चाबहिलकी २९ वर्षीया कल्पना मानन्धर घरकै सटरमा कपडा पसल चलाउँछिन्। उनको पसलमा सधैं रेडियो बजिरहन्छ। रेडियोमा बज्छ समाचार। त्यो समाचारमा दिनहुँ बज्न थालेको छ – बलात्कारको खबर। बारम्बार सुनेकाले नै होला उनीसँगै पसलमा कहिलेकाही बस्ने ८ वर्षका छोराले धेरैपटक सोधिसके - ‘बलात्कार भनेको के हो?’ हरेक पटक छोराको प्रश्नले झस्किन्छिन् कल्पना। ‘के भनेर बुझाउनु? म त गाली गरेर टार्छु,’ उनले सुनाइन्।
उनलेजस्तै आफ्नी छोरीको प्रश्नमा ‘यस्तो कुरा नि सोध्छन्?’, ‘केही होइन ठूली भएपछि बुझ्छौ’, ‘चुप लाग पुलिसले लान्छ’ भन्ने जवाफ दिने गरेका छन्, जोरपाटीका अर्जुन पोख्रेलले पनि।
कञ्चनपुरमा साउन ११ गते निर्मला पन्तको बलात्कारपछि हत्या भयो। अपराधी अझै पत्ता लागेका छैन। घटनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ। विरोधका खबर फैलिरहँदा बलात्कारका समाचार अखबार, रेडियो, टिभी र अनलाइनमा आउनेक्रम रोकिएनन्।
घटनाको दुई महिना नबित्दै असोज ५ गते कञ्चनपुरमा अर्को बलात्कारको घटना सार्वजनिक भयो। यो घटना अलिक फरक थियो, नाबालकबाट नाबालककै बलात्कारको। प्रहरीको दावीअनुसार कञ्चनपुरको कृष्णपुरमा भएको घटनाका पात्र थिए- १० वर्षका बालक र ६ वर्षकी बालिका।
मनोविद् गोपाल ढकाल यसलाई नियमित सम्प्रेसण भइरहेका बलात्कारका घटना सम्बन्धी समाचारहरुको प्रभाव भन्छन्।
‘एउटी बालिका बलात्कृत भएकी छिन्। सँगसँगै बलात्कार भनेको अपराध हो भन्ने थाहा नहुने उमेरको बालकले बलात्कार गरेको छ। यहाँ दुवै बालबालिकाकामा पर्ने मानसिक आघातको अर्को भयानक पाटो छ। यसको जिम्मा लिने न कुनै निकाय छ न संस्था,’ उनी प्रश्न गर्छन्, ’१० वर्षको बालकलाई केले बलात्कारी बनायो त?’
जिज्ञासु बालबालिकाले सधैं सुन्दै, पढ्दै आएको बलात्कार लगायतका अन्य दुर्व्यवहार र हिंसाबारे बुझ्न खोज्नु स्वभाविक हो। तर, उनीहरुको जिज्ञासा र चाख मेट्न, उनीहरुलाई बलात्कार भनेको के हो बुझाउन उचित सहयोग नगर्नुको परिणामबारे उनी भन्छन्- ‘यस्तो गर्नाले बाल मनस्थितिलाई झनै जिज्ञासु बनाउँछ। जिज्ञासासँगै उनीहरुमा डर पनि बढाउँछ। र, त्यसको नतिजा अस्वभाविक निस्कन्छ।’
बालबालिकासँगै आमाबुवामा पनि यस्ता समाचारहरुले डर, भय, चिन्ता बढाएको उनको तर्क छ।
फोटो : indianruminations.com
बालबालिकामात्र होइन अभिभावकमै एन्जाइटी
केही दिनअघि ढकालले मनोपरामर्श दिँदै आएको चुच्चेपाटीस्थित क्लिनिकमा एक महिला आइन्। ती महिलालाई आफ्नी छोरी यौन दुर्व्यवहारमा परेको शंका थियो। कारण - छोरीले रेप (बलात्कार) भन्ने शब्द उच्चारण गर्नु। उनको शंका चुलियो जब छोरीले खाना खान मानिनन्, टोलाइ रहिन्। ‘तर, त्यो उहाँको शंकामात्र थियो। नियमित बलात्कारको घटनाबारे सुन्नुले उनमा सिर्जना भएको मानसिक तनाव। धेरै बच्चालाई केही भएको हुँदैन तर आमाबुवामा पो एन्जाइटी (आत्तिनु) देखिन्छ,‘ ढकालले भने।छोराछोरी स्कूल गएदेखि चिन्ता लिनु, समय अगावै कहिले फर्केलान् भनेर पर्खनु, पटकपटक फोन गर्नु, ऊसँग पढ्ने वा काम गर्ने मान्छेमाथि शंका गर्नुजस्ता समस्या पनि बढेको दाबी गर्छन् उनी।
चाँडै सशंकित हुनु, आत्तिनुमा लगातार यस्ता घटनाहरु हुनु र त्यसलाई अतिरञ्जित गरी सम्प्रेषण गर्नुलाई कारण मान्छन् उनी।
‘हाम्रोमा यौन हिंसाका समाचार बिक्री हुन थालेको छ,’ उनी भन्छन्, ’जानकारी दिनु, सूचित गराउनु बेठिक होइन तर शैली र सामाग्रीले सूचना मात्र दिँदैन। आतंकित पनि बनाउँछ।'
मिडियामा पटकपटक एउटै कुरा सुन्दा मान्छेमा आफू पनि शिकार हुने, अविश्वास बढ्ने समस्या देखिएको मनोविद् सञ्जीव गौतम पनि बताउँछन्। भन्छन्, ’यस्ता समाचारहरुले कसैको गोपनीयताको हक त हनन् गरेको छ नै, साथै कतिलाई त आघात पुर्या।उँछ, हिंस्रक बनाउँछ र बदलाको भावनाको विकास गराउँछ।'
यसै विषयमा बेलायती मनोविद् डाक्टर ग्राहम डेभी हफिङटन पोस्टका लागि लेख्छन्- 'कुनै पनि सन्देशलाई अतिरञ्जित ढंगले प्रचार गर्दा मानिसको व्यक्तित्व साथै भावनामा असर पुग्छ। त्यसले अन्य समस्या थप्छ र मान्छेलाई आफ्नै समस्या सम्हाल्न पनि गाह्रो पर्छ।‘
***
नाट्यकर्मी केदार श्रेष्ठ कपनस्थित जुगल विद्यालयमा अभिनय सिकाउँछन्। सधैं ‘आफ्नो वरपर घटेका घटनाबारे टिपोट गर्नुस्, हामी छलफल गरौं’ भन्दा उनीहरुले सधैंजसो प्रदूषण, खानेपानी अभाव, फोहोर व्यवस्थापन, जनसङ्ख्या वृद्धि आदि भन्ने गर्थे। तर, यसपटक धेरैले ‘बलात्कार’ टिपोट गरे। श्रेष्ठले बलात्कारलाई नै छलफलको विषय बनाए तर कक्षा ७ र ८ मा पढ्ने विद्यार्थीहरुलाई पनि यो कसरी समस्या हो भन्ने चाहिँ थाहा नभएको पाए।
‘उहाँहरुले समाचारमा सुनेर बलात्कारलाई समस्याको रुपमा पहिचान गर्नुभयो। उक्त शब्दलाई दिएर आतंकित पनि हुनुभयो तर यो के हो, यसबाट कसरी जोगिने, यसलाई कसरी कम गर्ने भन्ने बारे जानकारी नभएको पाएँ,’ श्रेष्ठले आफ्नो अनुभव साटे।
सचेततासँगै संवेदनशीलताको खाँचो
सामाजिक तथा महिलाविरुद्ध हिंसाको खबर सार्वजनिक हुनुले मान्छेलाई सचेत गराइराखेको छ। सँगै यसबारे दिन सकिने थप जानकारी र यस्ता समाचारहरुले पुर्याउने नकारात्मक असरबारे पनि सजग हुनपर्ने तर्क राख्छन् प्राध्यापक सञ्जीव उप्रेती। भन्छन्, ’संवेदनशीलता बढेको छ। हिंसा र दोषीविरुद्ध आवाज पनि उठेको छ। जानकारी प्रस्तुतिकरणको शैलीमा पनि ध्यान दिँदा अझ राम्रो हुन्छ।'बानेश्वरमा क्याफे सञ्चालन गर्दै आएका प्रकाश प्याकुरेल पनि मिडियाको प्रस्तुतिकरणमा असन्तुष्ट छन्। उनलाई लाग्छ समाचारको शीर्षक, प्रयोग गरिने फोटो र विषयमाथि व्यक्तिगत स्टाटसहरुले ‘सबै पुरुष गलत र सबै महिला कमजोर हुन्छन्’ भन्ने भ्रम सिर्जना भएको लाग्छ उनलाई। भन्छन्, ’हिंसाका घटनाहरु सार्वजनिक हुनुले त घटना न्यून बनाउँदै लानुपर्ने हो, तर अझ बढ्दै गएको छ। असुरक्षा महसुस भएको छ। यसमा मिडिया प्रस्तुतिकरणको ठूलो भूमिका छ।'
पछिल्लो समय मिडियामा बलात्कार र महिला हिंसामा देखाइने तस्बिरहरुले महिलालाई कमजोर देखाउने गरेकाले भय सिर्जना भइरहेको बताउने पनि छन्। मिडियाले राम्रो नियत राखेर दिने समाचार पनि अडियन्सकहाँ पुग्दा गलत सन्देशका रुपमा स्थापित पनि हुनसक्ने उनीहरुको धारणा छ।
लेखक अर्चना थापा भन्छिन्, ’मिडियाले महिला मात्र कमजोर हुन्छन् उनीहरु खुम्चिएका छन्, दबिएका छन् भन्ने विश्वास स्थापित गरेको छ जहाँ अपराधीलाई केन्द्रमा राखिंदैन। मिडियाहरुको आशय गलत नहोला तर महिलामा डर र भय सिर्जना गरेको छ यस्ता कभरेजले।'
मिडियाले उठान गरेको विषयभन्दा पनि प्रस्तुतीमा समस्या देखिने उनको बुझाइ छ। बलात्कारको घटनामा नाम परिवर्तन गरे पनि उमेर, स्थान, पीडकसँगै अरु जानकारी पनि दिइँदा गोप्य केही नरहने उनको तर्क छ।
उनले दैनिक बलात्कार र हिंसा सम्बन्धी घटना बढ्दै गर्दा अभिभावकमात्र नभइ युवापुस्तामा पनि त्रास फैलिएको महसुस गरेकी छिन्। ‘कसैले न्याय पाएको, पीडक दण्डित भएको समाचार प्रायः आएको छैन जसले गर्दा सुरक्षा निकाय र न्यायालयमाथिको अविश्वास बढेको छ। छोरीलाई दिइने स्वतन्त्रताको घेरा साँघुरिएको छ।’
अर्चनाले भनेजस्तै अवस्था भोगिन नौबिसेकी २१ वर्षीया रनिता केसी (परिवर्तित नाम)ले। उनले लिइरहेको जापानी भाषाको कक्षा नै छाडिन्। दैनिक लोकल बसमा कलङ्कीसम्म पढ्न आइरहेकी उनी फर्कँदा रात पर्छ। कहिलेकाहीँ बस नपाउँदा ट्रक, टिपर वा लामो रुटका गाडीमा लिफ्ट लिनुपर्छ। ‘अब त अलि डर लाग्यो। हामी नै सतर्क नभए अन्यायमा परे पनि राज्यले केही नगर्दो रहेछ। बरु एक वर्ष केही नगरी बस्छु भनेर भाषा क्लास नै जान छोडेँ,’ उनले भनिन्। पढाइ छोड्न वाध्य हुनुमा उनलाई घरबाट पनि धेरै टाढासम्म पढ्न नजान भनिनु प्रमुख कारण रह्यो।
सामाजिक सञ्जालमा महिला हिंसाविरुद्ध लेख्दै आएकी सूमी भारद्वाज भन्छिन्, ’दैनिक पढ्नपर्ने महिला हिंसा लगायतका समाचारले दैनिकी भयभन्दा पनि बलियो बन्ने, लड्ने प्रेरणा सिर्जना गर्नुपर्थ्यो।‘ उनी सूचित हुनु ठीक, तर असंवेदनशीलता र डर बढ्नुलाई गलत मान्छिन्।
***
'मिडियासँगै यसका ग्राहकमा पनि चाहियो चेतना'
समाजशास्त्री डम्बर चेम्जोङका अनुसार मिडियाले फैलाएको डर, त्रास र भयले सामाजिकीकरणमा बाधा पुर्याएको छ। यसमा एउटा पक्षमात्र गलत वा दोषी नरहने उनी बताउँछन्। भन्छन्, ’मैले मेरो पाठक वा दर्शकलाई कुन जानकारी कसरी दिने? तथा म कस्तो र कुन मिडियाको पाठक बन्ने? भन्ने हामी आफैले निर्धारण गर्ने कुरा हो। बढ्दो अपराधिक गतिविधिका कारण यी कुरा सम्हालिनसक्नु छ। सामाजिक अपराधसँगै डर बढ्दो छ। असुरक्षा बढ्दो छ।‘ उनले मिडिया संचालकमा दक्षता र मिडियाको उपभोग गर्नेमा साक्षरताको आवश्यकता देखाए।समाचारमा प्रयोग गरिने भयावह तस्बिर, स्केच, आपत्तिजनक शीर्षकका कारण ‘असंवेदनशीलता’ बढाउने उनको दावी छ। ‘यस्तो हुँदा बलात्कार, हिंसा, दुर्व्यवहार सामान्य लाग्न सक्छ। अपराधी मानसिकता भएको व्यक्तिले प्रोत्साहन पाउँछ,’ उनले भने।
उनका अनुसार सामाजिक अस्तव्यस्तता समाज र मिडिया दुवै नीतिमा नचल्नुको नतिजा हो अहिलेको समाजको मनोविज्ञान। उनी भन्छन्, ’अन्यायमा परेका मान्छेमा न्याय पाउँछु भन्ने विश्वास रहन छाडेको छ। अपराधीको डर हराएको छ।‘
पितृसत्तात्मक सोचले खडा गरेको सामाजिक संरचनाले जस्तो प्रस्तुतिकरण स्वीकारियोस, अहिले पनि त्यही भएको उनको निचोड हो। ‘अब सामाजिक साथसाथै मानसिक असरमा ध्यान नदिए घटना घट्नुको साटो बढ्छ,’ उनले बढ्दो हिंसाले फैलाउने त्रासमा व्यक्ति, मिडिया साथै सम्बन्धित निकायले उत्तिकै भूमिका निर्वाह गर्नुपर्ने तर्क अघि सारे।
'मिडियाले नै घटना लुकाउन हुन्न भन्ने सिकायो'
मनोविद् करुणा कुँवरमा मिडियाले अपराध वा हिंसा बारे जानकारी दिनुले दबेर रहने र पारिवारिक सामाजिक प्रतिष्ठाको नाममा लुकाइने घटनाहरु सार्वजनिक हुन थालेको तर्क गर्छिन्। ‘सबै उमेर र समूहकालाई सूचित गराइरहेको छ। बोल्न आवश्यक रहेछ भन्ने बनाएको छ मिडियाले,’ उनले भनिन्।मुलधारका मिडियाभन्दा धेरै फस्टाएका बैकल्पिक माध्यमहरु यतिखेर प्रखर भएर निस्किएका छन्। उदाहरण हो, युट्युव च्यानल। 'निर्मलाले यसरी गाइन् स्वर्गमा गीत' भन्नेजस्ता शीर्षक राखेर युट्युवरले दर्शक त बटुलेका छन् तर मिडियाको मर्मलाई त्यसैगरी मार्दै पनि लगेका छन्। ‘श्रीमान कतारमा कमाएको पैसा लिएर श्रीमती अर्कैसँग फरार’ जस्तो हेडलाइन लेखेर समाचार बिकाउने होड यस्ता मिडियामा व्यापक छ। यस्ता खबरले ठूलो समूहमा त्रास र आघात फैलाइरहेको छ।
बालबालिका र युवामा हिंसात्मक र अपराधिक घटनाको खबरसँगै त्यो कसरी, किन घट्छ? ठिक हो या बेठिक? कसरी रोक्न वा कम गर्न सकिन्छ? भन्ने जानकारी दिन आवश्यक रहेको बताउँछिन् कुँवर।
‘पहिले यस्ता विषयहरुलाई मिडियामा महत्व नदिनु, खुला बहस आवश्यक भएर पनि नगरिनुले समाचार प्रस्तुतिकरणमा अप्ठ्यारा देखिएको हुनसक्छ’, करुणा आशावादी सुनिन्छिन्, 'बिस्तारै कम हुन्छ।‘
मिडियाको पहुँच बढ्दो छ। यस्तोमा कोहीबाट पनि कुनै पनि सामाग्री लुकाउन सकिँदैन। चाहे त्यो बलात्कारको घटना होस् या अन्य अपराधको। 'यस्ता घटना लुकेर रहेका थिए जति आए धेरै आए तर, अझ धेरै बाहिर आउन बाँकी छ,' डाक्टर अरुणा उप्रेती दावीसाथ भन्छिन्, 'तर, कसरी सम्प्रेषण गर्ने त? मिडिया सचेत हुन आवश्यक छ। उनीहरुले दिएको जानकारीले पाठक वा दर्शकलाई समस्या होइन समाधानको बाटो देखाउनुपर्छ।'
सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डित मुलधारका मिडियाहरुले महिला हिंसाको खबरलाई प्राथमिकता दिनुलाई सकारात्मक मान्छिन्।
‘पीडितको पक्षमा समाचार आइरहेका छन्। यसले न्याय दिलाउनका लागि योगदन पुर्याउँछ। साथै पीडकलाई सजायको लागि दवाव पनि दिन्छ,’ नीतुले भनिन्। उनले पनि कुन र कस्तो मिडिया फलो गर्दैछु भन्नेमा पाठक/ दर्शक सचेत रहन आवश्यक हुने बताइन्। भनिन्, ’केही मिडिया त समाचार बिकाउनकै लागि संवेदनहीन हेडलाइन र फोटो राख्छन्। त्यस्ता मिडियालाई त्याग्दै जानुपर्यो।’