PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग दुई खेलपछि नै स्थगित



गोविन्दराज नेपाल

साढे चार वर्षपछि सुरु भएको ए डिभिजन लिग दुई खेलपछि नै स्थगित

काठमाडौँ : साढे चार वर्षपछि सुरु भएको नेपालको सबैभन्दा ठूलो लिग 'पल्सर शहिद स्मारक ए डिभिजन लिग' दुई पछि नै स्थगित भएको छ। 

शनिबारबाट सुरु भएको ए डिभिजन लिग आइतवार संकटा र सरस्वती युथ क्लबबीचको खेलपछि केही समयको लागि रोकिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएपछि नयाँ तरिकाबाट ए डिभिजन लिग आयोजना गर्ने जनाए पनि एन्फाकै व्यवस्थापन राम्रो हुन नसक्दा लिग सुरुमै प्रभावित बनेको हो।

नेपालको राष्ट्रिय टोली बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप खेल्न बंगलादेश गएका कारण लिग स्थगित भएको हो। नेपालले बंगबन्धु खेल्ने वा नखेल्ने अन्योलताबीच नै एन्फाले बनाएको ए डिभिजन लिग कमिटिले असोज ३ गते लिगको खेल तालिका सार्वजनिक गरेको थियो। त्यसपछि नेपालले बंगबन्धु खेल्ने टुङ्गो लाग्यो र त्यो निर्णयसँगै लिगको पहिलो चरणकै खेल प्रभावित हुने पक्का भएको थियो।

राष्ट्रिय टिममा रहेका खेलाडीहरु  पाँच वटा ए डिभिजन क्लबमा आबद्ध रहेका कारण लिगलाई निरन्तरता दिन कठिन भएको हो। 

पहिलो पटक रेलिगेशन नहुने (नन-रेलिगेशन) लिग आयोजना गरेको एन्फाले लिग र राष्ट्रिय टिमको खेल एकैपटक जुध्नुलाई भने नयाँ प्रयोग मानेको छ। झण्डै पाँच वर्षपछि लिग आयोजना गर्न सफल भएको एन्फाले यसपटक फुटबलको माहोल सिर्जना गर्न ननरेलिगेशन लिग गरेको जनाउँदै यसलाई 'वार्मअप' लिगको संज्ञा समेत दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell