काठमाडौं : केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गर्दै आएको छ। २०७३ मा त अख्तियार दुरुपायोग अनुसन्धान आयोगले पार्टी प्यालेसमा ५० जनाभन्दा बढी जम्मा भएर दर खाने तथा तीज कार्यक्रम गर्न नपाइने सूचना नै निकाल्यो। तर, सरकारीको निर्देशन अघिल्ला वर्ष झै यसपाला पनि बहिस्कृत भयो। महिनाभरि नै तीजको दरमा झुम्यो पार्टी प्यालेस।
शहरका पार्टी प्यालेसहरुले २ दिनको तीजलाई ‘तीज सिजन’कै रुपमा स्थापित गरिसकेको छ। बेसिजनबाट गुज्रिरहेका पार्टी प्यालेस एवं रेष्टुरेन्टका लागि तीजको दर कार्यक्रम खडेरीको झरी हुनु स्वभाविका हो। अझ त्यसमाथि तीजमा जम्ने गीत र त्यसको भिडियो छायांकनसमेत पार्टी प्यालेसमा हुँदा फाइदा नहुने कुरै भएन।
एसियन पार्टी प्यालेस सुकेधाराका व्यवस्थापक विनोद गौतम भन्छन्, ’अफ सिजनमा तीजले केही हदमा फाइदा पुर्याएको छ।'
उनका अनुसार एसियन पार्टी प्यालेसमा यो वर्ष चारवटा गीतको भिडियो खिचियो। बेसिजन भएकाले उनले न्यूनतम १५ हजारमा ठाउँ भाडामा दिने गरेको बताए। ‘एकदिनको लागि हो। पानी बत्ती र ट्वाइलेट हो, प्रयोग हुने। त्यसैले धेरै चार्ज गर्दैनौं,’ उनले भने। रेष्टुरेन्टको व्यापारमा केही फाइदा हुने भएकै कारण पनि गीत छायांकनका लागि हल दिने गरेका छन् व्यवसायीले। गौतमले भने, 'व्यापारिक रुपमा हामीलाई घाटा छैन।'
गत वर्ष उक्त पार्टी हलमा १७ तीज गीतको भिडियो छायांकन भएका थिए।
महाराजगञ्जको रोयल पार्टी भेन्युमा पनि तीजका गीतहरु खिचिए। बैंक्वेट व्यवस्थापक ज्ञानु लामाले गीत छायांकनको लागि हल भाडा घण्टाको हिसाबमा लिने बताए। भने, 'प्राय एकदिन भरको लागि भाडामा दिन्छन्। २० हजार न्यूनतम् लिने गरेका छौं।'
उनका अनुसार सुटिङ साथै दरका कारण साउन भदौको व्यापारमा फाइदा गरेको छ। मेनुअनुसार प्रति प्लेट ७ सयदेखि १५ सयसम्मको अर्डर हुने गर्छ सुटिङको समयमा। कम्तिमा ५० जनादेखि माथिको सहभागिता रहने तीज विशेष सांगीतिका कार्यक्रमहरु हुन्छन्।
भुवन राना, राजिता थापा र अमन सुर्खेतीको स्वर रहेको ‘रहर उर्लेर आयो’ बोलको तीज गीतमा त छायांकन भएको पार्टी प्यालेसको नाम र नम्बर नै भिडियोमा देखाइन्छ। बसुन्धरास्थित दियालो फुडल्यान्डमा उक्त गीतको सुटिङ भएको हो।
दियालो फुडल्यान्ड ३ वर्षयता छायांकनकै लागि प्याक हुने गरेको छ तीजको समयमा। गत साल करिब ३१ गीत छायांकन भएको उक्त पार्टी प्यालेसमा यस वर्ष पनि एक दर्जन बढी गीत सुट भयो। हलको एक दिनको चार्ज १५ हजारदेखि २० हजारसम्म लिने व्यवस्थापक जितबहादुर श्रेष्ठले जानकारी दिए। ‘केही नहुनुभन्दा प्रयोजनमा प्रयोग हुनु नराम्रो होइन,’ उनले भने।
‘कन्या कुमार’ बोलको कमेडी तीज गीत ल्याएका गायक तेजश रेग्मीका अनुसार मौसमका कारण तीज गीत छायांकनको पहिलो रोजाइ पार्टी प्यालेस हुन थालेको हो। भन्छन्, ’घाम पानी केहीको पीर हुन्न। पानी शौचालयको व्यवस्थापन हुन्छ। त्यसैले पनि इनडोर सुट ठीक।'
उनले आउटडोरभन्दाल केही बढी खर्च भए पनि झन्झट नहुनुले गर्दा हलमा सेट बनाउनु उचित हुने तर्क राखे। तेजशका अनुसार एकदिनको लागि हलको २५ हजारसम्म तिर्नुपर्ने हुन्छ।
‘धेरै समय नलाग्ने भएकाले एकदिनमै २/३ वटा भिडियो छायांकन गर्छौं जुन बाहिर सम्भव हुन्न,’ उनले भने। उनका अनुसार प्याकेजमा म्युजिक भिडियो बनाउनेहरुको रोजाइ पार्टी प्यालेस हुने गरेको हो। ‘जोखिम र सुविधा दुवै हेरेर निर्णय लिइन्छ,’ उनले भने।
प्याकेज सिस्टमबारे गायिका कला पंगेनी भन्छिन्, 'यस वर्ष खर्च बढेर पनि एउटै हलमा ३/४ वटासम्म गीत छायांकन भएका छन्।‘
उनले दिएको जानकारी अनुसार पोहोरसम्म ४५/ ५५ हजारको प्याकेज थिए भने यो वर्षदेखि तीज गीतको भिडियो खर्च ६५/ ७५ हजार बनाइएको छ।
नृत्य निर्देशक शंकर बिसीले पहिलोपोस्टसँगको कुराकानीमा खुला चौरको तुलनामा पार्टी प्यालेस ठीक मानिनु बारे भने – 'हलभित्रको सजावट आकर्षक देखिन्छ। फेरि वर्षा याममा तीज गीतको लहर चल्नुका कारण पनि हल भित्रकै सेट सहज हुने हो।'
गत वर्ष उनले ७५ वटा तीज गीतमा नृत्य निर्देशन गरेका थिए। यो वर्ष भने उनी अमेरिकामा छन्।
गायक पशुपति शर्माले पनि मौसमका कारण आफ्ना गीतहरु बाहिर छायांकन नगरिने बताए। 'बजेट थोरै बढी छुट्टाउन परे पनि छायांकन मजाले सक्काउन पाइन्छ,' उनी भन्छन्।
गायिका अनिता चलाउनेले पनि धुलो धुँवादेखि बर्खाको हिलोरहित वातावरणमा गीत छायांकनका लागि पार्टी प्यालेस सही ठाउँ हुने बताइन्।
गीति भिडियो सुटिङदेखि तीज विशेष सांगीतिक कार्यक्रम र दरका लागि पार्टी प्यालेस सजिलो उपाय बनेको छ। एक महिना अघिदेखि उक्त कार्यक्रम हुने रोयल पार्टी भेन्युका ज्ञानु लामाले बताए। ‘तीजका १० देखि १५ वटा दरका कार्यक्रम आयोजना हुन्छन्। एउटा समूहले खाना खाजाको ७ देखि १२/१५ सय रुपैयाँसम्म प्रतिप्लेट खर्च गर्ने गरेका छन्। विवाहको सिजन नहुँदा यस्तै कार्यक्रमहरुले हामीलाई फाइदा भइरहेको छ,' उनी भन्छन्।