PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यी हुन् पहिलो संस्करणको पीपीएल खेल्ने ६ टिम, यस्ता छन् ६ मार्की प्लेअर

यी हुन् पहिलो संस्करणको पीपीएल खेल्ने ६ टिम, यस्ता छन् ६ मार्की प्लेअर

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : पर्यटकिय नगरी पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिग खेल्ने ६ टिमको नाम सार्वजनिक भएको छ।

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीवार नेपालको ६ सहरको नामबाट फ्रेन्चाइज टिम, त्यसको मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो। यस्तै सहभागी टिमका मालिक र मार्की प्लेअरले टिमको अफिसियल लोगो समेत सार्वजनिक गरेका छन्।

यसअघि नै नेपालमा दुई फ्रेन्चाइज टी-२० लिग आयोजना भइसकेको छ र यो तेस्रो फ्रेन्चाइज टि-२० क्रिकेट हुन लागेको हो।

यसमा यसअघिका प्रतियोगितामा भन्दा केही भिन्न नाम राखिएको छ। जसमा विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौँ रोएल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र धनगढी ब्लुज छन्।

राष्ट्रिय टिमका कप्तान पारस खड्का चितवनको मार्की प्लेअरका रुपमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौँको मार्की प्लेअर हुन्। यस्तै युवा स्टार सन्दीप लामिछाने पहिलो पटक विराटनगरको मार्की प्लेअरका रुपमा अनुबन्ध भएका छन्। यसबाहेक शरद भेषावकर पोखरा, सोमपाल कामी बुटवल र दीपेन्द्र सिंह ऐरी धनगढी टिमको मार्की प्लेअरमा छन्।

यसैगरी टिमको स्वामित्व लिने मालिकहरुको नाम पनि सार्वजनिक गरिएको छ। जसअनुसार विराटनगरको स्वामित्व पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनिया सहितको टिममा छ भने चितवनको स्वामित्व युवा व्यावसायी तथा एनआरएन राहुल महरा र टिमको स्वामित्वमा छ। यस्तै काठमाडौँको स्वामित्व राज्यलक्ष्मी गोल्छा, पोखराको स्वामित्व व्यावसायी विनायक पोखरेलसहितको टिम, बुटवलको संयोजक रामबहादुर विष्टसहितको टिम र धनगढीको स्वामित्व एक्सपर्ट एण्ड भिसा सर्भिसको स्वामित्वमा रहेको छ।

सबै मार्की प्लेअरले पहिलो पटक पोखरा यती ठूलो टी-२० क्रिकेट आयोजना हुन लागेकोमा खुशी भएको बताउँदै हिमालको काखमा रहेको पोखरा मैदानमा पीपीएल खेल्न उत्साहित रहेको बताए।

यस्तै आयोजक क्वीन्स इभेन्ट्सका प्रवन्ध निर्देशक छुम्बी लामाले नयाँ क्रिकेटर जन्माउन पर्यटकिय नगरी पोखरामा पहिलो पटक पीपीएल आयोजना गर्न लागिएको बताए। उनले पोखरामा यस्तो खालको प्रतियोगिता गराएपछी त्यहाँ न्यूट्रल भेन्युको रुपमा समेत विकास गर्न सकिने बताए।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले यस्तो खालको प्रतियोगिताबाट क्रिकेटमा नयाँ प्रतिभाहरु जन्मिने बताए। यसैगरी चितवनका मार्की प्लेअर समेत रहेका राष्ट्रिय टिमका कप्तान पारसले नयाँ र पुराना खेलाडीहरुलाई सँगै खेल्न यसले नयाँ प्लाटफर्म प्रदान गर्ने बताए। उनले २०१३ मा एसीसी ट्रफीको लागि नेपाली राष्ट्रिय टोलीले पोखरामा २५ दिन क्याम्प राख्दाको अनुभव निकै रमाइलो रहेकोले पोखरामा खेल्न सबै खेलाडी उत्साहित रहेको बताए।

नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुने बताएपनि यसको नगद राशी भने खुलाएको छैन।

कात्तिक ९ देखि २० गतेसम्म पोखरामा आयोजना हुने पीपीएलको लागि आयोजकले खेलाडी दर्ता समेत गराइसकेको छ। केही दिनमै खेलाडीको अक्सन हुनेछ।

सहभागी ६ वटै टोलीले दुई विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ र एक स्थानिय खेलाडीलाई लोकल आइकनको रुपमा राख्नु पर्नेछ। यसबाहेक बाँकी खेलाडी अक्सनबाट लिन सकिनेछ।

आयोजकका अनुसार एक टिमले कम्तीमा १५ र बढीमा १८ खेलाडी टिममा राख्न पाउँनेछन्।

विराटनगर टाइटन्स
चितवन राइनोज
काठमाडौँ रोएल्स
पोखरा पल्टन
बुटवल ब्लास्टर्स
धनगढी ब्लुज


ट्रेन्डिङ पोस्ट

Ncell