PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एसियन गेम्समा नेपाल : १५ संस्करणमा सहभागिता, उपलब्धी १ रजत र २२ कास्य, कहिले जित्ला स्वर्ण?



गोविन्दराज नेपाल

एसियन गेम्समा नेपाल : १५ संस्करणमा सहभागिता, उपलब्धी १ रजत र २२ कास्य, कहिले जित्ला स्वर्ण?
फोटो : https://www.latestly.com

काठमाडौँ : एसियामा हुने खेलकुदको सबैभन्दा ठूलो मेला एसियन गेम्सको १८औँ संस्करण शनिवारबाट इन्डोनेसियामा सुरु हुँदैछ। एसियाका ४५ राष्ट्रले भाग लिने उक्त खेल मेलामा ४० खेल समावेश छन्।

नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणको एसियन गेम्सदखि नै खेल्न थालेपनि अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। पहिलो पदक जित्न १०औँ संस्करणसम्म कुर्नुपरेको नेपालले अहिलेसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियन गेम्समा नेपालले एकैपटक ८ कास्य जितेको थियो। तर त्यसयता भने नेपालको प्रदर्शनमा सुधार हुन सकेन। सन् १९९८ मा बैंककमा भएको १३औँ एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत दिलाएकी थिइन्।

नेपालले धेरै खेलमा भाग लिएपनि अहिलेसम्म तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक जितेको छ।

पछिल्लो पटक २०१४ मा इन्चोनमा भएको एसियन गेम्समा करातेकी विमला तामाङले एक मात्र कास्य नेपाललाई दिलाएकी थिइन्।

एसियन गेम्समा सबैभन्दा सफल खेल बनेको तेक्वान्दोबाट नेपालले १ रजतसहित १५ पदक जितेको छ। यस्तै तेक्वान्दोकी दिपक विष्टले २ फरक एसियन गेम्समा कास्य जितेका छन्।

१५ संस्करण खेलिसक्दा नेपालले स्वर्ण जित्न नसक्नुको कारण कमजोर तयारी नै हो। यस्तै वैदेशिक प्रशिक्षण पनि प्रतियोगिताको केही समय अघि मात्र हुन्। वेज्ञानिक स्तरमा प्रशिक्षण छैन।

 

स्वर्णको आश पूरा होला?

एसियन गेम्सका लागि इन्डोनेसिया प्रस्थान गर्नुअघिको अन्तिम पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले यस पटक नेपालले विगतमा भन्दा धेरै पदक ल्याउने बताएका छन्।

विष्टले नै केही समयअघि नेपालले यो पटक स्वर्ण जित्ने आशा राखेको समेत बताएका थिए।

१८औँ संस्करणमा सहभागी हुन १८५ खेलाडीसहित झण्डै ३०० सयको जम्बो टोली इन्डोनेसियाको राजधानी जाकार्ता पुगिसकेको छ।

नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जाकार्ता र ६ खेल पालेमबाङमा हुनेछ।

एसियज गेम्समा बढी सहभागितामा ध्यान दिएको नेपालले पदक तालिकमा भने दरिलो उपस्थिती जनाउन सकेको छैन।

सहभागिताकै लागि धेरै खेल र खेलाडीले प्रतिस्पर्धा गरेपनि नेपालको स्तर एसियन लेभलमा अझै पछाडी छ। नेपालले संख्यामा भन्दा पनि पदक जित्न सक्ने खेल र खेलाडी पहिचान गरेर तयारी गरेका लक्ष्य हात पार्न सक्छ।

 

नेपालको लागि एसियन गेम्समा पदक जित्ने खेलाडीहरु:


१०औं एसियन गेम्स (सोल, दक्षिण कोरिया) – १९८६

स्व. दलबहादुर रानामगर  (बक्सिङ)    कास्य

तुलबहादुर थापा          (बक्सिङ)    कास्य

सुशील पोखरेल          (बक्सिङ)    कास्य

मनोज बहादुर श्रेष्ठ       (बक्सिङ)    कास्य

राजकुमार राई           (तेक्वान्दो)  कास्य

विधान लामा            (तेक्वान्दो)  कास्य

रामबहादुर घर्ती क्षेत्री      (तेक्वान्दो)   कास्य

राजकुमार बुढाथोकी       (तेक्वान्दो)   कास्य

 

११औं एसियन गेम्स (बेइजिङ, चीन) – १९९०

चित्रबहादुर गुरुङ       (बक्सिङ)     कास्य

 

१२औं एसियन गेम्स (हिरोसिमा, जापान) –१९९४

मानबहादुर शाही      (तेक्वान्दो)    कास्य

सीता राई           (तेक्वान्दो)    कास्य

 

१३औं एसियन गेम्स (बैंकक, थाइल्याण्ड)– १९९८

सविता राजभण्डारी  (तेक्वान्दो)      रजत

किशोर श्रेष्ठ       (तेक्वान्दो)      कास्य

सपना मल्ल       (तेक्वान्दो)      कास्य

समरर बहादुर गोले  (कराते)         कास्य

 

१४औं एसियन गेम्स (बुसान, दक्षिण कोरिया)– २००२

दिपक विष्ट        (तेक्वान्दो)      कास्य

रेनुका रानामगर     (तेक्वान्दो)      कास्य

ऋतु जिमी राई      (तेक्वान्दो)      कास्य

 

१५औं एसियन गेम्स (दोहा, कतार)– २००६

दिपक विष्ट         (तेक्वान्दो)       कास्य

आयशा शाक्य       (तेक्वान्दो)       कास्य

मनिता शाही         (तेक्वान्दो)       कास्य

 

१६औं एसियन गेम्स (ग्वाङ्झाउ, चीन)– २०१०

दिपक महर्जन      (बक्सिङ)          कास्य

 

१७औं एसियन गेम्स (इन्चोन, दक्षिण कोरिया)– २०१४

विमला तामाङ        (कराते)          कास्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell