PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एन्फा र एपीवानबीचको सम्झौता रद्द, रामसार मिडियासँग ३ वर्षको लागि नयाँ सम्झौता



गोविन्दराज नेपाल

एन्फा र एपीवानबीचको सम्झौता रद्द, रामसार मिडियासँग ३ वर्षको लागि नयाँ सम्झौता

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) र एवीपान एचडी टिभीबीच भएको प्रायोजन सम्झौता रद्द भएको छ। एन्फा प्रवक्ता किरण राईले दुई पक्षबीच समझदारीमै सहमति रद्द गरिएको पहिलोपोस्टलाई जानकारी दिए।

'उहाँहरुको सहमतिमा हामीले पुरानो सम्झौता तोडेका हौँ। अघिल्लो कार्यसमितिले गरेको निर्णय अलि न्यायोचित लागेन। १ करोड ७५ लाखमा टिभी राइटदेखि मार्केटिङ सबै अधिकार दिएको थियो। सबै टुर्नामेन्टको लागि नै त्यतिमा सम्झौता भएकोले हामीलाई अलि गाह्रो परेको थियो। त्यसैले यो सम्झौता रद्द गरेका हौँ,' राईले भने

यसअघिको कार्यमसितिले ब्रोडकास्टिङ राइटसहित मार्केटिङ, विज्ञापनलगायत सबै अधिकार एपी वानलाई दिँदै २०७४ जेठ १८ गते ३ वर्षको लागि वार्षिक १ करोड ७५ लाखमा सम्झौता गरेको थियो।

एवीवानसँग सम्झौता तोडेसँगै एन्फाले लिगको लागि नयाँ सम्झौतासमेत गरेको छ। 'हामीले ए डिभिजनका लागि मात्रै भनेर नयाँ सम्झौता गरिसकेका छौँ,' राईले भने।

'ए डिभिजन लिगको लागि मात्र हामीले रामसार मिडियासँग सम्झौता गरिसकेका छौँ। रामसार मिडियाले लिगको मार्केटिङ गर्नेछ।'


एन्फाले रामसार मिडिया प्रालिसँग पनि लिगको प्रायोजनका लागि ३ वर्षको सम्झौता गरेको प्रवक्ता राईले जानकारी दिए।

'हामीले ३ वर्षका लागि रामसारसँग बिहीवार सम्झौता गरेका हौँ। जुन लिगको लागि मात्र हुनेछ। यस वर्षमा रामसारले ए डिभिजन लिगको प्रायोजन वापत १ करोड प्रदान गर्नेछ। रामसारले एन्फालाई दोस्रो वर्ष डेढ करोड र तेस्रो वर्ष २ करोड दिनेछ। यस्तै लिगको उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने ५ वटा बाइकको १ लाख एन्फाले बेहोर्नेछ भने बाँकी रकम रामसारले उपलब्ध गराउनेछ।'

रामसार मिडियासँग मार्केटिङ र स्पोनसिरपको मात्र सम्झौता भएकोले एन्फाले ए डिभिजन लिगको लागि नयाँ ब्रोडकास्ट पार्टनरसँग कुरा गरिरहेको छ। 'हामीले यसबारे अहिले निर्णय गरिसकेका छैनौँ। यसबारे पनि छिट्टै सम्झौता हुनेछ।'

झण्डै ५ वर्षदेखि रोकिएको ए डिभिजन लिग नयाँ कार्यसमिति आएपछि यही असोज १४ गतेदेखि सुरु हुँदैछ। ए डिभिजनका १४ क्लबले लिगमा प्रतिस्पर्धा गर्दैछन्। तर यस पटक नन रेलिगेसन लिग हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell