PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित



गोविन्दराज नेपाल

नेदरल्याण्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित
फोटो : रमन शिवाकोटी

काठमाडौं : नेपालले वान डे इन्टरनेशनल क्रिकेट (ओडिआई) मा पहिलो जित हात पारेको छ।

ओडिआई सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई १ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो। २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ५० ओभरमा २१५  रनमा अलआउट गर्दै नेपालले जित हात पारेको हो। नेदरल्याण्ड्सलाई अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा नेपालका कप्तान पारस खड्काले फ्रेड क्लासेनलाई रनआउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए। अन्तिम ओभरमा जितका लागि नेदरल्याण्ड्सलाई ६ रन चाहिएकोमा पारसले किफायती बलिङ गर्दै ४ रन मात्र दिए।

जितपछि नेपालले दुई खेलको सिरिज १-१ को बराबरी गर्दै ओडिआई यात्रामा समेत सुखद सुरुवात गरेको छ।

डच टोलीलाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए। ललित भण्डारीले २ विकेट लिए। सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दीपेन्द्र ऐरीले १-१ विकेट लिए।  

नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ७१ रन बनाएपनि जितका लागि पर्याप्त भए। डानिएल तर ब्राकले ३९ रन बनाए।
फोटो : इएसपिएनक्रिकइन्फो

कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान पारस खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए।

पारस र सोमपालको ओडिआईमा यो पहिलो अर्धशतक हो भने नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा तथा सोमपाल तेस्रा खेलाडी बने।

यसअघि नेपालको पहिलो ओडिआईमा उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाएका थिए।

नेपालका लागि सुवास खकुरेल र दीपेन्द्र सिंह ऐरीले १९-१९ रन बनाए भने आरिफ शेखले १६ तथा ज्ञानेन्द्र मल्ले १३ रन जोडे।

८८ रन हुँदा ५ विकेट गुमाएको नेपालका लागि कप्तान पारस र बरिफले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए। यस्तै सोमपाल कामीले सन्दीप लामिछानेसँग नवौं विकेटका लागि ४१ रनको साझेदारी गरे।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेनले ३ तथा पिटर सिलर र माइकल रिप्पोनले २-२ विकेट लिए।

नेपालका सोमपाल कामी खेलको म्यान अफ दि म्याच घोषित भए। सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीले यसै खेलमार्फत ओडिआईमा डेब्यु गरेका छन्। नेदरल्याण्ड्स टुरमा रहेका १५ मध्ये १४ खेलाडीले डेब्यु गर्दा ललित नारायण राजवंशीले भने त्यो अवसर पाएनन्।

ललित भण्डारीको बलमा बेनकुपर लाई आउट गर्न सनसनीपूर्ण क्याच लिएका रोहित ओडिआईमा डेब्यु गर्ने विश्वकै चौथो कान्छो खेलाडी समेत बनेका छन्। 

नेपालको तेस्रो ओडिआई खेल यही अगष्ट अन्तिम साता हुादैछ। एसिया कप क्वालिफायरअन्तर्गत नेपाल र युएईबीच हुने खेलले ओडिआई मान्यता पाउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell