PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एसिया कप छनोट भोलिदेखि मलेसियामा सुरु हुँदै, विजेताले भारत र पाकिस्तानसँग खेल्ने



गोविन्दराज नेपाल

एसिया कप छनोट भोलिदेखि मलेसियामा सुरु हुँदै, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ : ९ दिन, ६ टिम, १६ खेल, एक विजेता। विजेतालाई सिधै विश्व क्रिकेटकै पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने मौका।

सम्भवत विश्वकप पछिकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एसिया कप नै हो र त्यसमा छनोट हुन एसियाका ६ एसोसिएट राष्ट्र भोलीबाट मलेसियामा प्रतिस्पर्धा गर्दैछन्।

६ मध्ये एक टिम मात्र भाग्यमानी बन्नेछ जसले युएईमा हुने एसिया कपमा ५ भारत र पाकिस्तानसँग समूह चरणमै खेल्न पाउनेछ।

एसिया कपमा एसियाका टेष्ट खेल्ने पाँच र छनोटको विजेतासहित कूल ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

मलेसियामा ९ दिनसम्म चल्ने एसिया कप छनोट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ। प्रत्येक टिमले एक आपसमा खेलेपछि सबैभन्दा धेरै अंक हात पार्ने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। र त्यसैको विजेता ५० ओभरको एसिया कपको लागि छनोट हुनेछ।

छनोट खेल्ने आयोजक मलेसियासहित ६ राष्ट्र अहिले तयारी अवस्थामा छन्। जसमध्ये नेपाल र युएईसँग आइसीसी ओडिआई स्ट्याटस समेत छ।

सबैको लक्ष्य छनोटमा विजेता बन्दै एसिया कप खेल्ने छ। तर नेपाल, युएई र हङकङलाई प्रतियोगिताको मुख्य दाबेदारको रुपमा हेरिएको छ। पछिल्लो समय ओमानले पनि राम्रो क्रिकेट खेलिरहेको छ।

गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टू मा नेपाल ओमानसँग पराजित भएको थियो।

छनोटका लागि नेपाल र ओमान दुवैले श्रीलंकामा तयारी गरेका थिए।

एसिया कपको तयारीका लागि श्रीलंका जानुअघि नेपालका कप्तान पारस खड्काले भारत र पाकिस्तानसँग खेल्ने मौका खेर नफाल्ने र एसिया कप छनोट जित्न नेपाल सक्षम रहेको बताएका थिए।

उता एसिया कप युएईमै हुने कारण युएईका कप्तान रोहन मुस्ताफाले आफूहरुको मुख्य लक्ष्य एसिया कपमा छनोट हुनु रहेको बताएका छन्।

नेपाल, युएई र हङकङ वर्ल्ड क्रिकेट लिगमा एकआपसमा खेलिरहेकाले परिचित समेत छन्। बाँकी टोलीहरुबीच पनि विभिन्न खाले प्रतिस्पर्धा भइरहेको छ। पारस खड्काले पनि छनोट खेल्ने सबै टोली एकआपसमा परिचित रहेको बताएका थिए।

नेपाली टोलीमा यसपटक पिनिसरको उपनाम पाएका शरद भेषावकर चोटका कारण छैनन् भने दुई खेलाडीले कमब्याक गरेका छन्। विनोद भण्डारी र सागर पुनले झण्डै एक वर्षपछि नै राष्ट्रिय टिममा पुनरागमन गरेका छन्।
 

नेपालले दोस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दा यी दुई खेलाडीले पनि ओडिआईमा डेब्यु गर्ने सम्भावना छ। यस्तै नेपालले नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेल्दा डेब्यु गर्न नपाएका स्पिनर ललित नारायण राजवंशीको लागि पनि युएईसँग खेल्दै डेब्यु गर्ने अवसर छ।

नेपाली टोलीमा रहेका बाँकी १२ खेलाडीले भने ओडिआईमा डेब्यु गरिसकेका छन्। श्रीलंकामा भएको अभ्यास खेलमा युवा खेलाडीद्वय दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसले पनि नेपाली टोलीमा आत्मविश्वास बढेको छ। दीपेन्द्रले श्रीलंकामा राम्रो खेल्नका साथै कन्फिडेन्स लेभल पनि बढाएको जगत टमाटाको विश्वास छ।

सन् २०१४ मा पहिलो पटक आइसीसी टी-२० विश्वकप खेलेको नेपालले ओडिआई मान्यता प्राप्त खेल समेत खेलिसकेको छ। तर एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सपना पनि खेलाडीहरुसँग छ। यदी नेपाल छनोटहुन सक्यो र नेपाली क्रिकेट इतिहासमै नेपालले अहिलेसम्मकै ठूलो खेल खेल्न पाउनेछ।

छनोटको पहिलो दिन तीन खेल हुँदैछ। नेपालले भोली पहिलो खेल ओमानसँग खेल्दैछ। ओमानले पनि मलेसिया जानुअघि श्रीलंकामै तयारी गरेको थियो।

छनोट खेलतालिका:

नेपाली टोली:

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुबास खकुरेल, बिनोद भण्डारी, सागर पुन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell