेछन्।

कतिपय देशले पदक जित्ने लक्ष्यका साथै तयारी गर्दै खेलमा चुनौती प्रस्तुत गर्नेछन् भने कतिपय देशका खेलाडी सके पदक जित्ने नसके सहभागितामै रमाउने पनि छन्।

नेपालले पहिलो सन् १९५१ मा छिमेकी देश भारतको दिल्लीमा भएको पहिलो एसियन गेम्स देखि नै सहभागिता जनाउँदै आएको छ। सन् १९५४ को दोस्रो र १९६२ को चौथो एसियाली खेलकुदमा भने नेपालले सहभागिता जनाएको थिएन।

नेपालले एसियन गेम्समा अहिलेसम्म जितेको सबैभन्दा ठूलो पटक रजत हो। एसियन गेम्सको ६७ वर्षीय इतिहासमा नेपालले अझै स्वर्ण चुम्ने अवसर पाएको छैन। यसका लागि नेपालले पर्याप्त तयारी गर्न नसकेको र सहभागिता लाई नै ठूलो मानेको देखिन्छ।

स्वर्ण जित्न नसकेको नेपालले अहिलेसम्म रजत र कास्य गरी कूल २३ पदक जितेको छ। जसमा १ रजत र २२ कास्य पदक छन्।

चार वर्षअघि इन्चोनमा भएको एसियन गेम्समा नेपालले २४ खेलमा २ सय भन्दा बढी खेलाडीलाई सहभागिता गराउँदा करातेकी विमला तामाङले मात्र कास्य दिलाएकी थिइन्।

नेपालले सहभागिता जनाएको साँढे ६ दशक भन्दा बढी समय बितिसक्दा पनि स्वर्ण जित्न सकेको छैन। सहभागिताकै लागि सहभागिता र केही अनुभव बटुल्ले अवसर मात्र हुँदै आएको छ।

पर्याप्त तयारीको अभाव, प्रतियोगिताअघि मात्र छोटो तयारी, खेलाडीलाई शारीरिक र मानसिक रुपमा कमजोर आन्तरिक विवाद जस्ता कारणले नेपाललाई सँधै पछि पार्दै आएको छ।

विगतमा बलियो रहँदै आएको मार्शल आर्टस जस्ता खेलहरुमा समेत नेपालको स्तर कमजोर हुँदै गइरहेको छ।

नेपालले पछिल्लो समय दुई दर्जन खेलहरुमा सहभागिता जनाउने गरेको छ तर अहिलेसम्म तेक्वान्दो, बक्सिङ र करातेले मात्र नेपाललाई पदक दिलाएको छ। ती खेलाडीहरुको संख्या १७ मात्र छ।

 

४ नयाँसहित २९ खेलमा सहभागिता

इन्डोनेसियामा यस पटक हुने एसियन गेम्समा नेपालले नयाँ चार खेलसहित भारोत्तोलन, बक्सिङ, आर्चरी, शुटिङ, एथ्लेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, कबड्डी, साइक्लिङ, सेपाकताक्रो, भलिबल, ट्रायथलन, कुस्ती, फेन्सिङ, फुटबल, गल्फ, जुडो, लनटेनिस, पौडी, तेक्वान्दो, उसु, कुराँस र बास्केटबल गरी २९ खेलमा प्रतिस्पर्धा गर्दैछ।

सुरुमा २८ खेलमा मात्र प्रतिपर्धा गर्ने भनिएपनि शुक्रवार एनओसीले स्क्वास पनि थपिएको जानकारी दिएको छ।

यी २९ खेलमध्ये नेपाललले धेरै जसो खेल सहभागिताकै लागि मात्र रोजेको हो। मार्सटल आर्टस लगायत अन्य केही खेलमा भने नेपालले पदक जित्ने सक्ने दावी सरोकारवाला निकायको छ।

नेपालबाट यसपटक कूल १८५ खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले यस पटक केही खेलबाट स्वर्ण पदकको आशा राखिएको बताएका छन्। तर उनको आशालाई पुरा गर्ने गरी नेपालको तयारी भएको हुन सकेको छैन।

केही खेलका खेलाडीलाई विदेशमा खेल सुरु हुनु एक महिना अगाडी मात्र पठाएर देखाउने काम गरेपनि त्यो अपर्याप्त छ।


वैदेशिक प्रशिक्षण

नेपालले एसियन गेम्समा खेल्ने आधा दर्जन बढी खेलका खेलाडीहरु तयारीका लागि हाल वैदेशिक प्रशिक्षणमा छन्। जुडोले हंगेरीमा तयारीका लागि जान लागेपनि जर्मन एम्बेसीले रोकेपछि जान पाएन। फुटबल टोली अगष्ट पहिलो साता थाइल्याण्ड जाँदैछ। यसबाहेक तेक्वान्दो टोली दक्षिण कोरियामा प्रशिक्षणरत छ।

एसियन गेम्समा नेपालबाट पुरुषतर्फ १२७ र महिलातर्फ ५७ गरी कूल १८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै ४५ जना प्रशिक्षक र २४ जना व्यवस्थापक सहभागी हुनेछन। त्यसमा अफिसियल संख्या अझै थपिनेछ।

खेलाडी र अफिसियल गरी यस पटक नेपालबाट करिब ३ सयको जम्बो टोली इन्डोनेसिया जादैछन्।

नेपाललाई एसियन गेम्समा सबैभन्दा ठूलो पदक दिलाउने खेलाडी तेक्वादोकै छन्। सन् १९९८ को बैंकका एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यसयता कसैले पनि रजत वा जित्न सकेका छैन। तेक्वान्दोले नै पनि २००६ यता पदक जित्न सकेको छैन।

२००२ र २००६ मा दीपक विष्टले एसियन गेम्समा कास्य पदक जितेयता नेपाल तेक्वान्दोमा पदकविहिन हुँदै आएको छ।

पछिल्लो दुई संस्करणमा बक्सिङ (२०१० ग्वाङ्झाउ दीपक महर्जन) र कराते (२०१४ विमला तामाङ)ले कास्य जित्दै नेपाललाई पनि पदक तालिकामा समावेश गराएका थिए।

 

तयारी, चुनौती र अवसर

एसियन गेम्स यस महादेशको सबैभन्दा ठूलो खेल मेला हो। विश्वमा हुने सबैभन्दा ठूलो खेल मेलालाई ओलम्पिक भनिन्छ। जहाँ विश्वभरका खेलाडी एकै स्थानमा भेला भएर प्रतिस्पर्धा गर्नेछन्।

एसियाकै पनि ठूला राष्ट्रहरु चीन जापान कोरिया लगायत अन्य राष्ट्रका लागि यो ओलम्पिकको तयारी समेत हुनेछ। दुई वर्षपछि ओलम्पिक जापानमै हुँदैछ। त्यसैद्ये पनि एसियन राष्ट्रका लागि यो एसियन गेम्सले अझै फाइदा पुर्‍याउँछ।

तर नेपालको तयारी भने अत्यन्तै नाजुक छ। खेलाडीलाई दैनिक तयारी खर्च भत्ता सुन्दा नै अचम्म लाग्छ। एसियन गेम्सका लागि नेपाली खेलाडी दैनिक १४ सयमा तयारी गरिरहेका छन्। यसले तयारी गर्नकै लागि गरेको जस्तो मात्र देखाउँछ।

यस्तो अवस्थामा तयारी गरिरहेको नेपाली खेलाडीका लागि एसियन गेम्स ठूलो चुनौतीका रुपमा रहेको छ। विदेशी खेलाडीहरुको शाररिक बनावट, प्रशिक्षण शैली र खेल्ने तरिका भन्दा नेपाली खेलाडी अझै धेरै पछाडी नै छन्। नेपालले अझै त्यो लेभलको तयारी गर्न सकेको छैन जसले पदक दिलाउन सक्छ।

यति हुँदा हुँदै पनि एसियन गेम्समा पदक जित्ने नेपालको लक्ष्य कायमै छ र केही खेलमा पदक जित्ने सम्भावना पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell