PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एसियाड : प्याराग्लाइडिङमा नेपालले स्वर्ण नै जित्ने सम्भावना



गोविन्दराज नेपाल

एसियाड : प्याराग्लाइडिङमा नेपालले स्वर्ण नै जित्ने सम्भावना

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स सकिने दिन नजिकिँदै गर्दा नेपालले पदक आशा गरेका खेलले निराश मात्र बनायो।

यसअघि एसियाडमा पदक जितेको र यसपटक पनि पदकको आश गरिएको खेलहरु तेक्वान्दो, बक्सिङ र करातेले यस पटक पदक जित्न सकेन।

यसै एसियाडबाट थपिएको प्याराग्लाइडिङ, स्पोर्ट्स क्लाइम्बिङ लगायत अन्य खेलमा पनि नेपालले पदक आशा राखेको थियो।

प्याग्लाइडिङमा पनि ६ स्वर्णका लागि भएको प्रतिस्पर्धा मध्ये ४ वटा सकिसक्दा नेपालले पदक जित्न सकेन। त्यही प्याराग्लाइडिङको क्रस कन्ट्रीको पुरुष टिमले भने नेपाललाई पदक दिलाउने सम्भावना देखाएको छ।

चौथो चरणको समाप्तीमा नेपाली पुरुष टिम जापान भन्दा पछाडी दोस्रो स्थानमा छ।

अब एक राउण्ड मात्र बाँकी छ र नेपालले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरे बिहीवार नेपालको लागि ऐतिहासिक बन्न सक्नेछ। नेपालले राम्रो प्रदर्शन गरे स्वर्ण पदककै सम्भावना रहेको प्याराग्लाइडिङ टिमका म्यानेजर शैलेन राउतले इन्डोनेसियाबाट पहिलोपोस्टलाई बताए।

'आज हाम्रो खेलाडीहरुले राम्रो प्रदशर्न गरे। ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरे। कोरियाको २ खेलाडीले मात्र टास्क पुरा गरे। अन्य देशका १ खेलाडीले मात्र टास्क सकाए।' राउतले भने।

'यही खालको प्रदर्शन दोहोर्‍याउन सके नेपाललले स्वर्ण पदक नै जित्न सक्छ। हाम्रो टार्गेट भनेको अब स्वर्ण नै हो।'

उनले भोलीको खेल कस्तो हुन्छ त्यसबाटै नेपालले कुन पदक जित्ने पक्का हुने बताए।

'अहिले हामी भन्दा जापान मात्र अगाडी छ। आजकै स्कोरलाई कायम राख्दै गए स्वर्ण जित्ने सम्भावना पनि छ।' राउतले नेपालको सम्भावना बारे भने।

उनका अनुसार प्रत्येक खेलाडीलाई टास्क दिइएको हुन्छ। उक्त टास्क एक हजार अंकको हुन्छ र त्यसमा कसैले नौ सय कसैले ८ सय अंक ल्याएका छन्। 'यो रिले जस्तै हो जसले धेरै अंक ल्याउँछ त्यो नै अगाडी हुन्छ।'

यदी नेपालले भोली राम्रो प्रदर्शन गर्न सकेन भने पनि कम्तीमा कास्य पदक भने पक्का रहेको उनको भनाई छ।

'हामी भन्दा पछाडी रहेका अन्य टिमहरु झण्डै ७ सय अंकले तल छन् त्यसैले कास्य जित्ने सम्भावना हाम्रो बढी नै छ।'

पुरुष क्रस कन्ट्रीमा नेपालले आयोजक इन्डोनेसिया र दक्षिण कोरियालाई पछि पार्दै चौथो राउण्डमा दोस्रो स्थानमा उक्लेको हो।

चौथो राउण्डमा जापानको ३ हजार २९८ अंक छ भने नेपालको २ हजार ७९८ अंक छ। यस्तै तेस्रो स्थानमा रहेको कोरियाको २ हजार १९१ र चौथो स्थानको इन्डोनेसियाको १ हजार २७२ अंक छ।

चार राउण्डपछि ९ हजार भन्दा बढी अंक रहेको जापान पहिलो स्थानमा रहँदा ८ हजार ५ सय अंक रहेको नेपाल दोस्रो स्थानमा छ। दक्षिण कोरिया ८ हजार अंकसहित तेस्रो स्थानमा छ।

आयोजक इन्डोनेसियाका एक खेलाडीले फल गरेका कारण नेपाल र कोरियाले उनी विरुद्ध प्रोटेस्ट हालेको राउतले बताए।
 

नेपाली टिममा पाँच खेलाडी छन्। अनुभवी पाइलट बिमल अधिकारीको नेतृत्वमा रहेको टिममा १६ वर्षिय खेलाडी युकेश गुरुङसहित विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन्।

महिला टिम क्रस कन्ट्रीतर्फ भने चौथो राउण्डपछि नेपाली महिला टिम छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell