PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पाँच वर्षपछि असोज १३ बाट ए डिभिजन लिग हुने पक्का, विजेतालाई ५० लाख पुरस्कार



गोविन्दराज नेपाल

पाँच वर्षपछि असोज १३ बाट ए डिभिजन लिग हुने पक्का, विजेतालाई ५० लाख पुरस्कार

काठमाडौं : करिब ५ वर्षपछि शहीद स्मारक ए डिभिजन लिग हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने यस प्रतियोगितामा विजेता टिमले ५० लाख रुपैयाँ नगदसहित ट्रफी उचाल्ने छ।

अघिल्लो पटकको तुलनामा यस पटक विजेताले पाउने रकम २५ लाखले कम हो। एन्फाले यस पटक नगद पुरस्कार समायोजन गर्दै शीर्ष ६ क्लबलाई पुरस्कार दिने र तयारी रकममा पनि वृद्धि गरेको जनाएको छ।

यस्तै लिगमा दोस्रो हुने टिमले ३५ लाख रुपैयाँ पाउने एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। तेस्रो हुने टिमले २५ लाख रुपैयाँ हात पार्नेछ। चौथोले १५, पाचौँले ७ र छैटौ हुनेले ५ लाख रुपैयाँ पाउनेछ।

प्रतियोगितामा ए डिभिजनमा रहेका १४ वटा क्लबले भाग लिनेछन्। एन्फाले हरेक टिमलाई २०/२० लाख रुपैयाँ उपलब्ध गराउनेछ। 

दशरथ रंगशाला पुनर्निर्माण भइरहेकाले लिगका खेलहरु एन्फा कम्प्लेक्स सात दोवाटो र सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछ। असोज १३ गतेबाट सुरु हुने प्रतियोगिता जित्ने टिमले सन् २०१९ मा हुने एएफसी एसियन कपमा सहभागी हुन पाउनेछ।

प्रतियोगिताका प्रत्येक म्याचमा जित हासिल गर्ने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ भने बराबरी भए दुवै टिमले १५-१५ हजार हात पार्नेछन्। साथै हरेक प्रतियोगितमा म्यान अफ दी म्याच घोषणा गरिने छ जसलाई १० हजार रुपैयाँले प्रोत्साहित गरिनेछ। 

प्रतियोगितमा फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ। यस्तै विभिन्न विधामा उत्कृष्ट हुने ५ जनाले एक-एक थान मोटरबाइक पाउनेछन्।

२०७० साल फागुनमा सम्पनन्न पछिल्लो लिग विजेता मनाङ मर्स्याङ्दी क्लब हो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell