PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

शब्दसित गितार, हार्मोनियम बाँसुरीको मेल : काठमाडौँमा पहिलो पटक गजल कन्सर्ट



स्वेच्छा राउत

शब्दसित गितार, हार्मोनियम बाँसुरीको मेल : काठमाडौँमा पहिलो पटक गजल कन्सर्ट

माइतिघरको ब्लिस स्टुडियोमा केही साता यता बिहानै घुइँचो लाग्छ। १०/११ जनाको टोलीका लागि त्यहाँको एउटा कोठा सानो छ। तर, अपर्याप्त पक्कै होइन। उपस्थित सबै कोठाको ढोका बाहिर जुत्ता चप्पल खोल्छन् र आफ्नो लागि निर्धारित ठाउँमा गएर बस्छन्। तबला, हार्मोनियम, गीतार, बाँसुरी मिलाएर राखिएको हुन्छ। सँगै चकटीहरु। गायकको लागि राखिएको माइकहरुको अगाडि नीशा देशार र हरि लम्साल बस्छन्। त्यस्तै तबलामा कुमार महाराज। गितारको तार मिलाउनतिर लाग्छन् सञ्जिव बराइली र सरोज विष्ट। सँगै बसेका अनुप दास बेस गितार सम्हाल्न लाग्छन्। बाँसुरीमा उमेश पण्डित र र मणिन्द्र कुमार हार्मोनियममा। 

सबैले एकअर्कालाई हेरेर तयार रहेको संकेत गरेपछि सुरु हुन्छ एउटा सांगीतिक माहोल जहाँ एकैपटक सबैको सुरताल मिल्न आवश्यक छैन। एकैपटकमा गितार, हार्मोनियम, तबला र बाँसुरीले शब्दसँगै हिँड्न पर्दैन। 

गायक लम्साल गाएर सुनाउँछन्-
तिमी साथ भएपछि भगवान् पनि चाहिंदैन 
मेरो रात जगमगाउ बिहान पनि चाहिंदैन 


उनको गायकी मिल्दो बजाएर हेर्छन् वाद्यवादनका एकएकले। जब सबैको तालमेल मिल्छ कोठा एकसुरले गुञ्जन्छ। गाउँदा गाउँदै टोलीमध्ये एकजनाको बिग्रन्छ अनि पुन: सबैले सुरुदेखि गाउन बजाउन थाल्छन्। गाउँदै रोक्किदै। बजाउँदै रोक्दै, रोक्किँदै। एकअर्कालाई सच्याउने, मिलाउने क्रम जारी रहन्छ। यो सब भइरहँदा हाँसी मजाक चल्छ। हेर्नेहरुका लागि माहोल उत्साहपूर्ण बन्छ। 

आधा घण्टा जतिपछि बल्ल गायकदेखि सबै वाद्यवादनको क्रम मिल्छ। र, नयाँ शब्दहरुमा संगीत भर्ने काम सुरु हुन्छ।

यहाँ ‘गजल कन्सर्ट’को तयारी भइरहेको छ। सम्भवत: काठमाडौंमा गजलको सांगीतिक कार्यक्रम पहिलोपटक हुन लागेको हो। ‘पहिलोपटक’लाई अन्तिम हुन नदिने हर प्रयत्न गर्दैछ टोली। २०७२ सालको पहिलो दिन कञ्चनपुरमा प्रदिप भट्टराईको टिमले यस्तै कार्यक्रम आयोजना गरेको थियो। यताबाट गजल लेख्ने, गाउने, पढ्ने र सुन्नेहरु गएका थिए। त्यो माहोलको हिस्सा बनेका अच्युत घिमिरेले सोचे- काठमाडौंमा पनि यस्तै कार्यक्रम गर्न पाए ! 

’दुई दशकदेखि गजलसँग बसेको उठेको मेरा लागि पनि सांगीतिक माहोलमा गजल गुञ्जिनु नौलो विषय थियो। त्यहाँ मैले गजलको प्रत्यक्ष सांगीतिक प्रस्तुतिको ट्रेन्ड सुरु गर्न सक्ने अवसर देखें’, घिमिरेले गजल कन्सर्टको योजना बन्नुको कारण सुनाए। जसरी पनि गजल कन्सर्ट गर्ने सोचे र सही समयको प्रतिक्षामा रहे। 

रेडियोमा गजल लगायत साहित्यिक कृति वाचन गरेर चर्चामा रहेका अच्युत दुई वर्ष यता साहित्यिक कृति प्रकाशन गर्न थालेका थिए। उनको ब्रान्ड बनेको रेडियो कार्यक्रम ‘बुलबुल’ कै नाममा प्रकाशन गृह खोलेका थिए। सोही पुस्तक गृहको वार्षिकोत्सव गजल कन्सर्टका लागि सही मौका बन्यो। 

‘हामीले चाहेजस्तै कार्यक्रमको लागि दर्शक, स्रोता आकर्षित गर्न सके गजल गायन पनि व्यवसायिक बन्ने थियो। इन्डियामा त यो ट्रेन्ड स्थापित छ। मैले आम स्रोताको गजलप्रति त्यस्तै चार्मको लोभ गरेको’, अच्युत भन्छन्। उनले एकल वाचनबाहेकको प्रस्तुतिलाई इंगित गरे। 

कञ्चनपुरमा सँगै कार्यक्रम हेरेर लोभिएका संगीतकर्मी हरि लम्साल पनि कन्सर्टको हिस्सा बनेको। र जम्मा भयो अग्रज तबलावादकदेखि अहिलेका चर्चित संगीतकर्मीहरुको एउटा मार्च जो गजल कन्सर्ट गर्दैछन्।

१५ वर्षयता गीतहरुमा संगीत भर्दै आएका हरि लम्साल आफै गाउँदै छन्। भन्छन्,’मेरो आवाजमाथि अच्युत जीले विश्वास गर्नुभयो। मैले पनि नयाँ संस्कार विकासको लागि किन नगर्ने? भन्ने सोचें।‘ उनी चाहन्छन्- गजल लेखनमाजस्तै गायनमा पनि एउटा बाढी आओस्। रचना गर्नेहरुलाई अझ गर्न ऊर्जा मिलोस्।

गजल गायन भनेर राखिने कार्यक्रमहरुमा गीत गाइनुले उनलाई आकर्षित गरेन। सधैं चाहेका थिए- विशुद्ध गजल गायन होस्। उनको इच्छा पूरा हुँदैछ। पूरा गर्न लागिपरेका छन् ठूलो टोली। सोच मिलेर जम्मा भएका सबैको बुझाइ मिल्न आवश्यक छ। गीतको रङ, मेलोडी र फ्लेवरका कुरा मिल्न आवश्यक छ। जुन कुरा संगीतमा लागेकाहरुको भाषामा हुन्छ। जुन भाषा आँखा आँखाबाट निस्कन्छ। 

’गाउँदा गाउँदै, बजाउँदा बजाउँदै पनि मेलोडी फेर्ने, गाउने तरिका फेर्ने काम हुन्छ। जसका लागि हामी इशारा दिन्छौं। संकेत गर्छौं। सँगै यत्रो प्राक्टिस भएपछि मजाले बुझिन्छ’, लम्साल भन्छन्।

लाइभ प्रस्तुतिमा यस्तै आकस्मिक नयाँ प्रयोग गर्न पाइने तर्क राख्छन्। ‘रेकर्डेडमा अलि कम मजा हुन्छ किनकी कलात्मक प्रयोग सम्भव हुन्न। गाउने रमाउन सके न सुन्नेहरु रमाउँछन्।‘

बिहानको समय गजल प्राक्टिस गर्न आएका सबैलाई हेर्दै भन्छन्- यो त मौका हो जमघटको, गीत राम्रो बनाउने छलफलको लागि। रेकर्डेडमा त यसरी संगीतकारहरु बीच नै पनि भेट हुन मुश्किल पर्छ।

गायिका नीशा देशारले पनि यो कार्यक्रमलाई अवसरको रुपमा लिएकी छिन्। ‘यो रिहर्सल कम ‘रिफ्रेसमेन्ट’ ज्याँदा लाग्छु’, सुनाउँछिन्। भन्छिन्,’गजल गाउँदाको रमाइलो बेग्लै हुन्छ। नियममा रहेर लेखिएका शब्दहरुलाई नियममै रहेर गाउँदा र प्रतिक्रिया सुन्दा धेरै कुरा सिक्न मिल्छ।‘ उनी गजल पाठक, स्रोताका लागि आफू पनि प्रस्तुत हुने विषयले उत्साहित रहेको बताउँछिन्। ‘त्यसैले भेटेजति प्रायलाई कार्यक्रममा बोलाएकी छु।’

अहिलेका व्यस्त गितारिस्ट सञ्जिव बराइली समय निकालेर प्राक्टिसमा आउँछन्। किनकी उनी यस्तै माहोलको खोजीमा थिए। भन्छन्,’यो कार्यक्रम संगीत संगीतको भाषामा कुरा गर्न पाउने मौका हो। मलाई मेलोडीको प्रश्न जवाफ खुब मनपर्छ। त्यही भएर टिमसँग जोडिए।‘ उनले गजल कन्सर्टले आफ्नो मोनोटोनस दैनिकीलाई फेरेकोमा खुशी छन् नै साथै अझ धेरै युवा गायक गजल गायनमा आकर्षित हुने आशासमेत राखेका छन्।

कार्यक्रम भदौको ११ गते हुँदैछ। जसका लागि बुलबुल प्रकाशनले उपस्थितिको सार्वजनिक आह्वान गरिसकेको छ। यति धेरै संगीतकर्मीको मिहेनत, उनीहरुले खर्चिएको समय स्रोताको लागि हो। सबैले गजल कन्सर्ट हेर्न पाउनु पर्छ भन्ने हेतुले कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था पनि छ। 

हरि लम्साल भन्छन्,’हामीले गजल गायनको बाटो बनाउन लागेका हौं। यो व्यवसायिक बन्नुपर्छ भन्ने संदेश दिन खोजेका हौं। र संदेश सबैका लागि हो।‘
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell