PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित



गोविन्दराज नेपाल

एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर : नेपाल फिलिपिन्ससँग ४-० ले पराजित

काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायर अन्तर्गत समूह 'इ' को खेलमा नेपालले खराब सुरुवात गरेको छ।

दोस्रो चरण पुग्ने लक्ष्य राखेको नेपाल घरेलु मैदानमा पहिलो खेलमै फिलिपिन्ससँग स्तब्ध भयो। पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा र आफ्नै गल्तीका कारण गोल खाँदा नेपाल फिलिपिन्ससँग ४-० ले पराजित भयो।

पहिलो हाफमा दुई गोल गरेको फिलिपिन्सले दोस्रो हाफमा पनि दुई गोल गरेको हो। फिलिपिन्सका लागि कप्तान मारियो लाजोले दुई तथा केने माइकेएला अलामो र मिकाएला भिलासिनले एक-एक गोल गरिन्।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले सुरुवातमै गोल गर्ने मौका चुकाएको थियो। १२औँ र १४औ मिनेटमा अस्मिता को प्रहार बारमा लागेर पर्कँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो।

नेपालले अवसर पाएपनि गोलमा परिणत गर्न कसिरहेको थिएन। त्यसैबेला नेपाली डिफेण्सको गल्तीको फाइदा उठाउँदै फिलिपिनो कप्तान लाजोले ४२औँ पहिलो गोल गर्दै अग्रता दिलाइन्। पहिलो हाफको इन्जुरी टाइममा लाजोले नै फिलिपिन्सको अग्रता दोब्बर पारिन्।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन भने फिलिपिन्सले दुई गोल थप्यो। माइकेएलाले ७६औँ र भिलासिनले ८२औँ मिनेटमा गोल गरेपछि फिलिपिन्स ४-० ले विजयी भयो।

जितपछि फिलिपिन्सका प्रशिक्षक जेस बर्नार्डो लान्डागानले खेल सजिलो नभएको तर आफ्ना खेलाडीहरुले कठा मेहनत गरेको कारण नतिजा आएको प्रतिक्रिया दिए।

'हाम्रो खेलाडीले प्रत्येक गोलका लागि मेहनत गरेका थिए। खेल सजिलो भने थिएन। नेपाली टिम पनि राम्रो थियो।' जितपछि दोस्रो चरण पुग्ने सम्भावना बढेको उनले बताइन्।

'हामी एक पटकमा एक खेललाई मात्र महत्व दिएर खेल्छौँ।' नेपालको पनि दोस्रो चरण पुग्ने सम्भावना रहेको र कमब्याक गर्ने सक्ने उनले बताइन्।

यता नेपालका प्रशिक्ष गंगा गुरुङले डिफेन्स र फिनिसिङमा चुक्दा हार बेहोरेको बताइन्। 'हाम्रो डिफेन्स र फिनिसिङमा एकदमै कमजोरी दियो। पहिलो गोल खाएपछि खेलाडीहरु प्रेसरमा आए। सुरुको रिदमलाई प्रेसर सिचुएसनमा कायम राख्न सकेनन्।'

'फरवार्डहरु बल झरेको ठाउँमै पुग्न सकेनन्। त्यसो भएको भए स्कोर हुन सक्थ्यो।' उनले अब बाँकी दुई खेलमा शतप्रतिशत दिएर खेल्ने र अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य रहेको बताइन्।

नेपालले दोस्रो खेलमा शुक्रवार म्यानमारसँग खेल्नेछ। आजै भएको समूह इ को अर्को खेलमा म्यानमारले मलेसियालाई ३-० ले पराजित गर्दै गतिलो सुरुवात गरेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell