नामैले प्रष्ट हुन्छ फिल्म 'रोमियो एण्ड मुना' प्रेम कथा हो। पश्चिमा संस्कृतिमा हुर्किएको केटो रोमियो र नेपालको गाउँमा हुर्किएकी मुनाको कथा। चर्चित प्रेमकथाहरु 'रोमियो एण्ड जुलिएट' र 'मुना मदनबाट'बाट नाम सापटी लिइएका पात्रहरुको प्रेमकथा भने फरक छ। भूगोल, प्रवृत्ति, आर्थिक, सामाजिक पृष्ठभूमि र सोच्ने तरिकाले फरक यिनीहरुको सुरुवातमा मत मिल्दैन। त्यसैले मन पनि मिल्दैन।
यिनीहरु दुईको प्रेम झगडा/ घृणाबाट सुरु हुन्छ। लेखक तथा निर्देशक नरेशकुमार केसीले झगडा, बद्ला, मित्रता हुँदै प्रेम सम्बन्धमा गएर गाँसिने दुई युवाको कथाको वाचन स्वतन्त्र अनि फरक ढङ्गमा गरेका छन्। फरक यसअर्थमा- रोमियो एण्ड मुना प्रस्तुति सरल छैन।
आमाको करमा परेर अमेरिकाबाट लागि सेल्फी खिच्नकै लागि केटी (सुरक्षा पन्त) भेट्न नेपाल आएको वेद (विनय श्रेष्ठ) धरान पुग्छ। जहाँ उसको भेट फाइन आर्ट्स पढ्नका लागि गाउँबाट आएकी मुना (सृष्टि श्रेष्ठ) सँग हुन्छ। उनीहरुको भेट एक दुईपटकमा टुङ्गिदैन। घमण्डी अनि धनाढ्य वेद र बाँच्नका लागि संघर्ष गरिरहेकी जिद्दी र मेहनती मुना पटकपटक ठोक्किन्छन्। र, उनीहरु एकअर्कासँग चुनौती दिने/ लिने अवस्थामा पुग्छन्। दुईबीचको नोंकझोंक नै फिल्मको सबैभन्दा सुन्दर पक्ष हो। बाजी पूरा गरुन्जेल हुने संघर्षले एउटा सुन्दर प्रेमकथा बुन्छ।
प्रमुख सेटिङ देशको मुख्य शहरमध्य एक- धरान। धरानको कामना क्याफे। जहाँ आफ्नै बलबुतामा काम गरिरहेकी स्वाभिमानी केटी पात्रले केटालाई संघर्षको पाठ सिकाउँछे। ऊ बद्लिन्छ। केटी पात्रको व्यवहारमा पनि परिवर्तन हुन्छ। उसको रिस र घमण्ड केही शान्त हुन्छ। निर्देशकले पारिवारिक समस्याका कारण, वा भनौं मायाको अभावका कारण होइन, यिनीहरुलाई एकअर्काको अभाव पूरा गर्न भेटाइ दिएजस्तो लाग्छ।
कथामा नौलोपन छ। संवाद पात्र र अवस्था मिल्दो। संगीत र गीत अर्को मेहनत झल्कने र आवश्यक पाटो हो फिल्म रोमियो एण्ड मुनाको। गीत देखाउनकै लागि मात्र राखिएको छैन। उसो त फिल्मको गत वर्ष चलेको तीज गीत ‘डानसमा म एक नम्बर’लाई समेत निर्देशकले फिल्ममा ठाउँ दिएका छैनन्। प्राविधिक पाटोमा निर्माता निर्देशकले कञ्जुस्याइँ नगरेको प्रष्ट देखिन्छ।
फिल्ममा भावनात्मक साथै वर्गीय, भौतिक, मनोवैज्ञानिक द्वन्द्वलाई ठाउँ दिन खोजिएको छ। द्वन्द्व सिर्जनाका कारण दर्शकमा कौतहुलता र प्रश्न उत्पन्न त गराएका छन् तर पटकथाको कमजोरीले गर्दा फिल्म औसत बनिदियो।
पात्रहरु धेरै देखाइयो। पढ्नकै लागि आएकी मुनाकी बहिनी, एमबिबिएस गरिरहेकी केटी पात्र, छोरीमाथि भएको एसिड अट्याकको पीडा लिएर कमाइ गरिरहेकी दिदी। टोले गुण्डाको झुण्ड लिएर हिड्ने आर्यन र पैसाको लागि जता पनि ठिक्क पर्न सक्ने सुष्मा कार्कीले पाएको चरित्र आदि। तर, यीमध्ये कोही पनि स्थापित छैनन्। न त फिल्मको सेटिङ अनुसार भाषा, लवज, शैली मिल्छ।
आर्यन (प्रज्वल सुजल गिरी)को पृष्ठभूमि के हो? आफ्नो कपालको स्टाइल कस्तो राख्ने डिसिजन लिन नसक्ने गरी प्रस्तुत भएको ऊ ‘बोस’ बन्न सक्ने क्यारेक्टर हो त?
एसिडले जलेर बसेकी छोरी छोडेर काम गर्न आउने आमालाई कसरी चुपचाप काम गरिरहने शक्ति मिल्छ? उसमा कुनै छट्पटी हुँदैन?
संवेदनाहिन प्रस्तुत भएकी जुली पात्रको बोली, लवाइ, शैलीमा कसरी एकाएक परिवर्तन आउँछ? कसरी भावुक हुन्छे?
सहायक पात्र उनीहरुको अवस्था स्थापित गर्नभन्दा पनि मुख्य दुई पात्रको प्रेम देखाउन मेहनत गरिएको छ। रोमियो र मुना नाम नै प्रेमको प्रतिक हो। तर त्यो प्रेम दर्शकले महसुस गरे कि गरेनन्? प्रश्न आवश्यक छ।
रोमियो र मुना एकअर्काप्रति कहाँ पुगेर सकारात्मक बने भन्ने कुराको भान नै हुँदैन। दर्शकले दुईबीच प्रेम भएको महसुस गर्नु अघि रोमियो पात्रले आफ्नो बसाइ लम्ब्याउँछ। उसले के महसुस गर्छ, के सोचेर बस्छ भन्ने विषयलाई त महत्व नै दिइएको छैन। प्रेमकथामा आधारित फिल्मले त दर्शकसम्म भावना प्रवाह गर्न आवश्यक छ। पात्रको संवेदनासँग जोड्न आवश्यक छ। यहाँ स्क्रिनका पात्रहरु त प्रेममा पर्छन् तर दर्शकले महसुस गर्ने ठाउँ निकै कम छन्।
फिल्ममा गरिएको विम्बात्मक प्रयोग सबल पक्ष हो। 'पल पल' गीतमा प्रख्यात आर्टिस्ट भ्यान गगका चित्रहरुलाई सजीव बनाउने प्रयास सराहनीय छ। कम्प्युटर जनेरेटेड इम्याजिनरी (सिजिआइ) मार्फत मुख्य पात्रको घटना र व्यक्ति केन्द्रित मनोविज्ञान चित्रण गरिएको छ। कुनै पात्रलाई राक्षस बराबर मान्नु र कल्पनामा आउने राक्षसले घरिघरी केही संकेत गर्नुले खतरै केही सस्पेन्स राखेजस्तो लाग्छ। तर दर्शक निराश हुन्छन्। वर्षौंपछि भेटेका बुवाछोरीको प्रतिक्रिया शून्य कसरी हुनसक्छ?
छोरी नआई खाना खाँदिन भनेर जिद्दी गर्ने बुवाले छोरीको उपस्थिति त्यति सहज कसरी लिन सक्छ?
अवचेतनमा फराकिलो ठाउँ दिइएको बुवा पात्रसँग मुनाको भावनात्मक सम्बन्ध वा द्वन्द्वलाई कमजोर ढङ्गमा प्रस्तुत गर्नुले सिजिआइमा गरिएको लगानीमाथि नै प्रश्न उठाउँछ।
अभिनयमा विनय लगायत अन्य औसत लाग्छन्। सुष्मा र प्रज्वल केही ठाउँमा निकै लाउड। सृष्टिले भने आफूलाई मुना नै बनाएकी छिन्। बोली, लवज, तरिका, चालढाल सबै। तुलनात्मक हिसावमा उनको व्यक्तिगत ग्रुमिङ निकै राम्रो लाग्छ। ग्ल्यामरविहीन भूमिकामा पनि उनले आफूलाई सशक्त देखाउन सफल छिन्।
वेद पात्रको आमासँगको सम्बन्ध, एसिड अट्याक पीडित आमाको छोरीको व्यथा, उनलाई वेदले सहयोग गर्नु, वेदकै सहयोगका कारण उनी ठिक हुनु, मुना पात्रको बहिनी र बुवाको भेटको प्रसङ्ग, रोमियो एण्ड जुलियट नाटक मञ्चन आदि डायलग मार्फत बुझाउनुले दर्शक कन्भिन्स हुनै सक्दैनन्। अत्यावश्यक केही ठाउँमा निर्देशकले अल्छी गरेका हुन्।
लेखन र निर्देशनमा एउटै मान्छेले काम गर्नुले पनि धेरै अनावश्यक दृश्य अटाएको र आवश्यक दृश्यलाई पनि डायलगमार्फत भनिएको हुनसक्छ। भ्यान गगले कान काटेर प्रेमिकाको मन जितेको प्रसंग फिल्ममा जोडिन्छ। फिल्ममा कान नकाटिकनै वेदले मुनाको मन जित्छ। शायद अनावश्यक दृश्य काटेर कसिलो पटकथा बनाएको भए फिल्मले पनि सबै दर्शकको मन जित्न सक्थ्यो होला।
फरक कन्सेप्ट र कथा, कमजोर पटकथाको औसत उपज हो रोमियो एण्ड मुना। आफ्नो तरिकाले कथा भन्ने स्वतन्त्र प्रयास गरेका छन् नरेशकुमार केसीले। प्रेमकथा रुचाउने दर्शकका लागि राम्रो फिल्म हो।