PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पीपीएलको फाइनलका लागि तयार पोखरा पल्टन र चितवन राइनोज, के भन्छन् दुई टिमका कप्तान?



गोविन्दराज नेपाल

पीपीएलको फाइनलका लागि तयार पोखरा पल्टन र चितवन राइनोज, के भन्छन् दुई टिमका कप्तान?

पोखरा : अक्सन हुँदा देखि नै बलियो देखिएका र उपाधिको दाबेदार मानिएको दुई टिम पोखरा पल्टन र चितवन राइनोज पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा भिड्दैछन्। खेल मंगलवार पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुँनेछ।

फाइनलअघि पीपीएल विजेताले पाउने ट्रफी सोमवार सराङकोटमा लगेर 'प्रिम्याच प्रेस कन्फ्रेरेन्स' आयोजना गरियो। दुवै टिमका कप्तानले माछापुछ्रेको सामुन्ने उक्त ट्रफी उचाल्दै उपाधिका लागि आ-आफ्नो दाबेदारी पेश गरिसकेका छन्। पोखराका कप्तान शरद भेषावकर र चितवनका कप्तान पारस खड्काले फाइनलको लागि तयार रहेको र राम्रो खेल्दै उपाधि जित्ने योजना रहेको प्रतिक्रिया दिए।


पोखरा घरेलु टिम हो र उसलाई यहाँको दर्शकको साथ समेत छ। नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंक तालिकामा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो। यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन लिग चरणमा दोस्रो भएको थियो।

फाइनल पुग्नका लागि एलिमिनेटरमा काठमाडौँ रोएल्सलाई पराजित गर्दै चितवनले फाइनल यात्रा तय गरेको हो। लिग चरणको सुरुवाती दुई खेल हारेपनि चितवनले बाँकी चार खेल जित्दै फाइनलमा स्थान बनायो।

पहिलो संस्करणकै फाइनलमा पुग्दा टिम उत्साहित रहेको चितवनका कप्तान पारस खड्काले बताए। पहिलो पटक पोखरामा यती ठूलो क्रिकेट टुर्नामेन्ट भएकाले खेलाडी देखि दर्शक सबै उत्साहित रहेको र भोलीको फाइनलमा अझै धेरै दर्शक आउने विश्वास व्यक्त गरे। 

उनले प्रतियोगिताको पछिल्लो खेलहरुमा जस्तै फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने बताए। 'हामीले फाइनललाई राम्रो खेल्नुपर्छ। अब त्यही मोमेन्टलाई कायम राख्दै फाइनलमा सकरात्मक नतिजा निकाल्ने पक्षमा छौँ। पहिले के भएको थियो भन्दा पनि हामी भोली के गर्ने भन्ने सोचेर अगाडी बढिरहेका छौँ।' 

पोखराका कप्तान शरद भेषावकरले उपाधिबाट एक खेल मात्र टाढा रहेको र आफूहरु त्यसका लागि पनि तयार रहेको बताए। 'हामी जे का लागि आएका थियौँ। अब त्यसभन्दा एक खेल पर छौँ।' उनले घरेलु टिमका लागि खेल्न पाउँदा आफूलगायत सबै खेलाडी भाग्यमानी रहेको र दर्शकमा राम्रो साथ पाइरहेको बताए।

शरदले रिजल्टको बारेमा भन्दा पनि गेम कसरी खेल्ने भन्ने कुरामा फोकस गर्नुपर्ने बताए। 'हाम्रो कन्ट्रोलमा हुने भनेको गेम हो, रिजल्ट होइन। परफरमेन्सको बारेमा सोच्ने हो। आफ्नो काम राम्रो सँग गर्‍यो भने रिजल्ट राम्रो आउँछ।'

चितवनका कप्तान पारसले पारस र शरदको टिम नै फाइनल पुग्नु "कोइन्सिडेन्ट' भएको बताए। यसअघि भएका दुई टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा पनि यदी दुई टोलीको कप्तानीमा रहेको टिम एक आपसमा भिडेका थिए। जहाँ पारसको कप्तानीमा रहेको टिमले दुइवटै फाइनल जितेको थियो। 'दुवै टिमले राम्रो खेलेर नै यहाँसम्म आइपुगेको हो। राष्ट्रिय टिममा सँगै खेलिरहेका हुन्छौँ। डोमेस्टिक क्रिकेटमा एक-आपसमा खेलिरहेका छौँ।'

यस्तै पोखराका कप्तान शरदले पारस टिम विरुद्ध फाइनल खेल्नु अर्को एउटा गेम रहेको बताए। 'हामीले धेरुै प्रेसर लिने भन्दा पनि खेलमा इन्जोए लिने हो। यती ठूलो टुर्नामेन्ट भएको छ। हामीले अर्गनाइजरलाई धन्यवाद दिनैपर्छ। नेपालमा मात्र होइन कि विदेशमा समेत यसको पोजिटिभ रेस्पोन्स एकदमै राम्रो छ।'

यसअघि यी दुई कप्तानको टिम एकआपसमा भिड्दा दुवै फाइनल पारसको टिमले जितेको थियो। यस्तै पीपीएलको पनि लिग चरणमा चितवनले पोखरालाई पराजित गरेको थियो।

पीपीएलको आयोजनामा समेत इन्भलमेन्ट रहेको चितवनका कप्तान पारसले पहिलो वर्ष, पहिलो संस्करणमा विभिन्न क्षेत्रबाट राम्रो रेस्पोन्स पाएको र खेलाडीहरु सबै खुशी भएको बताए। उनले फाइनल हेर्न अझै धेरै दर्शक आउने अपेक्षा समेत गरे। 

पोखरा पीपीपएल सफलतापूर्व आयोजना हुनु नेपाली क्रिकेटको लागि खुशीको खबर रहेको बताए ।साथै नयाँ ठाउँमा पनि क्रिकेट आयोजना गरेर पहिचान बनाउन सफल भएको उनको भनाई छ।   

पोखरा सामु फाइनल चितवनलाई हराउादै लिग चरणको हारको बदला लिने र उपाधि जित्नदै घरेलु दर्शकलाई खुशी पार्ने मौका समेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell