गाउँ विकास समितिले सीपमुलक तालिम संचालन गर्दा रीता बस्नेतको रोजाई देखेर गाउँलेहरुले ओठ लेप्र्याए। काठमाडौंको दक्षिणी भेगको सेतीदेवी गाउँमा महिलाहरुका लागि सीपमुलुक तालिम संचालन भएको थियो त्यहा रीताको रुची अरुसँग मिलेन। उनीजस्ता सबैजसो महिलाको रोजाइमा ब्यूटिसियन देखि सिलाइबुनाइ, अचार र बेकरी उत्पादनमा चासो थियो। महिलाले गर्ने काम भन्दै चिनिएका यस्तै क्षेत्रमा तालिम लिनेहरुको बीचमा रीताले रोजिन्- ड्राइभिङ।
इन्जिन र अटो मोबाइलको ट्रेनिङ पनि उनको तालिमको हिस्सा बन्यो। गाडी मेकानिक वा ड्राइभिङ महिलाका लागि होइन भन्ने छाप गाउँमा त छाडौं शहरमा पनि परेकै छ।
रीता भने दङ्ग थिइन् आफ्नो निर्णयमा।
'सहकारी संस्थाको लागि मार्केटिङ गर्थें। हिडेर धेरै ठाउँमा पुग्नुपर्थ्यो। बाटोमा अरु केटी मान्छेले स्कूटर, गाडी चलाएको देखेर मलई पनि रहर लाग्थ्यो। रमाइलो मानेर परसम्म हेर्थें,' ड्रइभिङतिरको ध्यान खिचिनुको कारण सुनाइन् रीताले।
अहिले उनी आफैँ 'ड्राइभिङ मास्टर्स' भएकी छिन्, महिला सवारी प्रशिक्षक। ड्राइभिङ स्कूलमा १५ दिनमा गाडी सिकिन् र केही महिनामा लाइसेन्स पनि झिकिन्। तर, न आफ्नो गाडी थियो न त महिला 'ड्राइभर' लाई विश्वास गर्नेहरु नै।
'आँटे हुने रहेछ भन्ने विश्वास भयो। बेग्लै उर्जा थपिएको थियो। त्यसैले लाइसेन्स पर्समा राखेर बस्न मन नै लागेन,' उनी एउटा अवसरको उचित प्रयोग गरेर अर्को अवसरको खोजीमा थिइन्।
'बल्खुमा ट्रायल सेन्टर सञ्चालन गर्ने एकजना दाइसँग सम्पर्क गरेँ। उहाँले नै महिला प्रशिक्षक बन्ने प्रस्ताव राख्नु भयो,' भनिन्।
आफ्नो हात पनि बस्ने, कमाइ पनि हुने। रीताले 'नाईं' भन्नुपर्ने कारण थिएन।
२०६९ देखि उनको दैनिकी - दक्षिणकाली टू बल्खु। खचाखच बस चढेर आउँथिन्। सुरुमा उनी पनि पूरै कन्फिडेन्ट कहाँ थिइन् र? यात्राभर मनमा केही डर र आज मेरो काम कस्तो हुने हो? भन्ने प्रश्न बोकेर यात्रा गर्थिन्। तर केही समयपछिदेखि नै आफूमा आत्मविश्वास बढेको बताउँछिन्। 'केहीले आश्चर्यको आँखाले हेर्थे त केहीले अविश्वास गर्थे। तर धेरैको सम्मान र प्रोत्साहनले हौसला दियो,' भनिन्।
'महिलाको लागि महिला प्रशिक्षकद्वारा गाडी सिकाइने'
ड्राइभिङ सेन्टरमा राखिएको स्लोगन उपयोगी बन्यो। रीताको व्यस्तता बढ्यो। महिला न पुरुष सबै उनको चेला बने, विशेषगरी विदेशिने तयारीमा रहेकाहरु। केही समय हात बसाउन काम गरेको ट्रेनिङ सेन्टरमा काम गरिन्। त्यहाँबाट राम्रो तलव, सुविधा भएका ठाउँहरुमा उनको काम जारी छ।
***
दक्षिणकाली नपुग्दैको गाउँ भन्ज्याङमा हुर्किएकी उनको लागि सामाजिक मूल्य मान्यता अनिवार्यजस्तै थियो। समाजले छोरीका लागि घर बाहिरको काम सधैं 'स्यालले नभेटेको अंगुर' बनाएको थियो। रीताको हकमा पनि अफिस जानु अमिलो अङ्गुरजस्तो भयो। उनी सरकारी जागिरे हुन चाहन्थिन्। विवाह उनको योजनामा धेरै पछि मात्र थियो। बुवा सुरेन्द्र बस्नेत प्रधानपञ्च थिए। सरकारी जागिरको लागि खासै पापड बेल्नु नपर्न सक्थ्यो। 'तर, बुवाले बाहिर निस्केर काम गर्न दिनु भएन। रहर मात्र भएर। के गर्नु?,' विगत कोट्याउँदै सुनाइन्।
रीताले अभाव महसुस गरिनन्। प्लस टुसम्मको पढाई पूरा गरिन्। त्यसपछि विवाहको कुरा चल्यो।
छोरी भएर रमाएकी उनलाई बुहारी हुँदा निभाउनु पर्ने जिम्मेवारीका कुरा, सहनशीलताको पाठ पढाइयो। विवाह भयो। नयाँ परिवार अनि समाजमा घुलमिल हुँदै थिइन्। एकदिन श्रीमानले अचानक आग्रह गरे- पढाईलाई निरन्तरता देउ।
'खुशी लाग्यो। देखाउन सकिनँ। केही दिनपछि पाटन क्याम्पसमा गएर भर्ना गरें,' उनले भनिन्।
साहित्य लेख्न र पढ्नमा निकै रुची भएकी उनले नेपाली र पोलिटिकल साइन्स लिएर पढेकी हुन्।
पति जीवन थापा र उनको परिवारले उनलाई घरमा मात्र सीमित राखेनन्। कहिले ग्राफिक्स डिजाइनको ट्रेनिङ त कहिले मोन्टेस्वरी ट्रेनिङका लागि परिवारले नै प्रेरित गर्यो। उनको माइतीमा पूरा नभएको 'जागिर खाने रहर' पतिको घरमा आएर पुरा भयो।
'मान्छेले भित्री मनदेखि चाहेको कुरा पूरा हुन्छ। यो मेरो भोगाइ हो। परिवार सम्हाल्न, पढ्न, काम गर्न, छोरा हुर्काउन सबैतिर भ्याएँ त,' उनले भनिन्।
उनका १३ वर्षीय छोरा लिटल एन्जल्स स्कूलमा पढ्छन्। भन्छिन्, 'आफै कमाएर छोरालाई राम्रो स्कूलमा पढाउने रहर पूरा भएको छ। यस्तै साना साना सपनाहरु पूरा भए त भैहाल्यो नि होइन?'
* **
सधैं घरबाट 'अफिस जाने' भनेर निस्किन्थिन् उनी। वरपर छर छिमेकलाई थाहा थिएन उनी के काम गर्छिन्। उनलाई पनि भन्न आवश्यक लागेन। केहीले सोध्थे, गाडी चलाउन सिकाउँछु भन्दा 'होइन होला' भनेको सुन्थिन् तर जवाफ दिन्न थिइन्। कोही त हेयको भावले हाँस्दिन्थे। गाडी नपाएर ढिला फर्कदा 'विदेश नै गएर आयौ कि क्या हो' भन्ने समेत थिए। 'तर, म चुप लागेँ किनकि मेरो परिवारले त मैले गरेको काममा र मेरो व्यवहारमा प्रश्न उठाएन् भने अरुको के मतलव?', भन्छिन्, 'ओठ फर्काएर जिस्काउनेहरुको भन्दा प्रगति सुनेर खुशी हुने सासुको हाँसोले मलाई अघि बढायो।'
एकान्तकुनाको सुजुकी मोटर ड्राइभिङ सेन्टरमा लगभग ४ वर्ष काम गरेकी उनले ५ महिनायता बनस्थलीस्थित हिमालयन रिलायन्ट ड्राइभिङ इन्स्टिच्युटमा काम गर्दै आएकी छिन्। मासिक २५ देखि ३० हजारसम्म कमाइ हुने उनको दाबी छ।
लाइसेन्स फर्म खुलेको समय दैनिक दश, बाह्र जनासम्मलाई गाडी चलाउन सिकाउनले उनी अफ सिजनमा चारदेखि पाँच जनालाई तालिम दिन्छिन् दैनिक।
'यो कामले मलाई यति सम्मान दिलाएको छ नि? तलवले छाक टर्ला तर मान्छेले दिने आदर सम्मानले सन्तुष्टि दिएको छ। यो क्षेत्रमा टिकाएको छ,' पेशाप्रति गर्वित छिन् उनी।
अहिले उनी गाडी मात्र नभएर बाइक र स्कूटरको पनि प्रशिक्षक हुन्। सुरुमा आउँदा महिला प्रशिक्षक देखेर छक्क पर्नेहरु पनि दोस्रोपटकदेखि सहज महसुस गर्ने उनी बताउँछिन्। सिक्ने सिकाउने वातावरण आफैँ बनाउने हो भन्ने उनको धारणा हो। त्यसैले महिला भएकै कारण अविश्वास गर्ने वा असहज मान्नेहरुलाई कर गर्दिनन्।
उनीसँगै अन्य तीन प्रशिक्षक कार्यरत् छन् त्यहाँ। ६ महिनायता हिमालयन रिलायन्टमा गाडी सिकाउँदै आएका भविश्वर पौडेल भन्छन्- उहाँ त हाम्रो लागि उदाहरण हो। ल हेर है सिप सिके र आँट गरे कोही पनि बेरोजगार रहनु पर्दैन भन्ने। म त केटीसित मात्र सिक्छु भन्दै आउनेहरुलाई उहाँसँग परिचय गराउन पाउँदा झनै खुशी लाग्छ।
रीता आफूले सकेसम्म समाजका नकारात्मक मान्यताहरुलाई आफ्नो जीवनमा ठाउँ दिन प्रेरित नगरेकोमा आज आफूले रोजेको काम गर्न पाएको तर्क राख्छिन्।
'बुहारी भएर घरभित्रको काम सकेर मात्र अरुतिर ध्यान दिनुपर्छ भन्नेहरु पनि नभएका होइनन् तर मलाई त आफ्नो खुट्टामा उभिनु थियो। त्यस्तो कुरा सुनेर बसेको भए आज कहाँ आर्थिक जिम्मेवारी सम्हाल्ने हैसियत बन्थ्यो होला र,' प्रश्न गर्नेहरुका लागि उनीसँग पनि प्रश्न नै छ।
'जवाफ त काम र सफलता नै हो नि।'
नारी पुरुष बराबर भन्ने समाज महिला प्रशिक्षक देख्दा एकपटक भएपनि झस्किएको देख्दा अचम्ममा पर्छिन्। उनको बोलिमा व्यङ्ग्य झल्कन्छ- नारामा मात्र समानता खोज्ने हाम्रो समाजले किन यथार्थलाई स्वीकार्न सक्दैन?
'सुरुसुरुमा मलाई पनि अप्ठ्यारो लाग्थ्यो। तर, अफ्ठ्यारो मान्नुले कमजोर बनाउने रहेछ', उनी आफ्नो अनुभव साट्छिन्, 'सबै मान्छे असल हुँदैनन्। न केटा न केटी उनीहरुको प्रतिवाद गर्ने हो। प्रश्न गर्ने हो।'
उनको बोलीले शारीरिक, मानसिक दुर्व्यहारको संकेत गर्छ। भन्छिन्- गलत सोंच र तरिका भएकाहरुलाई आफूबाट टाढा राखेँ। टाढा राख्नु समस्याको हल होइन रहेछ त्यसैले प्रतिवाद गर्न थालेँ।
'गुरु मान्नेहरु धेरै भएर होला प्रायसँग सम्बन्ध राम्रो बन्यो। धेरैजनासँग अझै पनि सम्पर्कमा छु। उनीहरु आफ्ना मान्छेलाई मैसँग सवारी सिक्न पठाउँछन्,' उनले भनिन्।
***
रीतालाई रहर छ धेरै युवा युवतीलाई प्रशिक्षण दिने। तर आफूसँग सिकेका प्राय विदेशिएकोमा दु:खी पनि। उनी चाहन्छिन् सिप सिकेकाले हरेक कामलाई समान रुपमा हेरुन् र देशमै अवसरको खोजी गरुन्।
'देशमा काम नभएको होइन, कामको सम्मान नभएको हो। त्यसैले त विदेश गएरजस्तो काम पनि गर्न तयारहरु यता गाडी चलाएर कमाउन वा गाडी चलाउन सिकाएर कमाउनुलाई काम मान्दैनन्', उनी चिन्तित सुनिन्छिन्, 'मेरो छोरालाई त मैले सानैदेखि आफू काम गर्ने ठाउँमा ल्याउन थालेँ। उसले देखोस् मैले काम गरेको र गर्व गरोस् आफ्नी आमाले गर्ने काम देखेर।'
रीताको सपना छ आफ्नै ड्राइभिङ स्कूल खोल्ने। जहाँ सिप सिकाइनेछ र सिप भएकालाई रोजगारको अवसर पनि दिइनेछ। 'अहिले मसँग सपना र योजनाका केही खाका मात्र छन्। लगानी गर्न पुग्ने पैसा छैन। केही वर्ष काम गरे सपना पूरा गर्ने बाटोहरु खुल्नेछन्।'
पहिले पहिले रीताले सवारी हुईंक्याउँदा 'देखाउन आइ' भन्नेहरुले केहीपछि 'जानेर हुईंक्याइ' भन्न थाले। अहिले तीनैले उनलाई सफलताको उदाहरण बनाएर उभ्याउँछन्। उनी पनि खुशी छिन्।
भन्छिन्- परिवर्तन, समता र समानता सबै सम्भव रहेछ। हामी नै पो पछाडि रहेछौं। अब अलि अगाडिसम्म देख्नेगरी उभिन पर्ने भएको छ।