
काठमाडौँ : बलाधिकृत रथी पूर्णचन्द्र थापाले प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।
प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी थापालाई हस्तान्तरण गरेका हुन्।
क्षत्रीले भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्। सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथी क्षत्री भोलिदेखि बिदामा बस्ने हुँदा बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका हुन्। थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो।