काठमाडौं : गौरीघाट, गुह्येश्वरी वरपर बत्ती र फूलको सजावट भव्य देखिन्छ। भत्किएका सडक पिच गरिएका छन्, खाल्डाखुल्डी पुरिएका छन्। बाटो र पर्खालहरु मात्र होइन वागमतीको बीच भाग पनि उस्तै सुन्दर देखिन्छ। नदी थुनेर पोखरी बनाइएको छ। दुईवटा मूर्ति राख्ने छठ घाटसहित। खोलाको बीच भागमा पुग्न अस्थायी पुल पनि बनाइएको छ।
उदाउँदो र अस्ताउँदो सूर्य तथा छठी माईको पूजा गरेर मनाइने छठ पर्व आइतबारदेखि सुरु भयो। तर यसको लागि घाट निर्माणको तयारी भने १२ दिन अघिदेखि थियो। पूजाको आयोजना, व्यवस्थापन, सजावट, सरसफाईको काम गुह्येश्वरी छठ पूजा समितिले गर्छ। २३ वर्षदेखि निरन्तर काम गर्दै आएका समिति संस्थापक सदस्य अनिल सिंह भन्छन्,’हरेक वर्ष छठ पूजा भव्य बन्दैछ, खर्च बढ्दैछ, भक्तजनको चाप पनि बढ्दो छ।‘
सुरुवाती दिनमा उनीहरु केही परिवार मिलेर गौरीघाटमा छठीमाईको पूजा गर्थे। नजिकै रहेको घरको छतको होल्डरबाट बिजुली ल्याएर पूजा गर्ने ठाउँ उज्यालो बनाउँथे। छठको लागि भनेर पानी जमाउन पर्दैन थियो।
‘खोला नै ठूलो थियो। वागमतीकै पानी पिउथ्यौं पनि’, उनले हाल माटोको ड्याम बनाएर खोलाको पानी थुन्नुको कारण बताए,’अब त पानी नजमाई घुँडा डुबाएर पूजा गर्नु असम्भव छ। पूजा गरेपनि यहाँको पानी जल मानेर कसैले खाँदैनन्।‘
हरेक वर्ष १०, १५ जना गर्दै पूजा गर्न आउनेको सङ्ख्या थपिदै गयो। घरबाट तानेको बिजुलीले थेग्न छोड्यो। पानीको प्रवाह घट्यो, खोला दुषित बन्यो। पूजापछि नदी झनै फोहोर हुन्थ्यो। छठ पूजा गर्ने स्थानीयले पूजालाई व्यवस्थित बनाउनु पर्ने महसुस गरे र समिति स्थापना गरे।
‘त्यसपछि समितिमा रहेकाले पैसा उठायौं र पूजा आयोजना गर्न थाल्यौं। हाम्रो लक्ष्य जे भइरहेको थियो त्यसैलाई व्यवस्थित गर्नु थियो’, सिंहले बताए। ८ वर्षयता संस्थापकले नै नसोचेको जमात पूजा गर्न आउन थाले।
पशुपति क्षेत्र विकास कोषको मातहतमा रहेको यो ठाउँमा छठमा व्रतालुका लागि ६२४ घाट बन्छन्। जुन व्यवसायिक प्रयोजनका लागि नभएर सेवाको लागि रहेको अनिल दाबी गर्छन्। घाटहरुमा पूजाका लागि आवश्यक सामाग्री, फलफूल, फूल आदि राखिन्छन्। घाट स्थापनाका लागि ७०० रुपैयाँ नगद समितिलाई बुझाउनु पर्छ।
सिंहका अनुसार पुजाका लागि स्थानीय र दाताहरुबाट संकलित २० लाखभन्दा बढी खर्च हुन्छ। जसअन्तर्गत ड्याम बनाउनेदेखि सजावट र सर सफाइसम्मको काम पर्छ। ‘डोजरमा मात्र २ लाख पचास हजारको डिजेल खर्च हुन्छ। त्यसपछि सर्वाधिक खर्च हुने बिजुली, प्रसाद र टेन्टमा हो’, जानकारी दिए।
आवश्यक डोजर भने सडक विभाग र खानेपानी तथा ढल निकास विभागले नि:शुल्क उपलब्ध गराएको हो।
यो वर्ष छठ पूजा समितिलाई पशुपती क्षेत्र विकास कोषले आर्थिक सहयोग समेत गर्यो। कोषले ६ लाख रुपैयाँ पूजाका लागि दिएको अनिल सिंहले बताए। ‘भौतिक तथा नैतिक सहयोग सधैं मिल्दै आएको छ। यो वर्ष हामीले थेग्न पर्ने खर्चमा पनि सहयोग गर्नु भयो’, उनले भने। २ वर्षदेखि पशुपति क्षेत्र विकास कोषकै भवनलाई पूजा समितिले कार्यालय प्रयोजनका लागि लिएको छ।
भक्तहरुको पुजाआजा सहज बनाउन प्रहरी, स्काउट र अन्य स्वयं सेवकहरु परिचालित छन्। एम्बुलेन्स, प्राथमिक उपचार, पानी, मोबाइल नेटवर्क आदि पनि सञ्चालनमा आइसकेका छन्।
पूजा सकिएपछि माटोले बनाएको ड्याम भत्काइन्छ। सर सफाई तथा आवश्यक व्यवस्थापनका लागि स्थानीय क्लब, युवाहरु, पूजा समिति,
सशस्त्रदेखि नगरपालिकासम्म लागि पर्छन्।
समितिका सदस्य किरण दास भन्छन्,’पहिले छठलाई मधेसी मूलको पर्व मानिन्थ्यो। अहिले मधेसी, पहाडी मात्र नभएर मुस्लिम समुदायकाले समेत छठी माईको उपासना गर्छन्। यस्तोमा भिड बाक्लनु स्वभाविक हो।‘
कालोपुलकी रञ्जु श्रेष्ठ ४ वर्षयता उनी हरेक वर्ष छठ मनाउँछिन्। सुरुवातमा गौरीघाटको रमझम हेर्न आएकी उनलाई प्रकृति पुज्ने यो पर्वको प्रक्रियाले आकर्षित गरेको बताउँछिन्। ‘पहिले त हाम्रो पर्व होइनजस्तो लाग्थ्यो। अहिले थाहा भयो आफ्नो त सोचेपछि हुने रहेछ।’
रामखालिक माली भण्डारी फूल व्यवसायी हुन्। छठको पूजा भव्य तबरले हुन थालेको वर्षदेखि उनले गौरीघाटमा बनाइने घाटमा फूल सजाउने जिम्मेवारी सम्हाले। ‘८ वर्ष भयो निरन्तर समितिसँगै छठको तयरी गर्छु। हरेक वर्ष घाट बढ्दो छन्। हरेक वर्ष यो उत्सव बढ्दो छ।‘
भण्डारी समितिसँग फूलको मात्र रकम लिन्छन्। फूल सजावटको भने पैसा लिदैँनन्। यस्तो गर्दा उनको कामदारलाई दिने र अन्य सामाग्रीको लागि ७० हजार खर्च हुन्छ। ‘यो हिसाव किताबको काम होइन नि। यो कार्यप्रति मेरो श्रद्धा छ, पुण्य प्राप्तीको विश्वास छ। सकुन्जेल गर्छु।‘
चार दिन लामो चल्ने यो पर्वमा भक्तालुको घरमा मांसाहारी खाना पाक्दैन। पहिलो दिन चोखो नितो सर सफाइ गरिन्छ। दोस्रो दिन एकछाक मात्र खाना खाने गरेर दिनभर व्रत बसिन्छ। तेस्रो दिन निराहार व्रत हुन्छ, व्रतालुले घुँडासम्म पानी पुग्ने गरेर अस्ताउदो सूर्यलाई अर्घ दिन्छन्। र अन्तिम दिनको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत तोडिन्छ।
गुह्येश्वरी पूजा समितिका सदस्य सिंह भन्छ्न,’पूजा आयोजना र व्यवस्थापनभन्दा कठिन छ यो पर्व मनाउन।‘