PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भारतिय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाडौंका सडक पुर्न थालियो !



भारतिय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाडौंका सडक पुर्न थालियो !

काठमाडौः सडक विभागले उपत्यकाभित्रको सडकको खाल्डा खुल्डी पुरेर कालोपत्रे र रङरोगन गर्ने भएको छ। काठमाडौमा आगामी भदौ दोस्रो साता (१४ र १५ गते) हुन लागेको विम्स्टेक सम्मेलनका लागि सडक चिल्लो पार्न लागिएको हो। सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका अधिकारीहरु नेपाल आउँदैछन्।

 

विम्सटेक सम्मलेन लक्षित गर्दै भदौ १० गतेसम्म उपत्यकाका सबै सडकको खाल्डाखुल्डी पुरेर मर्मत गरिसक्ने योजनाका साथ काम अघिबढाएको सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कालोपत्रे भैसकेर मेलम्ची खानेपानीले भत्काएका, खाल्डा परेका, उप्किएका सडकका खाल्डाहरु पुरेर कालोपत्रे गरिनेछ भने उपत्यका सडक विस्तार आयोजना अन्तर्गत विस्तार भैरहेका सडककलार्इ ग्राभेलस्तरको बनाइने छ। अहिले विस्तार आयोजना अन्तर्गतका सडकको अवस्था अत्यन्त विग्रदो छ। विभागका अनुसार ती सबैजसो सडकलार्इ हिड्न योग्य बनाइने छ।

सडक विभागका अनुसार अहिले उपत्यकाभित्र करिव १५ सय किलोमिटर सडक रहेको छ। जसमध्ये सडक विभाग अन्तर्गत साढे तीन सय किलोमिटर सडक पर्दछ। उक्त सडकमा रहेका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्न लागिएको हो। विभिन्न स्थानहरुमा रङरोगन समेत गर्ने योजना बनाएको  विभागले जनाएको छ।

विभागका महानिर्देशक श्रेष्ठका अनुसार विमस्टेक सम्मलेनका लागि लक्षित गरेर तिलगंगादेखि  एयरपोर्ट हुँदै तिनकुने सडक फुलबारी बनाइ सजावट गरिने भएको छ। यसका लागि  नेपाल टेलिकम र काठमाडौ महनगरपालिकाका वीचमा समन्वय भर्इ फुलवारीको प्रारम्भिक रुपरेखा तत्काल बनाउन सुरु गरिने योजना रहेको छ। करिव २ किलोमिटर यो सडकलार्इ पेन्टिङ समेत गरेर आकर्षक बनाइने विभागले जनाएको छ।


सडक विभागले मर्मत सम्भारबाट यस्तो रकम खर्च गर्ने गरेको जनाएको छ। बार्षिक रुपमा नेपालीहरुको महानपर्व दशैअघि उपत्यका लगायत देशका धेरै सडकहरु मर्मत गरिन्छ। विभागका अनुसार यो बर्ष विम्स्टेक सम्मलेनका लागि अहिले नै मर्मत र रङरोगन गर्न लागिएको हो।

सभा, सम्मेलन र पाहुना आउँदा रातारात बन्छन सडक?

उपत्यकाका सडकहरु घाम लाग्दा घुलाम्मे त पानी पर्दा असारेखेत जस्तै हिलाम्मे हुने गरेका छन्। सडकहरु अस्तव्यस्त हिँड्नै गाह्रो हुने गरि विग्रदा पनि  केहि नगरि बस्ने सडक विभाग  मन्त्रालय वा प्रधानमन्त्री कार्यालयबाट निर्देशन आए रातारात काम गर्छ।

 

राजधानीवासीलार्इ राम्रो सडक देख्न र हिड्नका लागि कि काठमाडौमा कुनै अन्तराष्ट्रिय सम्मेलन हुनुपर्छ कि त छिमेकी देशबाट कोही प्रधानमन्त्रीस्तरका व्यक्तिहरु पाहुना बनेर घुम्न आउनै पर्छ। अरु बेला सडक हिड्न पनि गाह्रो हुने खालको हुन्छ।

 

गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुर्इ दिने धार्मिक भ्रमणका लागि भन्दै  काठमाडौं आएका थिए। उनी आउने भएपछि सडक विभागले उनी हिड्ने रुटको  मर्मत सम्भार रङरोगन बनाएर चिल्लो बनायो। अझ उनी ह्यातमा बस्ने भएपछि उनी आउने अघिल्लो एक रातमै तीन बर्षमा हुन नसकेको काम भयो।

 

चावहिलदेखि ह्यात होटलको गेटसम्म कालोपत्रे भयो। मोदी ह्यातमा बस्ने भएपछि  चुच्चेपाटीदेखि ह्यात गेटसम्मको करिव ४ सय मिटर सडक एकै रातमा कालोपत्रे गरेर पेन्टिङ गरिएको थियो। ५० लाख रुपैया खर्चेर मध्यरातमा सडक टल्काइएको थियो।

 

२०१४ मा नेपालमा सार्क सम्मेलन हुँदा यसैगरी उपत्यकाको सडक पखालेर पेन्टिङ गर्दै चिल्लो बनाइएको थियो। अझ नयाँ बानेश्वर माइतीघरमा सोलार लाइट र ग्रिनरी राखेर आकर्षक बनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell