काठमाडौं : सत्तारुढ दल नेकपाभित्रै विवादित बन्दै आएको बिम्स्टेक संयुक्त सैन्य अभ्यासको विषयमा नेपाली कांग्रेससहित प्रतिपक्षी सांसदहरुले पनि जवाफ मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन्।
हालै सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको तल्लो सदनलाई जानकारी गराएलगत्तै १४ जना सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए। तीमध्ये केही प्रश्नकोमात्र जवाफ प्रधानमन्त्रीले दिए।
सांसद दिव्यमणि राजभण्डारीले सैनिक अभ्यासले सशंकित बनाएको भन्दै सार्क राष्ट्रबीच पनि यस्तो अभ्यास नभएको कुरा राख्दै भने, ‘नाकाबन्दीको बेलाको राष्ट्रवादी अडान आँच त आउने हैन?’
सांसद प्रेम सुवालले भारतको नेतृत्वमा सुरक्षा छाता बनाउने कुराबारे प्रश्न राखे।
पूर्वमन्त्री समेत रहेका मिनेन्द्र रिजालले चुनावमा मित्रराष्ट्रसित आँखामा आँखा मिलाउने नेतालाई जिताएकोमा किन सैनिक अभ्यास आवश्यक भयो भनी प्रश्न राखे।
सांसद मिनबहादुर विश्वकर्माले भारतीय प्रधानमन्त्री वायुसेनाको जहाजसहित काठमाडौँ उत्रँदा अरु देशमा कस्तो सन्देश गयो भनी प्रश्न राखे।
अमरेशकुमार सिंहले प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा ९/१० पटक सम्मेलन सफल भएको भनी भनेको कतै असफल भएकोमा पीडा भएको त हैन भन्दै प्रश्न राखे- सैनिक अभ्यासले देश सैनिकीकरण तिर जाने त हैन? बिम्स्टेकका कयौँ देशमा सैनिकीकरण भएकै हो।
सांसद भरतकुमार शाहले सैनिक अभ्यासले नेपालको तटस्थ नीतिमा प्रभाव त पर्दैन भनी प्रश्न राखे भने सञ्जयकुमार गौतमले सैनिक अभ्यासले शंका उब्जाएको बताए।
सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संयुक्त सैन्य अभ्यासबाट त्रसित हुनुपर्ने अवस्था नरहेको जिकिर गरे।
उनले सुरुमै प्रतिप्रश्न गरे- सैन्य अभ्यास। कहाँबाट आयो यो कुरा? कसको सैन्य अभ्यास? विभिन्न देशहरुका बीच सैनिक अभ्यास अहिले हैन, पहिलेदेखि भइरहेको भन्दै उनले भने, ‘मन्त्री भइसकेका माननीयहरुले पनि प्रश्न गरेको देख्दा अचम्म लाग्छ।
उनले नेपालमा विभिन्न देशका सैनिक पढ्न आउने र पढेर डिग्री लिएर जाने कुरा बताए। नेपालको डिफेन्स कलेज ब्याचलरमा पढाइ भइरहेको बताउँदै हाम्रा सैनिकहरु पनि अन्यत्र गएर पढ्ने र ट्रेनिङका लागि जाने गरेको उनले स्पष्ट पारे।
‘नेपालको भारत, पाकिस्तान, चीन, अमेरिकासँग सैनिक अभ्यास हुने गरेको छ’, उनले भने।
प्रम ओलीले भने,‘बिम्स्टेकलाई मिलिट्री प्याक्ट बनाउने कुरा होइन। फ्रेन्डसिपको कुरा गरेको छ। मिलिट्री प्याक्ट भित्र नेपाल पस्न खोजेको होइन। आतंकवादविरुद्ध, वातावरणीय विषयहरुका लागि अभ्यास आदानप्रदान हुन लागेको हो।’
रिट्रिट रद्द किन?
कांग्रेसका सांसद भरतकुमार साहले बिम्स्टेकले सामर्थ्य बढाएको भनी प्रधानमन्त्री ओलीले भनेको तर गोकर्णसम्म पुग्ने बाटो बनाउन नसकेर रिट्रिट रद्द भएको छ कसरी सामर्थ्य बढेको भनी प्रश्न राखे। सभागृहमा सुरक्षाका कारण सम्मेलन हुन नसकी सोल्टी होटलमा सम्मेलन गर्नुलाई कसरी सामर्थ्य भन्ने? उनको अर्को प्रश्न थियो।प्रधानमन्त्री ओलीले भने गोकर्णमा रिट्रिट रद्द बाटोका कारण नभई मौसमका कारण भएको प्रष्टिकरण दिए। पानी पर्यो, चौरी उचित भएन, हिलो चौरीमा हुनसक्ने भएन अनि त्यसमा हाम्रो अयोग्यता हुन्छ? उनले प्रतिप्रश्न गरे।
राष्ट्रिय सभागृहमा धेरै कुराको असुविधा भएको भन्दै जानुअघिको होल्डिङ रुम, सेक्रेटरियाट आदिको अभाव भएको र अभाव र अस्तव्यस्तता नहोस् भनेर सहजता र अनुकूलताका लागि र ट्राफिक व्यवस्थाका लागि पनि सोल्टीमा सम्मेलन गरिएको बताए।
पशुपतिमा गरिने पूजा बाटैमा गरे जस्तो भयो भन्ने हैन यो, उनले भने, सभागृह चाहिँ पशुपति अनि सोल्टीमा चाहिँ बाटोमा भने जस्तो हैन। यो संवेदनशील हुने कुरा हैन।
विदेशी सेना किन?
प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनका क्रममा विदेशी नेताहरुको सुरक्षार्थ आएका सुरक्षाकर्मीको विषयलाई अनावश्यक ढंगले उछालिएको बताए। प्रमले भने, कतिपय विषयलाई अनावश्यक ढंगले उछाल्नु उचित हुन्न। सुरक्षाको विषयलाई हामीले ठीकै ढंगले उठाउनु पर्छ।‘उनले भने, ‘विदेशी सेना इन्भेड गर्न वा कब्जा गर्न आएको हैन।‘
प्रधानमन्त्रीले नेपालले पनि विदेश भ्रमणमा जाँदा सुरक्षाकर्मी लिएर जाने गरेको बताए। ‘सुरक्षा गच्छे अनुसार हामी पनि बाहिर जाँदा सेनालाई युनिफर्ममा लिएर गएका हुन्छौँ। गैर युनिफर्ममा लिएर गएका हुन्छौँ। यो स्वभाविक कुरा हो।‘
५ सय र हजारका नोटको प्रश्न अनुत्तरित
सांसद राजेन्द्रकुमार केसीले भारतीय प्रधानमन्त्रीसित भएको वान टु वान वार्तामा भारतले अयोग्य घोषणा गरेपछि नेपालमा रहेका ५ सय र हजारका भारतीय नोट साट्ने बारे कुरा भएको कि नभएको भन्ने प्रश्न सोधेका थिए। यो प्रश्नको जवाफ भने प्रधानमन्त्रीले दिएनन्।कुन रेल पहिला आउने?
त्यस्तै सांसद महेन्द्रराय यादवले वीरंगज काठमाडौँ रेल कहिलेसम्म नेपाल आउने भनी प्रश्न सोधेका थिए। चीनले पनि रेल ल्याउन लागेकोमा चीन र भारत कुन रेल पहिला आउने भनी सोधेको प्रश्नको जवाफ पनि प्रधानमन्त्रीले दिएनन्।सार्कको विकल्प बिम्स्टेक नभएको जिकिर प्रधानमन्त्रीले गरे। सार्कको छुट्टै महत्व भएको र बिमस्टेकको महत्व छुटै भएको बताउँदै प्रधानमन्त्रीले बिम्स्टेक वातावरणीय विषयसँग पनि जोडिएको दाबी गरे। सार्कलाई अगाडि बढाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी गरेको प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराए।