PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

साढे चार वर्षपछि हुन लागेको ए डिभिजन लिगको ११ विशेषता



गोविन्दराज नेपाल

साढे चार वर्षपछि हुन लागेको ए डिभिजन लिगको ११ विशेषता

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ नेतृत्व आएपछि झण्डै पाँच वर्षपछि नेपालमा ए डिभिजन लिग हुँदैछ।

यो लिग पहिलो पटक रेलिगेसनविनाको लिग हुनेछ। आइतवार एन्फाले पत्रकार सम्मेलन गर्दै असोजमा हुने लिगको बारेमा जानकारी गराएको हो।

झण्डै पाँच वर्षपछि हुन लागेको लिगको ११ विशेषता यस्ता छन्।

 

ए डिभिजन लिग कहिले हुँदैछ?

२०७० सालपछि पहिलो पटक ए डिभिजन लिग हुन लागेको हो। एन्फाले यसअघि नै असोज १३ गते देखि ए डिभिजन लिग सुरु गर्ने घोषणा गरिसकेको छ। झण्डै चार महिना सञ्चालन हुने लिग पुस अन्तिमसम्म चल्नेछ। पछिल्लो पटक सन् २०१३/१४ (२०७० साल) मा भएको ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो। २०७० साल फागुन १८ गते लिग सम्पन्न भएको थियो। त्यसको ठीक ४ वर्ष ६ महिना २५ दिनपछि ए डिभिजन लिग सुरु हुँदैछ।

 

कति वटा क्लबले खेल्दैछन्?

अहिले ए डिभिजन लिगमा रहेका १४ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नैछन्। जसमा तीन वटा विभागीय क्लब छन् भने बाँकी अन्य क्लबहरु छन्। सबै १४ वटा क्लब उपत्यका भित्रकै हुन्।

 

विजेतालाई ५० लाख पुरस्कार

ए डिभिजन लिग जित्ने क्लबले लिग ट्रफीका साथै नगद ५० लाख पुरस्कार हात पार्नेछन्। यो अघिल्लो पटकको विजेताले पाएको भन्दा २५ लाख कम हो।

यस्तै उपविजेताले ३५ लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन्। यसैगरी चौथोदेखि छैटौँसम्म हुनेले १५ लाख, ७ लाख र ५ लाख हात पार्नेछन्।

यस पटक किन विजेताको पुरस्कार रकम घटाइयो भन्ने प्रश्नमा एन्फा प्रवक्ता किरण राईले यस पटक समानुपातिक पुरस्कार राखेको बताए। उनले सबै क्लबलाई सस्टेन गराउने योजना अनुसार विजेताको पुरस्कार रकम घटाएको तर सबैको हिसाब गर्दा यो झन् बढी पुरस्कार भएको बताए।

एन्फाले सहभागी १४ वटै क्लबलाई तयारी स्वरुप २०/२० लाख नगद दिने बताएको छ। यस्तै प्रत्येक खेल जित्ने क्लबले ५० हजार नगद पाउनेछन् भने बराबरी खेलेमा दुवै क्लबले १५-१५ हजार हात पार्नेछन्।

यसबाहेक प्रतियोगिता अवधिभर अनुशासित भई खेल्ने एक टिमलाई फेयर प्ले टिम घोषित गर्दै नगद १ लाख प्रदान गरिनेछ।

विभिन्न पाँच विभामा उत्कृष्ट हुने एक-एक थान मोटरबाइक पाउनेछन्।

लिगको अनुमानित बजेट ५ करोड ८० लाख रहेको एन्फाले जनाएको छ। फिफा फरवार्ड प्रोग्राम अन्तर्गत ए, बी र सी डिभिजन लिग सञ्चालन गर्न फिफाबाट ६ लाख ६८ हजार अमेरिकी डलर सहयोग प्राप्त भएको समेत एन्फाले जनाएको छ।
 

कहाँ हुनेछ लिगका खेल?

नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको हालत निकै दयनीय छ। त्यसमा नेपाली दर्शकले फुटबल हेर्न नपाएको पनि वर्षौँ भइसक्यो। अहिले रंगशालाको अधिकांश भाग भत्काइएको छ र पूनर्निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ। त्यसैले एन्फाले आफ्नै मुख्यालयमा रहेको एस्ट्रो टर्फ र सशस्त्र प्रहरीको हलचोक मैदानमा लिगका खेलहरु सञ्चालन गर्ने जनाएको छ।

 

रेलिगेसन हुँदैन तर अंक घट्नेछ

नेपालको लिग इतिहासमै पहिलो पटक नन रेलिगेसन लिग हुँदैछ। यस पटक १४ वटै क्लबले च्याम्पियन हुन प्रतिस्पर्धा गर्दैछन् तर घटुवा होला भनेर कुनै क्लबले डर मान्नु पर्दैन। नेपालको फुटबल माहोल सिर्जना गर्न यस पटक नन रेलिगेसन लिग गर्नुपरेको यसअघि नै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताइसकेका छन्।

तर अन्तिम २ स्थानमा रहने अर्थात् १३ औँ र १४ औँ हुने क्लबको अंक अर्को वर्ष हुने लिगमा घटाइनेछ। यस्तै लिगका लागि टिम तयारी खर्च वापत पाउने रकममा क्रमश: २ लाख र ३ लाख समेत घटाइनेछ।

१३ औँ स्थानमा रहने क्लबको एक र १४ औँ स्थानको रहने क्लबको दुई अंक अर्को वर्ष लिग हुँदा घट्नेछ। यसअघि चितवनमा भएको एन्फाको विशेष साधारण सभाले अन्तिम ३ स्थानमा रहने क्लबको अंक घट्ने जनाएको थियो। तर, आइतवारको पत्रकार सम्मेलनमा दिइएको प्रेस विज्ञप्तिमा भने दुई क्लबको मात्र अंक घट्ने उल्लेख छ। साधारणसभाको निर्णय किन उल्टाइयो? भन्ने प्रश्नमा एन्फा प्रवक्ता किरण राईले भने, 'त्यो बेला यसबारे साधारणसभामा छलफल मात्र भएको थियो, एजेन्डा थिएन। पछि कार्यसमितिको बैठकले यसबारे अन्तिम निर्णय गरेको हो।'

 

रेलिगेसन नहुँदा म्याच फिक्सिङ होला नि?

दुई सातापछि सुरु हुने ए डिभिजन लिगको लिग कमिटीको संयोजकमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा छन्। उनलै एन्फाको कार्यसमितिमा छैनन्। त्यसैले लिगलाई मर्यादित र व्यवस्थित बनाउन आफू दृढ भएर लाग्ने बताउँछन्। म्याचफिक्सिङ नहोस् भनेर नै एन्फाले अंक घटाउने सिस्टम लागू गरेको हो।

शर्माका अनुसार फिक्सिङ रोक्नका लागि एन्फाले इन्ट्रग्रिटी विभाग बनाएको र हरेक खेलको त्यसले निगरानी राख्ने बताए। यस्तै लिगका खेल हुने दुवै मैदानमा सिसी क्यामरा राखेर खेलको निगरानी समेत गरिने उनले बताए। यसबाहेक अनलाइनबाट खेल प्रत्यक्ष प्रसारण गर्ने माइकुजोसँग पनि सबै खेलको भिडियो हेर्न मिल्न एन्‍फाले जनाएको छ।

 

कति खेलाडीले खेल्छन् लिग?

ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्दा झण्डै ३०० खेलाडीले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ। एन्फाले यसपटक अनलाइनमार्फत खेलाडी रजिष्ट्रेसन गर्ने सिस्टम लागू गरेको छ। सहभागी क्लबलहरुलाई खेलाडी रजिष्ट्रेसन गर्न ६ दिनको समय थप गर्दै असोज ५ गतेसम्म खेलाडी दर्ता गरिसक्नुपर्ने बताएको छ।

एन्फाका अनुसार एउटा क्लबले कम्तीमा १८ र बढीमा ३५ खेलाडी दर्ता गर्न पाउँनेछन्। त्यसबाहेक प्रशिक्षक, व्यवस्थापक फिजियो लगायत अफिसियलहरुको नाम पनि दर्ता गर्नुपर्नेछ।

क्लबहरुलाई खेलाडी दर्ता गर्न लचिलो नीति अपनाएको एन्फा अध्यक्ष शेर्पाको भनाई छ। उनका अनुसार क्लबहरुले आफूअनुकुल खेलाडी दर्ता गर्न पाउनेछन्। कुन क्लबले कुन खेलाडी कति वर्षका लागि अनुबन्ध गरेको छ भन्ने जानकारी ५ गते पछि थाहा हुने उनले बताए।

 

विदेशी खेलाडीको व्यवस्था के छ?

यसअघि पनि नेपालको लिगमा विदेशी खेलाडीहरु खेल्दै आएका छन्। यसपटक क्लबले विदेशी खेलाडीलाई खेलाउन पाउनेछन्। एउटा क्लबले बढीमा ४ जनासम्म विदेशी खेलाडी राख्न पाउँनेछन्। तर चार विदेशी खेलाडी राख्ने क्लबले कम्तीमा एक जना खेलाडी भने दक्षिण एसियाली क्षेत्र (साफ)बाट अनिवार्य रुपमा राख्नैपर्ने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए। उनले स्वाफको साधारण सभा हुँदा यसबारे साफका सदस्य राष्ट्रहरुसँग कुरा गरेको र भारत बाहेक अन्य देश सहमत रहेको र नेपालबाटै त्यसको सुरुवात गर्न सल्लाह दिएको बताए। त्यसबेला भारतको फुटबल संघ अध्यक्षलाई भेट गर्न नपाएकोले उताबाट निर्णय आउन बाँकी रहेको समेत शेर्पाले जानकारी दिए।

 

खेल तालिका

लिगको खेल तालिका असोज ३ गते सार्वजनिक गरिने ए डिभिजन लिगका निर्देशक सन्जिव मिश्रले बताए। उनका अनुसार सहभागी १४ क्लबलाई ड्र अनुसार र्‍यान्डमली नम्बर दिइनेछ र त्यसैअनुसार ड्र हुनेछ। यसअघिको जस्तो पहिलो र अन्तिम हुनेबीच खेल खेलाइने नियम यस पटक हुनेछैन।

 

एक दिनमा कति खेल हुनेछ?

राउण्ड रिन लिग प्रणाली हनुसार हुने ए डिभिजन लिगका कूल ९१ खेल हुनेछ। लिग निर्देश मिश्रका अनुसार प्रत्येक दिन दुई खेल सञ्चालन हुनेछ। एक दिन मात्र ३ खेल खेलाइनेछ।

क्लब र खेलाडीहरुलाई कुनै असर नपरोस् भनेर हप्तामा एउटा क्लबले २/३ खेल मात्र खेल्नुपर्ने गरी खेल तालिका तय गरिने उनले बताए।

प्रत्येक राउण्ड (७ खेल) पछि खेल के कस्तो भयो भनेर लिग कमिटीको समीक्षात्मक बैठक समेत बस्ने उनले जानकारी दिए।

मिश्रका अनुसार नेपालीहरुको दुई महान चाड दशौँ तिहारको बीचमा लिगका कुनै खेल हुनेछैन। त्यस्तै यसपटक रिजर्भ डे समेत राखेर लिग खेलाइने उनले बताए।

 

बंगबन्धु गोल्डकप र लिग जुधे के हुन्छ?

ए डिभिजन लिग सेप्टेम्बर २९ तारिख देखि हुँदैछ। यस्तै डिफेण्डिङ च्याम्पियनसमेत रहेको नेपालले बंगलादेशमा अक्टोबर १ बाट सुरु हुने बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा समेत भाग लिनका लागि टिम दर्ता गरिसकेको छ। तर नेपालले पछिल्लो संस्करणको विजेता वापत आधा नगद पुरस्कार (२५ हजार डलर) अझै पाएको छैन। उक्त रकम नपाएको खण्डमा नेपालले प्रतियोगिता नखेल्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले स्पष्ट पारेका छन्। यदि सेप्टेम्बर २८ सम्म नेपालले बाँकी पुरस्कार रकम प्राप्त गरे नेपाली टोलीले प्रतियोगिता खेल्नेछ।

यस्तोमा ए डिभिजन लिगलाई असर नपर्ने गरी लिगको खेलतालिका तय गरिने र लिग र बंगबन्धु दुवै सञ्चालन हुनेगरी अगाडी बढ्ने लिग निर्देशक मिश्रले बताए। राष्ट्रिय टिमका खेलाडी नभएको क्लबको खेललाई बंगबन्धु गोल्‍डकपको बेला खेलाउन सकिने मिश्रको भनाई छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell