PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बिम्स्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यासको निर्णय भएको हैन : परराष्ट्र मन्त्री ज्ञवाली



बिम्स्टेक सम्मेलनमा संयुक्त सैन्य अभ्यासको निर्णय भएको हैन : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं: परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबिच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको दाबी गरेका छन्। बिम्स्टेक सदस्य राष्ट्रहरूबिच आगामी साता भारतको गोवामा हुने संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उठिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा यस्तो दाबी गरेका हुन्। 

‘हो भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको थियो। तर यससम्बन्धी कुनै पनि निर्णय बिम्स्टेकको शिखर सम्मेलनमा भएको छैन,’ बैठकमा सांसदहरूले संयुक्त सैन्य अभ्यास सम्बन्धी प्रश्न उठाएपछि उनले भने। 

परराष्ट्र मन्त्री ज्ञवालीले बिम्स्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विकल्प नरहेकोसमेत स्पष्ट पारे। ‘सार्कलाई सक्रिय बनाउन नेपाल प्रतिबद्ध छ। बिम्स्टेकलाई सार्कको विकल्पको रूपमा लिनुहुन्न भन्ने मान्यतामा सरकार दृढ छ,’ उनले भने। 

परराष्ट्र मन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिए। बिमस्टेक शिखर सम्मेलनको १८ बुँदे काठमाडौं घोषणापत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरूबिच श्रीलंकामा बैठक बस्ने तयारी भइरहेको उनले जानकारी दिए। 

बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिम्स्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रूपमा लिने गल्ती नगर्न मन्त्री ज्ञवालीको गम्भीर ध्यानाकर्षण गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell