PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

महत्वपूर्ण खेलमा कप्तान बेन्चमा : नियती हो कि रणनीति?



गोविन्दराज नेपाल

महत्वपूर्ण खेलमा कप्तान बेन्चमा : नियती हो कि रणनीति?

काठमाडौं : उपाधि जितेको हिसाबले भन्ने हो भने विराज महर्जन नेपालको सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले लगातार तीन प्रतियोगिता जित्दै उपाधिमा ह्याट्रिक नै गर्‍यो।

उनै विराजले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेल्दै ऐतिहासिक उपलब्धी हात पारे। बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत भुटान विरुद्धको दोस्रो खेलपछि विराज नेपालको लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बने।

पाकिस्तान विरुद्धको पहिलो खेलमा विराजले नेपालको कप्तानी सम्हाल्दै पूर्व कप्तान राजु शाक्यको नाममा रहेको ६८ खेलको कीर्तिमानी बराबरी गरे।

सबैको अपेक्षा थियो विराटजले भुटान विरुद्धको खेलमा पनि पहिलो रोजाईँमै खेल्नेछन् र नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन्। तर सबैको अपेक्षा त्यति चाँडै पूरा भएन र विराजले समेत मैदान प्रवेश गर्न ८४ मिनेटसम्म कुर्नुपर्‍यो।

विराज पहिलो रोजाइमा नपरेपछि केहीले अचम्म नमानेका पनि होइनन् तर पहिलो रोजाईमा कसलाई खेलाउने भन्ने अन्तिम निर्णय प्रशिक्षकको हातमा हुन्छ। 

नेपालको प्रशिक्षकमा बालगोपाल महर्जन थिए। बालगोपाल तिनै प्रशिक्षक हुन् जसको प्रशिक्षणमा नेपालले २०१५ मा बंगलादेशमै बंगबन्धु गोल्डकपको उपाधि जित्दै नेपालको २३ वर्ष लामो उपाधिविहीन यात्रा अन्त्य गराएका थिए र त्यस टिमको कप्तानी पनि विराजले नै सम्हालेका थिए।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा दिनेश राजवंशीको स्थानमा ८४औँ मिनेटमा मैदान प्रवेश गरेपछि विराजले औपचारिक रुपमा नेपालका लागि सर्वाधिक ६९ खेल खेल्ने कीर्तिमान बनाए। उमेरले तीन दशक छोएका विराज आफैँका लागि समेत यो ठूलो उपलब्धी हो।

अन्य खेलाडीको तुलनामा विराजले छोटो समयमै यो उपलब्धी हात पारे। सन् २००८ मा पाकिस्तान विरुद्ध पोखरामा नेपालका लागि डेब्यु गरेका उनले २०१५ मा भारतमा भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि ५० औँ क्याप जितेका थिए।

विराज नेपाली टोलीका अलराउण्डर खेलाडी नै हुन् भन्दा फरक नपर्ला। गोलकिपर भन्दा अगाडिको डिफेण्स लाइनको जुनसुकै स्थानमा पनि खेल्ने विराज अगाडि बढेर खेल्न समेत माहिर छन्। 

तै पनि ऐतिहासिक मानिएको खेलमा भने विराजले पहिलो रोजाईमा खेल्न पाएनन् भलै उनले केही मिनेट खेलेर कीर्तिमान बनाए। उनका सच्चा फ्यानहरुका लागि पनि यो केही अनौठो नै थियो। 

तर, विराजमात्र त्यस्ता खेलाडी होइनन् जो महत्वपूर्ण खेलमा बेन्चमा बस्नुपर्‍यो वा अन्तिम समयमा मात्र मैदानमा छिर्ने मौका पाए। यसअघिका अधिकांश कप्तानका हकमा यस्तै अवस्था आएको उदाहरण छ।

धेरै अगाडि पनि जानुपर्दैछ। एसिया कप छनोट अन्तर्गत गत मार्चमा घरेलु भूमिमै भएको फिलिपिन्स विरुद्धको खेलमा नेपालको सिनियर खेलाडी अनिल गुरुङले पनि अन्तिम १० मिनेट खेल्दै आफ्नो ५०औँ खेल पूरा गरे।

अनिलले उक्त खेलअघि नै सन्यासको घोषणा गरिसकेकाले पनि उनको लागि घरेलु मैदानमै भएको उक्त खेल महत्वपूर्ण थियो। खेल अन्त्यतिर पुगिसकेको र नेपाल हार नजिक पुगेकाले पनि कतै अनिलले त्यो उपलब्धि गुमाउने त होइनन् भन्ने शंका पनि फ्यानमाझ नउठेको होइन। तर, जापानी प्रशिक्षक योतुको कोजीले अन्तिम १० मिनेट अनिललाई मैदान पठाए जुन अनिलको लागि कोसेढुङ्गा सावित भयो र अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए।

उनै अनिललाई २०१५ को साफको लागि तत्कालिन बेल्जियन प्रशिक्षक प्याट्रिक असेम्सले कप्तान चयन गरेका थिए। अनि विराज महर्जन र रोहित चन्दलाई उनको डेपुटी तोकेका थिए। भारतमा भएको साफको पहिलो खेलमा श्रीलंका विरुद्ध अनिलले कप्तानी गरेका थिए तर भारत विरुद्धको दोस्रो खेलमा उनी पहिलो रोजाईमा परेनन् र कप्तानी आर्मब्याण्ड विराजले लगाए। त्यहीँबाट विराजले नेपालको लागि नेतृत्व गर्न थालेका हुन्। 
विराजको कप्तानीमा त्यसपछि नेपालले बंगबन्धु गोल्डकप र भारतमा भएको साग गेम्समा उपाधि जित्यो। एएफसी सोलिडारीटी कपमा पनि अनिल नेपालको कप्तान रहे पनि विराजले नै अधिकांश खेलमा नेपालको कप्तानी गरे। त्यसबेला नेपालका कप्तान अनिल वा अरु कोही वैकल्पिक रही मैदान प्रवेश गर्दा आर्मब्याण्ड विराजले नै लगाएको विषयले पनि बहस सिर्जना गरेको थियो।

त्यसअघि साफ च्याम्पियनसिपमै राकेश श्रेष्ठको हकमा पनि यस्तै भएको थियो। बंगलादेशमा भएको २००९ को साफ नेपालको कप्तान राकेश श्रेष्ठ थिए। राकेश ५० औँ खेलको नजिक थिए। समूह चरणको अन्तिम खेलमा अफगानिस्तान विरुद्ध खेले उनको ५० औं खेल पूरा हुने थियो तर राकेश अन्तिम दुई मिनेट मात्र मैदान प्रवेश गरे र आफ्नो ५०औं खेल पूरा गरे।

'मैले २ मिनेट मात्र खेलेँ। मलाई थाहा थिएन। पछि पत्रकारले डाटा राखेको रै'छ। ५० म्याच पुग्यो भन्दा खुशी लाग्छ नै। रेकर्ड राख्दा खुशी लाछ। मान्छेले जे भनेपछि खेल्न गाह्रो हुन्छ। त्यसपनि राज्यको लागि ५०औँ खेल खेल्दा खुशी लाग्छ,' राकेशले पहिलोपोस्टसँग भने। 

त्यसपछि राकेशले सन्यास घोषणा नै गरे। नयाँ खेलाडीहरु पनि आइरहेको र प्रशिक्षक कृष्ण थापाकै सल्लाहमा आफू बेन्चमा बसेको र अन्तिम दुई मिनेटमात्र मैदान बिताएका राकेशले पहिलोपोस्टसँग बताए। 

'रोहित चन्द, विराज, रविन जस्ता जस्ता नयाँ राम्रो केटाहरु आइराथ्यो। कृष्ण थापा प्रशिक्षक हुनुहन्थ्यो। उहाँले मसँग सल्लाह गरेर के गर्ने भन्नुभाथ्यो। त्यसपछि साफ च्याम्पियनसिप देशको प्रतिष्ठाको कुरा छ। सम्पूर्ण देश खेलप्रेमी राज्यले नै नियालिरहेको गेममा म खेल्नु र नखेल्नुले ठूलो कुरा होइन। सबभन्दा ठूला कुरा भनेको देशले टाइटल जित्नु हो। त्यसैले सल्लाहमै बेन्चमा बसेको थिएँ। अनि मैले नै कृष्ण सरलाई परेको बेला म मैदान जान्छु अहिलेसम्म खेलिहालेँ भने। मैले नै भनेर नै सरले नै म पछाडि बसेको हो। पछि अन्तिम दुई मिनेट खेलेर ५०औँ खेल पूरा गरेँ,' राकेशले पुरानो अनुभव सुनाए। 

डेब्युदेखि लगातार ३४ खेल खेलेका राकेशले ४८ खेलमा परिवर्तन नभई खेलेका थिए।

राकेशको स्थान सागर थापाले आर्मब्याण्ड लगाउँदै नेपालको कप्तानी यात्रा त्यही साफ च्याम्पियनसिपबाट सुरु गरेका थिए। पछि म्याचफिक्सिङ काण्डमा परेपछि उनको फुटबल यात्रा नै सकियो।

राकेश अघि कप्तानको रुपमा बेन्चमा बस्ने खेलाडीहरु अरु पनि थिए। नेपाली म्याराडोनाका नामले चर्चित मणि शाहदेखि नेपालको चर्चित गोलकिपर उपेन्द्रमान सिंह, हरि खड्कासम्म खेलाडीहरुले यस्तो परिस्थितिको सामना गरे।

सन् २००५ मा पाकिस्तानको कराँचीमा भएको साफ च्याम्पियनसिपमा उपेन्द्र मान सिंह सन्यास फिर्ता लिएर टिमको कप्तानी गर्दै पाकिस्तान पुगेका थिए। तर, त्यहाँ उनले एउटै खेल खेल्न पाएनन्।

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष रहेका उपेन्द्रमान त्यो घटना सम्झँदै भन्छन्, 'म सन्यास फिर्ता गरेर पनि पाकिस्तान गएको थिएँ। तर त्यहाँ खेल्न पाइन।'

उनको बुझाइमा नेपालमा सिनियर खेलाडीहरुलाई कप्तानको जिम्मेवारी दिने चलन रहेको र त्यसले गर्दा पनि खेल्न नपाएको हो।

'नेपालको कल्चर के छ भने करियरको अन्त्यमा पुगेका सिनियर खेलाडीहरुलाई कप्तानको जिम्मेवारी दिइन्छ। त्यो उनीहरुको लागि रेस्पेक्ट पनि हो। त्यसैले गर्दा सबैले खेल्न पाउँछन् भन्ने छैन,' सिंहले पहिलोपोस्टसँग भने। अब विदेशमा चाँही बेस्ट प्लेअरलाई कप्तानको जिम्मेवारी दिइन्छ तर नेपालमा भने पहिलेदेखि नै सिनियर प्लेअरलाई त्यो जिम्मेवारी दिने र उनीहरुलाई पनि सेफ ल्याण्डिङ गराउने चलन छ।'

अहिले विराजको हकमा भने परिस्थति त्यस्तै हो त? सिंह भन्छन्,  'पहिलो खेलमा विराजको केही मिस्टेकहरु पनि भएको थियो। राम्रो भइरहेको थिएन। दोस्रो खेलमा टिम म्यानेमेन्टले कन्डिसन हेरेर पहिलो रोजाई छानेको जस्तो लाग्छ। फेरि त्यो पोजिसनमा खेल्ने नयाँ खेलाडीहरु पनि आइरहेका छन्। त्यसैले यस्तो हुनु स्वभाविक हो।'

सिंहले विराजको अन्तर्राष्ट्रिय करियर पनि अब धेरै नरहेको बताए। 'एउटा खेलाडीको लागि कीर्तिमान बनाउन आफैमा गौरवको विषय हो। नेपालको लागि धेरै खेल खेल्ने को भन्दा अब विराजको नाम आउँछ। उनले ६९ खेल खेले भनेर। तर, नयाँ खेलाडीहरु आइरहेको अवस्थामा विराजको लागि पनि आफ्नो प्रदर्शन कायम राख्न चुनौती हुन्छ,' उनले भने। घरेलु फुटबलमा भने विराजले अझै केही समय खेल्ने सिंहको भनाइ छ।

तर, फुटबल विज्ञहरु भने कप्तानलाई बेन्च राख्नु त्यति उचित नहुने तर्क राख्छन्। विज्ञको नजरमा भने महत्वपूर्ण खेलमा नियमित कप्तानले नै नेतृत्व गर्नुपर्छ र त्यस्तो खेलमा झनै कप्तानको भूमिका महत्वपूर्ण हुन्छ।

विराज महर्जन भर्खरै ३० वर्षका भए। अन्तर्राष्ट्रिय फुटबलमा यो उमेर भनेको फुटबल खेल्ने सबैभन्दा राम्रो उमेर हो। तर, नेपालमा भने यसपछि खेलाडीको करियर ओरालो लाग्ने गर्छ। एक दशक राष्ट्रिय टिममा बिताउँदा विराजले कुनै समस्या सामाना नगरी नै नेपालको लागि कीर्तिमानी ६९ खेल खेले। उनै अझै खेल्न सक्छन् भन्ने उनको खेलले देखाउँछ। तर, अन्य कप्तानहरु जस्तै विराजको हकमा पनि त्यस्तै हुन खोजेको त होइन? त्यसका लागि भने आगामी दिनका खेलहरु पर्खनुपर्ने हुन्छ। विराज आफैँले भने अहिले तत्कालै सन्यास लिने योजना बनाइनसकेको तर सेफ ल्याण्डिङ गर्ने योजनामा रहेको बताइसकेका छन्।
  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell