PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्याराग्लाइडिङले जोगाएको नेपालको साख, २० वर्षपछि रजत जितेपछि राउत भन्छन् : यो खुशी सबै नेपालीसँग साट्न चाहन्छौँ



गोविन्दराज नेपाल

प्याराग्लाइडिङले जोगाएको नेपालको साख, २० वर्षपछि रजत जितेपछि राउत भन्छन् : यो खुशी सबै नेपालीसँग साट्न चाहन्छौँ

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा बुधबार नेपालको लागि ऐतिहासिक रह्यो। ११ दिनसम्म पदकिबिहन बनेको नेपालले अन्तत १२औँ दिनमा रजत जित्यो।

यसै एसियाड मार्फत समावेश गरिएको प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो। यो एसियाडमा नेपालले जितेको दोस्रो रजत हो भने २० वर्षपछि पहिलो हो।

सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको एक मात्र रजत थियो। अब नेपालले एसियाडमा जितेको रजत पदक संख्या दुई भएको छ।

'हामी एकदमै खुशी छौँ। अब देशका लागि पदक जितिसकेपछि को चाही खुशी नहोला र।' नेपाललाई रजत दिलाएपछि इन्डेसियाबाट नेपाली टिमका म्यानेजर शैलेन राउतले पहिलोस्टसँगको कुराकानीमा भने। 'एक्सपेक्टसन अनुसार अली भएन, मौसमले साथ दिएको भए हामी स्वर्ण पदक नै जित्थ्यौँ। सबै खलाडीले राम्रो प्रदर्शन गरे।'

नेपाली टिमका प्रशिक्षक योगेश भट्टराईले पोखराबाट एसियाडका लागि हिँडने बेलामै प्याराग्लाइडिङमा पदक जित्दै इतिहास रच्ने बताएका थिए।

अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको पाँच सदस्यीय नेपाली प्याराग्लाइडिङ टोलीले ऐतिहासिक पदक दिलाउँदा सारा नेपाली खुशी भए। नेपालले २९ खेलमा भाग लिएपनि आधा भन्दा बढी खेलमा चुनौती समाप्त भइसक्दा कतै नेपाल यसपटक खाली हात फर्कनुपर्ने त होइन भन्ने शंका समेत उब्जेको थियो।

तर एडभेन्चर स्पोर्ट्सको रुपमा विशेषगरी पोखरामा चर्चित प्याराग्लाइडिङ खेलले नेपाललाई २० वर्षपछि ठूलो पदक दिलाइदियो। यस पदकले अन्य खेलको खराब प्रदर्शनलाई समेत केही हदसम्म छायाँमा पार्ने प्रयास गर्‍यो। तर यो मात्र नेपालको लक्ष्य भने थिएन।

'हाम्रो तयारी र दावी स्वर्ण पदककै लागि थियो तर पाँचै राउण्डसम्म मौसम केही खराब रहेकाले स्वर्ण जित्ने लक्ष्य पुरा हुन सकेन। हामी पहिलो भएको जापानसँग एकदमै कम अन्तरले (२७) ले मात्र पछि पर्‍यौँ।' नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङका महासचिव समेत रहेका राउतले भने।

'हामी यो रजत र यो खुशीलाई सम्पूर्ण नेपाली जनता र खेलप्रेमीसँग साट्न चाहन्छौँ।'

राउतले अब नेपाली खेलकुदलाई विकास गर्न बजेट र नयाँ नीति बनाउँदा सोच्नुपर्ने बेला आएको बताए। 'अब खेलकुद विकास गर्न नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ। राज्यले सबै खेलमा लगानी बढाउनुपर्ने बेला आएको छ।'

प्याराग्लाइडिङ महँगो खेल भएकोले यसमा अझै राज्य र सरकाले ध्यान दिनुपर्ने राउतको तर्क छ।

'नीतिगत रुपमा राज्यले अझै खेलकुदमा लगानी गरेको छैन। त्यसमा विशेष ध्यान दिनु जरुरी छ। अर्को कुरा भनेको प्याराग्लाइडिङ महँगो खेल हो। यसको इक्विपमेन्टहरु महाँगा हुन्छन्। त्यसका लागि राज्यले सहयोग गरिदिनुपर्छ।'

नेपाललाई रजत दिलाउने टिममा क्याप्टेन विमल अधिकारीसहित १६ वर्षिय युकेश गुरुङ समेत थिए। युकेश एसियाडकै सबैभन्दा कान्छा खेलाडी हुन्।

अनुभवी र युवा खेलाडीको समिश्रण हुँदा जोश र जाँगरका साथ खेलाडीहरुले प्रदर्शन गरेको राउतले बताए। विमल र युकेसँगै नेपाली टिममा विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए।

पुरुष टिम क्रस कन्ट्रीमा नेपालले पाँच राउण्डपछि कूल ११ हजार ३६४ अंक जोडेको थियो। नेपाल भन्दा २७ अंकले मात्र अघि रहेको जापानले ११ हजार ३९१ अंक जोड्दै स्वर्ण जित्यो। पहिलो र दोस्रो राउण्ड तेस्रो भएको नेपाल राउण्डमा चौथो भएको थियो तर चौथो राउण्डमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले दोस्रो स्थान हात पार्दै पदकको सम्भावना जगाएको थियो। अन्तिम दिन पनि उक्त लयलाई कायम राख्दै नेपालले रजत पदक जितेको हो।

एसियाडमा पहिलो पटक समावेश गरेको प्याग्लाइडिङमा एक्कुरेसी र क्रस कन्ट्रीमा गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। महिला टिम क्रस कन्ट्रीमा भने नेपाल छैटौँ भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell