_(2).jpg)
काठमाडौँ : बेलाबखत कतिपय अपराधमा फाँसीको माग गर्दै राजधानीका सडकमा नाराबाजी हुन्छन्। बलात्कार लगायतका अपराधमा फाँसीको माग गर्दै प्रधानमन्त्रीको निवास घेराउ सम्मका घटना भएका छन्। तर नेपालको संविधानले फाँसीको सजायको कल्पना गरेको छैन।
तर मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध संहिता ऐन २०७४ मा भने ६ वटा अपराधमा नमरुञ्जेल जेल बस्नुपर्ने प्रावधान छ।
भदौ १ देखि लागू हुने ऐनमा यस्तो अपराध गरे जीवित रहेसम्म कैद सजायको व्यवस्था गरिएको छ।
यी हुन् ६ अपराध
ऐनमा जन्मकैद हुने प्रस्तावमा भनिएको छ – यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसूर गर्ने कसूरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसूरदार जीवित रहेसम्म कैद गर्नुपर्छ-- क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको,
- वायुयान अपहरण गरी विष्फोट गरी ज्यान मारेको
- अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको
- सार्वजनिक रुपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको
- कुनै जात,जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनसोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा
- जवर्जस्ती करणी गरी ज्यान मारेको
अहिलेको मुलुकी ऐनको प्रावधान अनुसार कुनैपनि अपराधमा बढीमा २० बर्षसम्म कैदको मात्र व्यवस्था छ।
ऐनमा जन्मकैदलाई समेत २० बाट २५ वर्ष बनाइएको छ। अहिलेको नेपालको कानुन प्रावधान अनुसार धेरै कसूर गरेको खण्डमा समेत सबैभन्दा धेरै सजाय भएको कसूर अनुसार जेल सजाय भोग्नुपर्ने प्रावधान छ।