PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ए डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, पुलिसले च्यासललाई हरायो



गोविन्दराज नेपाल

ए डिभिजन लिग : थ्री स्टारको तेस्रो जित, पुलिसले च्यासललाई हरायो

काठमाडौँ : रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सोमवार जित हात पार्दै ३ अंक जोडेका छन्।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २-० ले हराउँदै लिगमा तेस्रो जित दर्ता गरेको हो। यस्तै हलचोकमा भएको खेलमा विभागीय टोली पुलिसले च्यासल युथ क्लबलाई २-० ले नै पराजित गर्‍यो। लिगमा पुलिसको यो दोस्रो जित हो।

पछिल्लो खेलमा एनआरटीलाई ५-१ ले पराजित गरेको च्यासल विरुद्ध पुलिसले दुवै हाफमा एक-एक गोल गर्‍यो।

पुलिसका लागि ४०औँ मिनेटमा रवि पासवानले गोल गर्दै अग्रता दिलाएका थिए। खेल सकिन एक मिनेट अघि वैकल्पिक खेलाडी भरत शाहले गोल गरेपछि पुलिसको जित निश्चित बनेको थियो।

दुवै गोल च्यासको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गरेको थियो।

चार खेल खेलिसक्दा दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पुलिस अंक तालिकामा छैटौँ स्थानमा उक्लेको छ। एक खेल कम खेलेको हिमालयन शेर्पाको पनि ७ अंक छ र गोल अन्तरमा शेर्पा पाँचौ स्थानमा छ। चार खेलबाट ४ अंक रहेको च्यासल भने सातौँ स्थानमा छ।

लिगमा दोस्रो जित हात पारेपछि पुलिसका प्रशिक्षक अनन्त थापाले आजको जितबाट आगामी खेलका लागि उर्जा मिलेको प्रतिक्रिया दिए। आज हामीले तीन अंक जोड्यो। यसबाट म खुशी छु। यो हाम्रो लागि सकरात्मक विषय हो। यसले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न सहयोग गर्छ। थापाले भने।

'हामीले पहिलो हाफमा गोल गरेपछि त्यसलाई कायम राख्दै डिफेन्स बलियो बनाएर काउन्टर अट्याकमा गोल गर्ने रणनीति बनाएका थियौँ।' त्यसमा सफल भयौँ।

थापाले अबको प्रत्येक खेल उपाधि यात्रा सम्म पुग्नका लागि महत्वपूर्ण भएको बताए। 'अब हाम्रो खेल एनबरटी, संकटा सँग छ। प्रत्येक खेल फाइनल जस्तै हुन्छ। हामी सबै खेल ३ अंक जोड्नका लागि खेल्छौँ। किनकी हामीले ५ अंक गुमाइसकेका छौँ।'

यस्तै च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले समग्रमा टिमले राम्रो खेलेपनि आफ्नै गल्तीका कारण गोल खाँदा हार्नुपरेको प्रतिक्रिया दिए।

आज हाम्रो लागि ब्याड लक जस्तो भयो। पाएको अवसर सद्पयोग गर्न नसक्दाको नतिजा हो यो। आज हाम्रो दिन रहेन। पहिलो हाफमा सन्तोषले गोल गरेको भए खेलको नतिजा नै चेन्ज हुन्थ्यो। ओभरअल राम्रो खेलेका हुन्। तर सिल्ली गोल खानु र अवसरमा चुक्नु नै हारको कारण बन्यो। शाक्यले भने।

उनले अझै ९ खेल बाँकी रहेकाले फुटबलमा जस्तो रिजल्ट पनि आउने सक्ने भन्दै आगामी खेलमा राम्रो प्रदर्शन गर्ने बताए।

उता सुरुवाती दुई खेल जितेको थ्री स्टार पछिल्लो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो।

एनआरटी विरुद्ध दोस्रो होमा दुई गोल गर्दै थ्री स्टारले पुन: जितको यात्रा सुरुवात गरेको हो।

थ्री स्टारले अग्रता लिन भने ७५औँ मिनेटसम्म कुर्नुपर्‍यो। रन्जित धिमालले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। रन्जितको पेनाल्टी प्रहार सुरुमा एनआरटीका गोलकिपर अजित प्रजापतीले रोकेपनि त्यसको रिबाउन्डमा धिमालले गोल गरे।

इन्जुरी टाइममा विदेशी खेलाडी अजयी मार्टिन्सले गोल थपेपछि थ्री स्टार २-० ले विजयी भएको हो।

सिजनको तेस्रो जितपछि चार खेलबाट ९ अंक जोडेको थ्री स्टार गोल अन्तरमा अगाडी रहँदै दवस्रो स्थानमा उक्लेको छ।

थ्री स्टार समान अंक भएको मनाङ मर्स्याङ्दी र संकटा क्रमश: तेस्रो र चौथो स्थानमा छ। मनाङले एक खेल कम खेलेको छ। संकटा भने आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मीसँग ५-१ ले पराजित भएको थियो।

चार खेलबाट अपराजित रहँदै १० अंक जोडेको आर्मी शीर्ष स्थानमा उक्लेको हो। आर्मीसँगै मनाङ र हिमालयन शेर्पा मात्र लिगमा अपराजित छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell