PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नयाँ प्रयोगको ए डिभिजन लिग : राष्ट्रिय टिमको खेल र लिगका खेल एकैपटक



गोविन्दराज नेपाल

नयाँ प्रयोगको ए डिभिजन लिग : राष्ट्रिय टिमको खेल र लिगका खेल एकैपटक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले झण्डै पाँच वर्षपछि आयोजना गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

एन्फाले लिग सुरु हुनु दुई दिन अघि बिहिवार पत्रकार सम्मेलन गर्दै लिग सञ्चालनको लागि तयार भएको जानकारी दिएको हो। लिगको उद्घाटन खेल यही शनिवार एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुँदैछ।

देशकै फुटबल विकासको मेरुदण्ड मानिने लिगलाई एन्फाले यस पटक नयाँ प्रयोगको रुपमा गर्न लागेको छ। एन्फाले हरेक विषयलाई यसपटक नयाँ प्रयोगको रुपमा अगाडी बढाउने जनाउँदै आएको छ।

१४ क्लब सहभागी ए डिभिजन लिगबाट यस पटक कुनै पनि क्लब रेलिगेशन नहुने यसअघि नै तय भइसकेको छ। लिगकै अवधीमा राष्ट्रिय टिमले विदेशमा गएर खेल्दैछ। लिअसोज १३ मै लिगको मिति सार्वजनिक गरिसकेकाले विश्वसनियताको कारण पनि यही मितिबाट खेल सुरु गर्नुपर्ने  एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए।

यस्तै लिग विकेन्डमा गर्ने भनिए पनि अहिले एन्फाले हप्तामा एक क्लबले दुई खेल खेल्ने गरी खेल तालिका सार्वजनिक गरेको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले समय अभावकै कारण विकेन्ड लिग गर्न अझै सम्भव नभएको प्रष्ट पारे।

लिगका लागि बनाइएको लिग समितिका संयोजक विज्ञानराज शर्माले लिगको सबै तयारी लगभग पुरा भइसकेको बताए। ‘हामीले मैदानदेखि लिएर सुरक्षा व्यवस्थाकै साथै सबै तयारी पुरा गरिसकेका छौँ,´ पूर्व खेलाडी समेत रहेका शर्माले भने। उनले म्याच फिक्सिङ रोक्नका लागि एन्फाले इन्ट्रीगिटी अफिसरलाई विदेशमा ट्रेनिङ लिन पठाएको उल्लेख गर्दै सबै क्लबसँग परिचय समेत गराइसकेको बताए। ‘हामीले लिग हुने दुवै मैदानमा  सीसी क्यामेरा राख्नेछौँ। यस्तै अर्को क्यामेरा पनि हुनेछ। त्यसबाहेक माइकुसजुमा समेत लाइभ हुनेछ। यसले गर्दा प्रत्येक खेलको निरगरानी गर्न सजिलो हुनेछ।‘

राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने पक्का भएपछि ए डिभिजन लिग उद्घाटन लगत्तै प्रभावित हुनेछ।  १३ गते उद्घाटन खेल हुनेछ र १४ गते संकटा र सरस्वती युथ क्लबबीच खेल हुनेछ। त्यसपछि भने नेपालको बंगबन्धु गोल्डकपको प्रदर्शन हेरेर लिग तालिका तय गरिनेछ। एन्फा महासचिव तुलाधरले भने।

बंगबन्धुमा नेपालको समूह चरणको खेल असोज २० गते सकिनेछ। समूह चरणबाट अगाडी बढे लिग अझै धेरै समय प्रभावित हुनेछ।

तुलाधरले दशैँअघि समेसम्म दुई राउण्डको खेल गर्ने त्यसो हुन नसके एक राउण्डको खेल जसरी पनि भ्याउने योजना रहेको बताए। तुलाधरकै भनाई मान्ने हो भने नेपालले बंगबन्धुमा फाइनल सम्मको यात्रा तय गरेमा भने एन्फाले पहिलो चरणको बाँकी ५ खेल हतारमा सकाउने योजना बनाएको छ।

यसो भएमा नेपाली लिग दशैँ सुरु हुँदा सम्म चल्नेछ। दशै तिहारको बीचमा भने लिगका कुनै खेल हुने छैन।

लिग खेलेको भोलिपल्ट बंगलादेश जाने

१३ गते लिगको उद्घाटन खेल खेल्ने आर्मीका चार खेलाडी राष्ट्रिय टिममा पनि छन्। उनीहरु अघिल्लो दिन लिग खेलेर भोली पल्ट बंगलादेश जाने महासचिव तुलाधरले स्पष्ट पारे। ‘आर्मीको खेलाडीले लिग खेल्छन् अनी राष्ट्रिय टिमसँग बंगबन्धु खेल्न जान्छन्। हामीले क्लब र राष्ट्रिय टिमको लागि फरक समयमा ट्रेनिङको व्यवस्था गरेका छौँ।‘ आर्मीका विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ र भरत खवास राष्ट्रिय टिममा छन्।

एन्फाले बारम्बार लिगमा नयाँ प्रयोग गर्ने बताइरहँदा महासचिव तुलाधरले यसलाई लिगको सुरुमै नयाँ प्रयोग हुने बताए।

एन्फाले बंगबन्धु र लिग दुवैलाई बराबरी प्रथामिकतामा राखेको तुलाधरको भनाई छ।

म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही

लिग कमिटिका संयोजक शर्माले लिगमा म्याच फिक्सिङ भए ठूलै कारवाही हुने संकेत गरेका हुन्। म्याच फिक्सिङ भएको प्रमाणित भएमा के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘क्रिमिनल अफेन्स हुन्छ र पुलिस केस गरिन्छ। एएफसी र फिफाको कोड अफ कन्डक्स अनुसार कारवाही गरिनेछ। आवश्यकता अनुसार ब्यान्ड पनि गरिन सक्छ।‘ शर्माले खेलाडीहरुको र्‍यान्डम डोपिङ टेष्ट समेत हुन सक्ने जानकारी दिए।

 

४ जनै विदेशी खेलाडी खेल्न पाउँछ

एन्फाले विभागीय क्लब बाहेक अन्य क्लबले लिगका लागि ४ जना विदेशी खेलाडी अनुबन्ध गर्न सक्ने यसअघि नै जानकारी गराएको थियो। यदि क्लबले ४ जना विदेशी खेलाडी अनुबन्ध थर्न चाहेमा एक खेलाडी दक्षिण एसियाको अनिवार्य हुनैपर्ने जनाएको छ।

त्यसरी ४ जनै विदेशी खेलाडी राख्ने क्लबले एकै पटक ती सबै खेलाडी खेलाउन पाउने एन्फा महासचिव तुलाधरले बताए। ‘४ जना विदेशी खेलाडी एकै पटक खेल्न पाउँछ। त्यसमा एकजना दक्षिण एसियाको हुनैपर्छ। ४ जना विदेशी खेलाडी खेल्दा नेपाली खेलाडीमाथि राम्रो खेल्न दबाब बढ्छ।‘

 

क्लब लाइसेनिङको ७० प्रतिशत पुरा

एन्फा महासचिव तुलाधरले नेपाली क्लबहरु क्लब लाइसेनिङ पुरा गर्ने प्रकियामा रहेको बताए। ‘हामीले क्लब लाइसेनिङको ७० प्रतिशत काम पुरा गरिसकेका छौँ। खेलाडीको बिमा, निरोगिता लगायतको प्रमाण पत्र तयार गर्नुपर्ने भएकाले अली समय लागेको हो। उनले भने। एएफसीले हाम्रो आग्रहमा १० दिनको समयसिमा थप गरेको छ। हामी त्यस अवधीमा सबै काम सकाउनेछौँ।‘

उनले लिगको लागि क्लबले खेलाडीसँगै प्रशिक्षक र व्यवस्थापकलाई समेत पूर्ण रुपमा पारिश्रिमक दिएर सम्झौता गर्नुपर्ने बताए।

यस्तै लिगमा एएफसी बी लाइसेन्स कोच अनुबन्ध गर्न पाउने तर एएफसीको प्रतियोगिता खेल्न जाँदा ए लाइसेन्स प्रशिक्षक नै जाने स्पष्ट पारे।

 

टिकट मूल्य २ सय र ५ सय

एन्फा महासचिव तुलाधरले हलचोकमा टिकट मूल्य २ सय र एन्फा कम्प्लेक्समा २ सय र ५ सयको टिकट मूल्य राखिएको जानकारी दिए।
एन्फा कम्प्लेक्समा भिआईपी प्याराफिटतर्फ ५ सय र साधारण प्याराफिटतर्फ २ सयको टिकट मूल्य राखिएको छ। एन्फाका अनुसार एन्फा कम्प्लेक्समा करिब ३ हजार र हलचोकमा ५ सयको संख्या टिकट बेचिनेछ।

प्रिम्याच कन्फ्रेन्स

ए डिभिजन लिगका निर्देशक सन्जिव मिश्रले लिगअघि शुक्रवार सबै १४  क्लबका प्रशिक्षकलाई राखेर प्रि म्याच कन्फ्रेन्स आयोजना गरिने बताए। यसबाट सबै क्लबलाई आफ्नो तयारी र लिगको टार्गेटको बारेमा जानकारी गराउने सकिने उनले बताए।

यस्तै यसबाट सबै क्लबहरु सन्तुष्ट भएका प्रत्येक राउण्डअघि प्रिम्याच कन्फ्रेन्स गर्ने समेत मिश्रले जानकारी दिए।

फिफा फरवार्ड प्रोग्रामको सहयोगमा हुन लागेको लिगको विजेताले नगद ५० लाख र ट्रफी पाउनेछ। लिगको मार्किटङ र प्रमोसन पार्टनरको रुपमा रहेको रामसार मिडियाले पल्सर बाइकसँग ए डिभिजन लिगको लागि टाइटल स्पोनसरको रुपमा सम्झौता गरिसकेको छ। सम्झौतापछि लिग पल्सर सहिद स्मारक ए डिभिजन लिगको नामबाट सञ्चालन हुनेछ। 
 

उद्घाटन खेल

एनआरटी भर्सेस त्रिभुवन आर्मी

असोज १३ गते

दिउँसो ३ बजे

एन्फा कम्प्लेक्स, सातदोबाटो

 

असोज १४ गते

संकटा क्लब भर्सेस सरस्वती युथ क्लब

दिउँसो ३ बजे

एन्फा कम्प्लेक्स, सातदोबाटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell