PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

धर्म परिवर्तनमा वामपन्थीको भूमिका रहेको कमल थापाको आरोप, 'हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं'



धर्म परिवर्तनमा वामपन्थीको भूमिका रहेको कमल थापाको आरोप, 'हिन्दुराष्ट्र पुनर्स्थापना गराएरै छाड्छौं'

पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डरलाग्दो डढेलोले मुलुकको धार्मिक, सांस्कृतिक सद्भावमा गम्भीर खलल पुर्‍याएकोले यसलाई रोक्नको लागि र हिन्दु राष्ट्रको पहिचान जोगाउनको निमित्त सबै एक ठाउँमा आउन जरुरी भएको बताएका छन्।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा गण्डकी प्रदेश स्तरीय हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियानको पोखरामा उद्घाटन गर्दै थापाले विदेशीको दवाव र प्रभाव तथा नेपालका केही राजनीतिक पार्टीहरुको स्वार्थसिद्ध गर्ने चाहनाले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएको उल्लेख गरे। उनले राजनीतिक तवरबाट भएको विकृतीलाई सच्याउन राजनीतिक पद्धति नै अपनाउनु पर्ने भएकोले राप्रपाले हिन्दुराष्ट्र पुनस्र्थापनालाई मुख्य एजेण्डा बनाएको स्पष्ट पारे।

वैदिक मूल्य र मान्यता ठिक ढंगबाट आत्मसात गर्दै अगाडि बढेर समाज तथा राज्य सञ्चालन गर्न सक्यौं भने अवश्य सफल भइन्छ भन्ने मान्यता राखेर राप्रपा अघि बढेको बताउँदै अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्र्थापना गर्न राप्रपाले सुरु गरेको अभियानलाई साथ दिन सम्पुर्ण धार्मिक व्यक्तित्व, गुरु, स्वामी एवं समस्त हिन्दु धर्मावलम्बीहरुमा आग्रह गरे।

पश्चिमा मुलुकहरुले नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराई आफ्नो अस्तित्व विस्तार गर्न चाहेका र त्यसलाई सहयोग पुर्‍याउन धर्मलाई ‘अफिम’ भन्दै अफवाह फैलाउन उग्र वामपन्थी शक्ति तल्लिन रहेपनि उनीहरुको अभिष्ट कदापी पुरा हुन नदिने अध्यक्ष थापाले ठोकुवा गरे।

हिन्दु राष्ट्र पुनस्र्थापना जनजागरण अभियानलाई केन्द्र, प्रदेश, नगरपालिका, गाउँपालिका हुँदै वडा तहसम्म पुर्‍याउने पार्टीको लक्ष्य रहेकोले यस सत्कर्ममा सबैको सहयोगको उनले अपेक्षा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell