PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

माल्दिभ्सलाई पराजित गर्न नेपाल तयार : बालगोपाल महर्जन



माल्दिभ्सलाई पराजित गर्न नेपाल तयार : बालगोपाल महर्जन

ढाका : नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाल माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्नेमा विश्वस्त रहेको बताएका छन्। 

‘हामीसँग माल्दिभ्सलाई जित्ने आधार छ। समूह चरणका तीन खेलमा नेपालले सशक्त प्रदर्शन गरेको छ। टिममा दिन प्रतिदिन सुधार भइरहेको छ।’ प्रशिक्षक महर्जनले मंगलबार प्रि म्याच सम्मेलनमा भने, ‘खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेलेका छन्। वैकल्पिक खेलाडीले पनि राम्रो खेलिरहेको छ। त्यसैअनुसार खेल्न सके हामी माल्दिभ्सलाई पराजित गर्न सक्नेछौं।’ 

उनले माल्दिभ्सविरुद्धको भोलिको खेलमा नेपालले अहिलेसम्म हासिल गर्न नसकेको नतिजा निकाल्ने बताए। पछिल्ला दुई खेल बंगबन्धु र साग गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै साफ सुजुकी कप फरक प्रतियोगिता रहेपनि फेरि एकपटक पराजित गरेर फाइनल पुग्ने लक्ष्य रहेको महर्जनले बताए। नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–१ को तथा १२औं दक्षिण एसियाली खेलकुदमा ४–३ को जित निकालेको थियो ।  



उनले विपक्षी टोली विगतको भन्दा केही कमजोर देखिए पनि खेल्ने शैली समान रहेका कारण सचेत हुनुपर्ने बताउँदै माल्दिभ्सविरुद्ध खेलको अवस्था हेरेर रणनीति बनाउने बताए। उनले सारा नेपाली समर्थकलाई विगतमा जस्तै आजको खेलमा पनि रंगशालामै आएर समर्थन गरिदिन आग्रह गरेका छन्। 

यता नेपाली टिमका कप्तान विराज महर्जनले माल्दिभ्ससविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली टोली तयार रहेको बताएका छन्। ‘हामी माल्दिभ्सविरुद्धको खेलमा आत्मविश्वासी भएर खेल्नेछों। बढी आत्मविश्वासी भएर होइन। उनीहरु कमजोर प्रतिद्वन्दी हैन।’ कप्तान महर्जनले भने, ‘टिमले पछिल्ला खेलहरुमा निकै राम्रो खेलिरहेको छ। उनीहरुमा आत्मविश्वास बढिरहेको छ। यो टिमको लागि खुशीको कुरा हो। हामी जितकै लागि खेल्नेछौं।’ उनले सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेर सारा नेपालीलाई खुशी दिने पनि बताए। 

यस्तै, माल्दिभ्सका प्रशिक्षक पिटरले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्वन्दी रहेको बताउँदै नेपालविरुद्ध सचेत भएर खेल्ने बताएका छन्। पिटरले  भने ‘नेपाल बलियो प्रतिद्वन्दी हो। उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ। तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell