PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ए डिभिजन लिग : तेस्रो चरणसम्म कसको प्रदर्शन कस्तो?



गोविन्दराज नेपाल

ए डिभिजन लिग : तेस्रो चरणसम्म कसको प्रदर्शन कस्तो?
PHOTO : ANFA

काठमाडौं: गत असोज १३ गतेदेखि सुरु भएको 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा तेस्रो चरणका खेलहरु सकिएको छ।

सहभागी १४ क्लबले तीन-तीन खेल खेलिसकेका छन्। उपाधिको दाबेदार मानिएका केही क्लबहरुले आफ्नो छविअनुसार प्रदर्शन गरेका छन् भने केही क्लबले अझै लय भेट्टाएका छैनन्।

आधा जसो क्लबको प्रदर्शन मध्यम छ भने केही क्लबले अझै अंक जोड्न सकेका छैनन्।

पहिलो पटक रेलिगेसन नहुने लिग भइरहेको अवस्थामा कमजोर क्लबहरुलाई खेल हार्दा पनि कुनै घाटा भने पर्ने छैन। जसले गर्दा अन्य खेलको नतिजामासमेत असर पुग्न सक्छ।

यद्यपि साढे चार वर्षपछि लिग सुरु भएको अहिले यो क्लब बलियो यो क्लब कमजोर भन्दा पनि सबै क्लब लगभग उस्तै रहेको छ।

अहिले भइरहेको लिगमा तीन विभागीय टोली र बाँकी ११ अन्य क्लब छन्। विभागीयसहित ९ क्लब काठमाडौं जिल्लाकै मात्र छन्। बाँकी ५ क्लब ललितपुरका छन्। भक्तपुरको भने कुनै क्लब छैन।

च्याम्पियन टोलीले ५० लाख जित्ने यस लिगमा तीन चरणको खेल सकिदाँ क्लबहरुको प्रदर्शन कस्तो छ त?

मनाङसँगै संकटा अगाडि

लिगमा अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्ने लुई क्लबमात्र छन्। त्यसमा स्वभाविक रुपमा मनाङ मर्स्याङ्दी क्लब ए क हो भने अर्को सिएमजी संकटा क्लब।

संकटाले लिगको सुरुको तीनवटै खेलमा जित हात पार्दा कूल ५ गोल गरेको छ भने कुनै गोल खाएको छैन। उता मनाङले थ्री स्टारविरुद्धको खेलसहित तीन खेल नै जितेको छ। मनाङले ७ गोल गर्दा दुई गोल खाएको छ। धेरै गोल गरेकोले समान गोल अन्तर भएपनि मनाङ पहिलो स्थानमा छ।

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले दोस्रो खेलमा एनआरटीलाई २-० ले र तेस्रो खेलमा थ्री स्टारलाई २-१ ले पराजित गरेको थियो। यस्तै संकटाले पहिलो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको थियो भने जावलाखेल युथ क्लब र मछिन्न्द्रलाई समान २-० ले हराएको थियो।

उपाधिको दाबेदार मानिएको अर्को क्लब थ्री स्टारले लगातार दुई खेल जितेको थियो तर मनाङसँग पराजित भएपछि उसको अपराजित यात्रा टुङ्गिएको छ भने मनाङ र संकटाभन्दा ३ अंकले पछि छ।

अपराजित अन्य क्लब

मनाङ र संकटासँगै विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लब पनि लिगमा अपराजित छ। दुवैले दुई-दुई खेलमा जित हात पार्दा एक-एक खेल बराबरी खेलेका छन्।

आर्मीले सिजनको पहिलो डिपार्टमेन्टल डर्बीमा नेपाल पुलिसमाथि जित निकालिसकेको छ।

पहिलो खेलमा एनआरटीसँग २-२ गोलको बराबरी खेलेको आर्मीले त्यसपछि च्यासल युथ क्लब र पुलिसलाई समान १-० को अन्तरमा पराजित गरेको हो।

यस्तै एपीएफसँग गोलरहित बराबरी खेल्दै लिग सुरु गरेको हिमालयन शेर्पाले सरस्वती युथ क्लबलाई १-० र जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो।

पुलिस र च्यासल संघर्ष गर्दै

यस लिगको लागि स्टार खेलाडीहरु भित्र्याएको क्लब हो च्यासल युथ क्लब। राष्ट्रिय टोलीका खेलाडीहरु विमल घर्ती, हेमन्त थापा मगर, देवेन्द्र तामाङजस्ता खेलाडीलाई लिगका लागि अनुबन्ध गरेको च्यासलले राष्ट्रिय टिमका प्रशिक्षक रहिसकेक राजुकाजी शाक्यलाई समेत अनुबन्ध गर्‍यो। यस्तै जापानमा रहेका सन्तोष साहुखल लिग खेल्नकै लागि नेपाल आए र च्यासलबाट दुई खेल खेलिसकेका छन्।

यो क्लबले लिगको सुरुवातमा संघर्ष नै गर्नुपर्‍यो। पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको च्यासल दोस्रो खेलमा आर्मीसँग पराजित भयो।

तर तेस्रो खेलमा भने च्यासलले आफ्नो स्तरअनुसारको खेल प्रदर्शन गर्दै एनआरटीविरुद्ध पाँच गोल नै गर्‍यो। सुरुको दुई खेलमा गोल गर्न नसकेको च्यासलले एनआरटीलाई ५-१ ले हराउँदै लिगमा पहिलो जित हात पारेको हो।

यस्तै ६० को दशका नेपाली क्लबमा तहल्का मच्चाएको नेपाल पुलिस अहिले पुरानो साख फर्काउने चुनौतीका साथ लिग खेलिरहेको छ।

पूर्व खेलाडी अनन्त तामाङको प्रशिक्षणमा रहेको पुलिसमा युवा खेलाडीहरुको मिश्रण छ। स्टार खेलाडी नभएपनि पुलिसको टिम सन्तुलित भने छ। पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले हराएको पुलिस दोस्रो खेलमा मछिन्न्रसँग गोलरहित बराबरी रोकियो। तेस्रो खेलमा बर्मीसँग १-० ले पराजित भयो।

टिम गेम खेलेपनि पुलिसमा स्कोरिङ समस्या यथावत छ।

च्यासल र पुलिस समान ४ अंक जोड्ने अर्को विभागीय टोली एपीएफको प्रदर्शन तलमाथि भइरहेको छ।

पहिलो खेलमा हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको एपीएफले दोस्रो खेलमा अन्तिम समयमा गोल गर्दै फ्रेण्ड्सलाई १-० ले पराजित गरेको थियो।

तर तेस्रो खेलमा एक गोलको अग्रता लिएर पनि एपीएफ ब्रिगेड ब्वाइजसँग ३-१ ले पराजित भयो।

एक खेल जित्नेमा सरस्वती र ब्रिगेड ब्वाइज क्लब

लिगमा तीन खेल खेलिसक्दा सरस्वती युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले समान एक खेल जितेका छन्। ब्रिगेडले एपीएफलाई ३-१ ले तथा सरस्वतीले फ्रेण्ड्सलाई ३-० ले पराजित गरेको हो।

त्यसअघि यी दुई क्लबले लिगको सुरुवाती खेलमा लगातार हार बेहोरेका थिए। सरस्वती हिमालयन शेर्पा र संकटासँग समान १-० ले पराजित भएको थियो। ब्रिगेड भने दुई ठूला क्लब मनाङ मर्स्याङ्दीसँग ३-१ र थ्री स्टारसँग ५-१ ले पराजित भएको थियो।

यस्तै सुरुवाती दुई खेलमा बराबरी खेलेको मछिन्द्र तेस्रो खेलमा संकटा क्लबसँग २-० ले पराजित भयो। मछिन्द्रले च्यासल र नेपाल पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो।

लिगको उद्घाटन खेलमै आर्मी जस्तो बलियो क्लबसँग २-२ को बराबरी खेलेको एनआरटीले त्यसयता भने उस्तै प्रदर्शन गर्न सकेको छैन। एनआरटी दोस्रो खेलमा मनाङसँग २-० ले र तेस्रो खेलमा च्यासलसँग ५-१ ले पराजित भयो।

 

अंकविहिन फ्रेण्ड्स र जावालाखेल

ललतिपुरका यी दुई क्लब नेपाली फुटबलमा मध्यम स्तरका क्लब हुन्। तर यी दुई क्लबले लिगमा यस्तो प्रकारको सुरुवात गर्ने कमैले मात्र सोचेका थिए होलान्।

फ्रेण्ड्स र जावलाखेलले लिगमा लगातार तीन खेल हारिसकेका छन्। र अझै पनि अंकविहिन छन्।

फ्रेण्ड्सले थ्री स्टारसँग २-१ ले, एपीएफसँग १-० र ब्रिगेडसँग ३-१ ले पराजित भएको थियो। यस्तै जाउलाखेल पुलिससँग १-० ले, संकटासँग २-० र हिमालयन शेर्पासँग २-१ ले पारजित भएको थियो।

......

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साढे चार वर्षपछि ए डिभिजन लिग फुटबल सुरु गरेर फुबलको माहोल सिर्जना गर्ने बताएको थियो। तर पनि त्यस्तो छनक अहिलेसम्म देखिन सकेको छ।

क्लबहरुको आफ्नै ट्रेनिङ ग्राउण्ड नभएकाले पर्याप्त तयारी गर्न नपाएको गुनासो आउन थालेको छ। विभागीय तीन टोली र जाउलाखेल युथ क्लब बाहेक अन्य क्लबले आफ्नो ग्राउण्ड छैन। राम्रो तयारी गर्न नपाएकैले उनीहरुको खेलमा सुधार आउन नसकेको क्लबको भनाई छ।

यस्तै लिग खेलाउने रेफ्रीहरुको पनि आलोचना हुन थालेको छ। प्राय क्लबका प्रशिक्षकहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउने गरेका छन्। रेफ्रीकै कारण खेलको नतिजामा असर परेको उनीहरुको भनाई छ। यसमा एन्फा, लिग कमिटी र रेफ्री कमिटीहरुले बेलैमा सजगता अपनाउनुपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell