PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

ऐतिहासिक ओडिआई सिरिजको पर्खाइमा नेपाल



गोविन्दराज नेपाल

ऐतिहासिक ओडिआई सिरिजको पर्खाइमा नेपाल
फोटो : रमन शिवाकोटी

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरुको गरेको दुई दशकपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट सिरिज खेल्दैछ।

गत मार्चमा जिम्वावेमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा १० टिममध्ये आठौँ भएको नेपालले एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै इतिहासमै पहिलो पटक ओडिआई स्ट्याटस पाएको थियो। उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ।

र नेपालले आफ्नो पहिलो ओडिआई सिरिज युरोपियन टोली नेदरल्याण्ड्ससँग खेल्दैछ। नेदरल्याण्ड्स नेपालको लागि नौलो प्रतिद्वन्दी भने होइन। नेपालले उसकै मैदानमा गएर पनि खेलिसकेको छ भने विश्वका अन्य स्थानमा भएको प्रतियोगितमा पनि खेलेको छ।

पछिल्लो पटक नेपालले जिम्बावेमै सातौँ स्थानको प्लेअफका लागि डच टोलीसँग खेलेको थियो तर नेपाल उक्त खेलमा पराजित भएको थियो। संयोगवस नेपालले खेलेको पछिल्लो ५० ओभरको क्रिकेट नेदरल्याण्ड्सँगै थियो र झण्डै साँढे दुई महिनापछि नेपालले नेदरल्याण्ड्ससँगै ओडिआई खेल्दैछ। उक्त खेलको हारको बदला लिने नेपालको लागि उपयुक्त अवसर त छँदैछ र ऐतिहासिक ओडिआईमा पनि नेपाल जित हात पार्न चाहन्छ। लर्ड्स र नेदरल्याण्ड्स भ्रमण जानुअघि नेपालका कप्तान पारस खड्काले जितबाट ओडिआई यात्राको सुरुवात गर्न चाहेको बताएका थिए।

 

ओडिआई यात्रा

सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले यसअघि क्रिकेटको छोटो स्वरुप टी-२० को विश्वकप नै खेलिसकेको छ। यस्तै सन् २००८ बाट सुरु भएको वर्ल्ड क्रिकेट लिग संरचनामा डिभिजन ५ बाट यात्रा सुरु गरेको नेपालले पछिल्लो पटक २०१५-१७ को संस्करणमा डब्लुसिएल च्याम्पियनसिप खेलेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले पहिलो पटक ओडिआई नेशनको स्ट्याटस पाएको हो। गत मार्चमा जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले इतिहासमा पहिलो पटक ४ वर्षका लागि ओडिआई स्ट्याटस प्राप्त गरेको हो।

नेदरल्याण्ड्सँग यही अगष्ट १ र ३ मा गरी नेपालले दुई ओडिआई म्याच खेल्नेछ। जुन नेपालको पहिलो ओडिआई सिरिज हुनेछ नै खेलाडीहरुको लागि पनि यो ऐतिहासिक क्षण हुनेछ। अब नेपाली खेलाडीले प्राप्त गर्ने सबै खाले सफलता र उपलब्धीहरु ओडिआईमा समावेश हुनेछ। जहाँ विश्वकै उत्कृष्ट खेलाडीहरुको कीर्तिमान छन्। यस्तै नेपाली खेलाडीहरु पनि विस्तारै आइसीसीको वरीयतामा समावेश हुनेछन्।

यसैगरी नेपालले अगष्टको अन्तिममा अर्को पनि ओडिआई खेल खेल्दैछ। एसिया कप २०१८ अन्तर्गत क्वालिफायरमा नेपालले ओडिआई मान्यता प्राप्त युएईसँग अगष्ट ३० मा खेल्दैछ। एसिया कपको छनोटमा नेपाल र युएईसँगै अन्य चार टोलीले एसिया कपको एक स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। यदी नेपाल र युएई उक्त छनोटको फाइनलमा पुगेमा नेपालको खातामा अर्को ओडिआई खेल पनि थपिनेछ।

 

पहिलो ओडिआई खेल्ने १५ खेलाडी

पहिलो पटक ओडिआई स्ट्याटस पाएको दुई महिनापछि नेपालले ओडिआई सिरिज खेल्दैछ र यस सिरिज खेल्न पाउने भाग्यमानी १५ खेलाडीको सूचीमा नेपालको लागि टी-२० इन्टरनेशनलमा पहिलो अर्धशतक प्रहार गर्ने विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले समेत पुनरागमन गरेका छन्। सन् २०१५ मा वर्ल्ड क्रिकेट लिग चयाम्पियनसिप अन्तर्गत पपुवा न्युगिनी विरुद्ध खेलेपछि राष्ट्रिय टिममा नपरेका सुवासले झण्डै तीन वर्षपछि पुनरागमन गर्दा पहिलो ओडिआई सिरिज खेल्ने टिममा पर्न सफल भए।

पारस खड्काको कप्तानीमा घोषणा भएको १५ मध्ये १४ खेलाडी जिम्बावेमै क्वालिफायर खेलेका टिमका खेलाडी छन्। जिम्बावेमा खेलेका विकेटकिपर दीलिप नाथको स्थानमा भने सुवास आएका छन्। नेपालको सँधैको समस्याको रुपमा रहेको ओपनिङ सुवास आएपछि केही सुधार हुने अपेक्षा छ। सुवासको अनुपस्थितीमा नेपालको ओपनिङ ज्ञानेन्द्र, दीलिप, अनिल शाह लगायतले सम्हाल्दै आएका थिए। तर कुनै पनि जोडी टिकेर खेल्न सकेका छैनन्।

अब सुवास आएपछि नेपाली टिमको पर्मेसनमा समेत फेरबदल हुन सक्नेछ।

ओपनिङ गरिरहेका ज्ञानेन्द्र सुबास र अनिल मध्ये दुई जनाले ओपनिङ गर्नेछन्। यस्तै विकेटकिपङ पनि सुवासले सम्हाल्ने करिब पक्का छ। यसबाहेक शरद भेषावर र दीपेन्द्र सिंह ऐरीले प्युर ब्याट्सम्यानको रुपमा खेल्नेछन् भने कप्तान पारस खड्का, आरिफ शेख अलरउण्डरको रुपमा हुनेछन्। सातौँ नम्वरमा रोहित कुमार पौडेलले ब्याटिङ गर्नेछन्। फास्टबलरमा सोमपाल कामीले करण केसी वा ललित भण्डारी सँग खेल्नेछन्। स्पीनरमा बसन्त रेग्मी र सन्दीप लामिछानेले खेल्ने करिब तय छ।  

 

नेपाली टिम:

पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल

वैकल्पिक खेलाडी:

विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला, सुसन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell