PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

चितवन टाइगर्स च्याम्पियन, अरुणा शाही उत्कृष्ट खेलाडी

चितवन टाइगर्स च्याम्पियन, अरुणा शाही उत्कृष्ट खेलाडी

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौँ : तीन विदेशी खेलाडीको साथ पाएको चितवन टाइगर्सले आदि अबाधी भलिबल लिग (एभिएल) महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नेपाली महिला भलिबलको नम्बर वान टोली सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा पराजित गर्दै चितवन च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेल एक पक्षिय जस्तै रह्यो। चितवनले विभागीय टोली एपीएफलाई सहजै ३-० ले हरायो। प्रतियोगितामा दुवै टोली अपराजित रहदै फाइनल पुगेका थिए।

चितवनले एपीएफलाई २५-२०, २५-१७, २५-११ को सेटमा हरायो। पहिलो सेटमा चितवनले सुरुदेखि नै अग्रता बनाउदै जित्यो। एपीएफ पहिलो सेटमा सबैभन्दा नजिक ९-१० को अवस्था पुगेको थियो। तर त्यसपछि चितवनले १८-१२ ले लिड बनाउदै सहजै जित्यो। दोस्रो सेटमा एपीएफले १२-८ को अग्रता बनाएपनि त्यसपछि लगातार ५ अंक गुमाउँदा पछि परेको थियो।

तेस्रो सेटमा भने चितवनले एपीएफलाई सहजै १४ अंकले अन्तरले हरायो।

एपीएफले फाइनलसम्म पुग्दा एक सेट पनि गुमाएको थिएन।

फाइनलमा भने खेलाडीहरुले डराएर खेलेका कारण हार बेहोर्नु परेको प्रशिक्षक ज्ञानेन्द्र विष्टले बताए। 'चितवनका अग्ला विदेशी खेलाडी देखेर नै हाम्रो खेलाडीको मनोबल कमजोर बन्यो। हामीले आफ्नै खेल समेत खेल्न सकेनौँ। हाम्रो रिसिभमा धेरै कमजोरी रह्यो।'

उता च्याम्पियन चितवनका विदेशी प्रशिक्षक कोरे सोलमनले भने प्रतियोगितामा चितवनले खेलेको यो सबैभन्दा उत्कृष्ट म्याच भएको बताए। 'फाइनल जहिल्यै कठन हुन्छ। हामीले राम्रो खेलेर जित्यौँ। नेपालमा आएर खेल्नु र जित्नु हाम्रो लागि एमदमै नौलो अनुभव रह्यो।'

यस्तै पाँच वर्षपछि पहिलो पटक घरेलु भलिबलमा उपाधि जितेपछि चितवनको कप्तान मन्जु गुरुङले विदेशी खेलाडीसँग खेल्दा धेरै कुरा सिक्न पाएको बताइन्। 'विदेशी खेलाडीहरुसँग मिलेर खेल्दा हामीले जित्न सफल भयौँ। उनीहरुले एकदमै राम्रोसँग खेले। हामीलाई पनि खेल्न सजिलो भयो। यसअघि भारतीय खेलाडीहरुसँग खेल्दा डोमिनेट गरेको जस्तो फिल हुन्थयो। तर अमेरिकी खेलाडीहरुले एकदमै सहज तरिकाले खेले।' आफ्नै कप्तानीमा चितवनलाई च्याम्पियन बनाएपछि मन्जुले भनिन्।

मन्जुले फाइनल कम्पिटेटिभ हुने सोचेपनि त्यस्तो नभएको बताइन्। 'सेमिफाइनल न्यू डायमण्डसँग खेल्दा रमाइलो भएको थियो। फाइनल प्रतिपर्धात्मक भएन।'

उनले २०७० सालमा एनभीएले आयोजना गरेको राष्ट्रिय भलिबल प्रतियोगिता पश्चिमाञ्चलबाट जितेपछि यो नै पहिलो उपाधि भएको बताइन्।

यता पराजित भएपनि एपीएफकी कप्तान विनिता बुढाथोकीले विदेशी खेलाडीको विरुद्ध खेल्दा धेरै कुराहरु सिकेको बताइन्। 'हामी हार्‍यौँ तर यसमा हामीलाई कुनै पछुतो छैन। हामीले राम्रो टोलीसँग हार्‍यौँ। तर हामीले विदेशी खेलाडी भएको टिमसँग खेल्दा धेरै कुराहरु सिक्न पायौँ।' फाइनलमा पराजित भएपछि बुढाथोकीले भनिन्। 'हामी अझै पनि घरेलु भलिबलको नम्वर वान टोली हौँ। अहिलेसम्म राष्ट्रिय टिमले समेत विदेशी टिमसँग यसरी खेल्न पाएको छैन। हामीले विदेशी खेलाडीसँग खेल्दा कसरी खेल्ने भनेर विभिन्न टेक्निकहरु सिक्यौँ। यसले हामीलाई धेरै सहयोग गर्छ।'

नेपाल भलिबल संघ र आदि अबाधी फाउण्डेसनले संयुक्त बयोजना गरेको एभीएल विजेता चितवनले गोल्डेन ट्रफी र नगद ६ लाखको चेक प्राप्त गरेको छ। उपविजेता एपीएफले ३ लाखको चेक हात पार्‍यो।

बुधवारै तेस्रो स्थानको लागि भएको खेलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३-० को सेटमा हरायो। 

यसैगरी सेटर भूमिकामा रहेर चितवनलाई च्याम्पियन बनाउन सहयोग गरेकी अरुणा शाही प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनले एक थान स्कुटर र नगद ५० हजारको चेक हात पारिन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell