असार २९ गते फिल्म 'बोबी' सार्वजनिक भयो। फिल्मले तीन सातासम्म हल पाउँदा व्यापार राम्रो गरिरहेको अनुमान स्वभाविक हो। किनकि सँगैका अन्य फिल्महरु पानी पनि भन्न नपाई उत्रिएका थिए।
दोस्रो साताको अन्तिम दिन फिल्म वितरक गोविन्द शाहीसँग कलेक्सन जानकारी लिइयो। उनले फिल्मले काठमाडौं भित्रबाट मात्र ४० लाख हाराहारी कमाएको बताए। भनेका थिए, '४० लाख जति पुग्न लाग्यो। मोफसलको मलाई थाहा छैन, अरुले नै जिम्मा लिएका छन्।'
त्यसअघि फिल्म युनिटले मोफसल बाहिर, विशेषगरी चितवन र पोखरामा दर्शक फ्लो राम्रो भएको जानकारी दिएका थिए। त्यसैले काठमाडौं बाहिरको बक्स अफिस कलेक्सन जानकारीका लागि निर्माता एवं निर्देशक मिलन चाम्ससँग कुरा भयो। उनले 'झण्डै' ३ करोडको व्यापार भएको बताए। 'काठमाडौं भित्र बाहिर गरेर ३ करोड पुग्न लाग्यो।'
वितरकको भनाइ आधिकारिक मान्ने कि निर्माताको?
फिल्म क्षेत्रमा प्रवाह गरिने कारोबार सम्बन्धी यस्तै गलत जानकारीलाई आत्मसन्तुष्टिका लागि बोलिने झुटका रुपमा व्याख्या गर्छन् निर्माता सन्तोष सेन। भन्छन्, ‘आफ्नो फिल्म चले पनि नचले पनि हिट भएको साबित गर्न त्यसो गर्छन्। यसले कसैलाई पनि फाइदा छैन।'
सुरु-सुरुमा एक दुईजनाले गलत तथ्याङ्क प्रवाह गरे र बिस्तारै प्रवृत्तिको रुपमा विकास भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्।
भन्छन्, 'आफ्नो व्यवसायको हिसाब सार्वजनिक नगर्ने अधिकार सबै निर्मातालाई छ। तर गलत तथ्याङ्क दिइनु सूचनाको हकको हनन हो।' उनका अनुसार गलत तथ्याङ्क सम्प्रेषण प्रचारको अस्वस्थ माध्यम मात्र हो, 'प्रचारका लागि जे जे भयो भयो। अब बक्सअफिस प्रणालीले यो सबको अन्त्य गर्छ।'
***
व्यवसायिक पारदर्शिताको प्रश्न, लामो विवाद र छलफलपश्चात् नेपालमा बक्सअफिस प्रणाली लागू भयो। नयाँ आर्थिक वर्ष २०७५/७६ देखि काठमाडौं भित्रका २० हलहरुमा बक्स अफिस सिस्टम राखिएको हो।
दुई साता बित्यो। त्यसबीचमा ६ नेपाली फिल्म सार्वजनिक भए। भैरे, पण्डित बाजेको लौरी, चक्कर, सुकुलगुण्डा, रोमियो एण्ड मुना र चि मुसी ची। साउन ४ गते रिलिज भएकामध्य कुनै पनि फिल्म एक साता पनि हलमा टिकेनन्।
दोस्रो साता सार्वजनिक भएकामध्ये रोमियो एण्ड मुनाले केही हलमा शो पाइरहेको छ।
फिल्म प्रदर्शनमा आएको दोस्रो, तेस्रो दिनदेखि करोड प्लस कलेक्सन देखाउने ट्रेन्ड बनेको थियो। बक्स अफिस सञ्चालनमा आए यता भने कुनै पनि फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक भएको छैन।
के सञ्चालन भएको भनिएको बक्सअफिस प्रणाली कार्यान्वयन हुन नसकेको हो?
बक्सअफिस विश्लेषक मनिस पण्डित भन्छन्, ’विभिन्न चरणमा काम हुँदैछ। कार्यान्वयनमा समस्या भएको होइन। डाटा टेस्टिङ प्रक्रियामा छौं। त्यसैले केही समय लागेको मात्र हो।'
उनका अनुसार हलबाट प्राप्त हुने डाटा सही हो कि होइन 'भेरिफिकेसन' गर्न आवश्यक छ। 'वितरक, निर्माताको चित्त बुझायौं। अब सही तथ्याङ्क सबैसँग हुन्छ। त्यसबारे जानकारी दिने नदिने निर्माताको निर्णयमा भरपर्छ।'
हाल बिक्री भएको टिकट सङ्ख्या प्रत्यक्ष हेर्न मिल्दैन। तर, निर्माताहरुले शो सकिएपछि भएको सम्पूर्ण हलको कलेक्सन रिपोर्ट प्राप्त गर्छन्। 'इन्टरनेट, बिजुली लगायत भौतिक आवश्यकता पूरा भएपछि र केही प्राविधिक काम सकिएपछि लाइभ डाटा हेर्न सकिन्छ।'
बक्स अफिस प्रणालीले निर्माण पक्षलाई फिल्मको कमाइ बारे बढाइ चढाइ भन्न भने हतोत्साहित पार्ने उनको विश्वास छ। फिल्म प्रचारका लागि आफूले पनि सोही तरिका अपनाएको सम्झदै सुनाउँछन्,'तर अब कसैले पनि सायद त्यसो नगर्लान्। अब आधिकारिक डाटा हल, निर्माता, डिस्ट्रिब्युटर र बोर्ड सबैसँग हुन्छ।'
बक्स अफिस लागू भइसक्दा पनि किन निर्माताहरु सही तथ्याङ्क दिन हिच्किच्याउँछन् त?
'त्यो उहाँहरुको निजी व्यवसायको मामला हो। सार्वजनिक गर्न चाहनु हुन्न भने ठीक छ। दर्शक वा मिडिया झुक्याउने काम चाहिं गर्न भएन।'
निर्माता एवं कलाकार निर्मल शर्मा फिल्मको कमाइ र फिल्म निर्माताको सामाजिक छविलाई जोड्न आवश्यक ठान्छन्। उनले निर्माताहरुले आफूले गरेको कामलाई उत्कृष्ट साबित गर्न गलत तथ्याङ्क प्रवाह गर्ने बुझेका छन्। भन्छन्, 'सिनेमा क्षेत्रमा जोडिनुले मान्छेलाई छुट्टै शान र मान दिएको हुन्छ। फिल्म घोषणा गरेको दिनदेखि भयङ्कर गफ दिन थालिहाल्छन्। अनि प्रदर्शनपछि नतिजाजस्तो भएपनि खतरा भयो भन्न परिहाल्छ।'
यस्तो बानी परेकाहरुलाई बक्सअफिस प्रणालीले पनि केही गर्न नसक्ने उनको बुझाइ रहेको छ। ट्याक्सीमा मिटर सिस्टम लागू गर्दा पनि यात्रु मारमा पर्नुको उदाहरण दिंदै भन्छन्,'बक्सअफिसले पारदर्शिता कायम गर्न सहयोग पुग्छ तर यो जरैदेखिको परिवर्तनको आधार होइन।'
***
फिल्म क्षेत्रको वास्तविक कमाइको एकमुस्ट विवरण दिने विद्युतीय प्रणाली हो बक्स अफिस। यो प्रणालीमार्फत् कुनै पनि फिल्मको कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क लिन सकिन्छ।
यसका लागि वितरक र निर्मातालाई अनलाइन युजर आइडी र पासवर्ड दिइएको हुन्छ। युजर कोडका आधारमा आफ्नो फिल्मको टिकट बिक्रीको लाइभ वा रेकर्डेड विवरण लिन सकिन्छ।
अब प्रत्येक हलमा आएका दर्शक, बिक्री भएको टिकट र संकलित रकम बारे जानकारी बक्स अफिस सेन्टरमा जम्मा हुन्छ। साथै काठमाडौंमा रहेका सम्पूर्ण हलको टिकट बिक्री कर पनि प्रणालीमा जोडिएको छ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीले दिएको जानकारी अनुसार फिल्म उद्योगले सरकारलाई १३ प्रतिशत भ्याट तिर्नु पर्छ। यसले फिल्म क्षेत्रलाई व्ययवस्थित तथा मर्यादित बनाउन सहयोग पुर्याणउने उनको आशा छ।
पहिलो चरणमा काठमाडौं उपत्यकामा मात्र जडान गरिएको यो प्रणाली वर्ष २०७५ को अन्त्यमा मोफसलका हलहरुमा पनि लागू गर्ने बताइयो। विश्लेषक मनिष पण्डितका अनुसार परिक्षण गर्दै अघि बढ्नु परेका कारण देशभर एकसाथ कार्यान्वयनमा नल्याइएको हो। भने, 'देशभरका सम्पूर्ण हलमा एकसाथ ल्याउँदा समस्या देखिएला भन्ने भएको हो। अझै पनि सबै सिंगल थिएटरले जडान गर्लान् भन्ने छैन। कतिपय हल त आर्थिक साथसाथै भौतिक कारण बन्द हुनपनि सक्छन्।'