PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

ए डिभिजन लिग : तीन क्लब चौथो चरणसम्म अपराजित, चार क्लब जितविहिन, मनाङ शीर्ष स्थानमा



गोविन्दराज नेपाल

ए डिभिजन लिग : तीन क्लब चौथो चरणसम्म अपराजित, चार क्लब जितविहिन, मनाङ शीर्ष स्थानमा
PHOTO : ANFA

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा चार चरणको खेल सकिएको छ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा सहभागि १४ क्लबले ४-४ खेल खेलिसकेका छन्।

चार चरणको खेलपछि उपाधिको दाबेदार क्लबहरु मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, थ्री स्टारसँगै हिमालयन शेर्पा र संकटा क्लब अंकतालिकामा अगाडी छन्।

अर्को उपाधि दाबेदार पुलिस छैटौँ स्थानमा छ भने केही स्टार खेलाडीहरु भित्र्याएर उपाधिका लागि दाबेदारी पेश गरेको च्यासल युथ क्लब आठौँ स्थानमा छ।

यसैगरी विदेशी खेलाडीको आगमनपछि सुरस्वती युथ क्लबले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको छ।

 

चौथो चरणको खेलको नतिजा

त्रिभुवन आर्मी         ५-१ संकटा

एनआरटी              ०-२ थ्री स्टार

च्यासल युथ क्लब  ०-२ नेपाल पुलिस

ब्रिगेड ब्वाइज        १-२ सरस्वती युथ क्लब

मनाङ मर्स्याङ्दी    २-१ एपीएफ

हिमालयन शेर्पा     २-० मछिन्द्र

जावलाखेल युथ     ३-३ फ्रेण्ड्स

 

तीन क्लब अपराजित, मनाङको शतप्रतिशत नतिजा

उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी र आर्मीसँगै हिमालयन शेर्पा चौथो चरणसम्म अपराजित छन्। मनाङ अहिलेसम्म सबै खेल जित्ने एक्लो टोली हो। चार खेलबाट १२ अंकसहित मनाङ शीर्ष स्थानमा छ।

अन्य दुई अपराजित क्लब आर्मी र हिमालयन शेर्पाले समान १० अंक जोडेका छन्। दुवै क्लबले तीन खेले जितेका छन् भने एक बराबरी खेलेका छन्। गोलअन्तरमा आर्मी अगाडी छ। मनाङ र आर्मीलाई यस सिजन उपाधिको ठूलो दाबेदारको रुपमा हेरिएको छ।

लिगअघि अनिल गुरुङ थ्री स्टार जानु, तिहारपछि उपकप्तान सुजल श्रेष्ठ चोटका कारण ६ साता खेल्न नसक्ने हुनु, अनी अनुबन्ध भएपछिको पहिलो खेलमै प्रकाश बुढाथोकीलाई चोट लाग्नु जस्ता समस्या भोगेको मनाङले थ्री स्टारलाई समेत पराजित गरिसकेको छ। विदेशी खेलाडीहरु अफिज ओलावाले, अडालेजा र मोहम्मद आसिफले मनाङको लागि राम्रो खेलिरहेका छन्।

यस्तै सँधै फिट र फर्म रहने टोली हो आर्मी। कुनै खेल नभएपनि यो टोलीको आन्तरिक रुपमा प्रशिक्षण गरिरहेको हुन्छ। पहिलो खेलमा एनआरटीसँग अंक बाँडेपनि आर्मीले नेपाल पुलिस, च्यासल र संकटा जस्ता क्लबलाई हराइसकेको छ।

पहिलो खेल खेलेका फरवार्ड जर्ज प्रिन्स कार्की आर्मीको म्रमोसनका लागि फुटबल छाडेर लागेका छन्। यस्तै नवयुग श्रेष्ठले चोटका कारण दुई खेल खेल्न सकेनन्। फरवार्ड लाइन केही समस्या रहेपनि आर्मीले पछिल्लो खेलमा संकटालाई ५-१ ले हराएको थियो। प्रशिक्षक नवीन न्यौपानेले अझै पनि आर्मीले पुरानो लय भेट्टाउन नसकेको बताएका छन्।

यस्तै हिमालयन शेर्पाले अहिलेसम्म ठूला क्लबसँग खेल्नु परेको छैन। एपीएफसँग बराबरी खेल्दै लिग सुरु गरेको शेर्पाले जावलाखेल, सरस्वती र मछिन्द्र क्लबलाई पराजित गरेको थियो।

 

समान एक खेल हार्नेमा थ्री स्टार, संकटा र पुलिस

उपाधि दाबेदार दुई टोली थ्री स्टार पुलिससँगै संकटाले अहिलेसम्म एक-एक खेल हारेका छन्। तेस्रो चरणमा मनाङसँग पराजित भएको थ्री स्टाले चौथो चरणमा एआआरटी विरुद्ध संघर्ष गर्दै जित हात पारेको छ।

यस्तै सुरुको तीन खेलमा कुनै गोल नखाईं जित हात पारेको संकटाले चौथो चरणमा आर्मीसँग ५-१ को फराकिलो हात बेहोर्‍यो। पहिलो खेल जितेर त्यसपछिको दुई खेलमा जितविहिन बनेको पुलिसले चौथो चरणमा च्यासललाई २-० ले पराजित गर्दै लयमा फर्केको संकेत गरेको छ। पुलिस सिजनको पहिलो 'डिपार्टमेन्टल डर्बी' अन्तर्गत तेस्रो चरणमा आर्मीसँग पराजित भएको थियो।

चार खेलपछि तीन र जित र एक हारको नतिजा निकालेका थ्री स्टार र संकटाको समान ९ अंक छ। गोलअन्तरमा थ्री स्टार अगाडी चौथो स्थानमा छ भने संकटा पाँचौ स्थानमा छ।

दुई जित, एक बराबरी र एक हारको नतिजापछि चार खेलबाट ७ अंक जोडेको पुलिस छैटौँ स्थानमा छ।

 

शीर्ष ६ को होडमा च्यासल, एपीएफ र सरस्वती

माथिका छ क्लबबाहेक च्यासल र एपीएफले शीर्ष छ स्थानमा रहँदै लिग सकाउने बताएको थियो। अहिलेसम्मको नतिता हेर्दा सरस्वतीले पनि शीर्ष ६ मा दाबेदारी पेश गरेको छ। सुरुको दुई खेल हारेको सर्स्वतीले त्यसयता लगातार दुई खेल जितेर ६ अंक जोडेको छ। सरस्वती चौथो चरणपछि अंकतालिकामा सातौँ स्थानमा उक्लेको छ।

पछिल्लो खेलमा पुलिससँग २-० ले पराजित भएपछि च्यासल भने आठौँ स्थानमा झरेको छ। च्यासल र एपीएफको समान ४ अंक छ। गोलअन्तरमा च्यासल अगाडी छ। दुवैलै एक खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्। दुई-दुई खेल हारेका छन्।

यस्तै एक खेल मात्र जितेको ब्रिगेड ब्वाइज क्लब चार खेलबाट ३ अंकका साथ दशौँ स्थानमा छ।

 

जितविहिन चार टोली

एनआरटीले उद्घाटन खेलमै विभागीय टोली नेपाल आर्मीसँग अंक खोस्दै लिगमा उत्कृष्ट सुरुवात गरेको थियो। जित नजिक पुगेर पनि अन्तिम समयमा गोल खाँदा एनबरटीले अंक बाँड्नुपर्‍यो।

त्यसयता एनआरटीले तीन ठूला क्लब मनाङ, च्यास र थ्री स्टारसँग हार बेहोर्‍यो। पछिल्लो खेलमा थ्री स्टारलाई ७५ मिनेटसम्म गोल गर्न रोकेपनि अन्तिम समयमा १५ मिनेटमा दुई गोल खाएको थियो।

एनआरटीको जस्तै हालत छ मछिन्द्रको। मछिन्द्रले सुरुको दुई खेलमा च्यासल र पुलिसलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको थियो। तर त्यसपछिका दुई खेलमा भने मछिन्द्र पराजित भयो।

यी दुई क्लबसँगै फ्रेण्ड्स र जावलाखेल युथ क्लबले अहिलेसम्म लिगमा जित हात पार्न सकेका छैनन्।

फ्रेण्ड्स र जावलाखेलले त चौथो चरणको खेलपछि मात्र पहिलो अंक जोडेका हुन्। यी दुई क्लबले एकआपसमा ३-३ को बराबरी खेल्दै १-१ अंक बाँडेका हुन्।

चारखेलपछि मछिन्द्रको २ तथा जावलाखेल, फ्रेण्ड्स र एनआरटीको समान १ अंक छ। गोलअन्तरमा एनआरटी सबैभन्दा पछि छ।

...................

पाँचौ चरणको खेल भोलीबाट

आयोजक एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार पाँचौ चरणको खेलहरु भोलीबाट सुरु हुनेछ। एक दिनको ग्यापपछि नै पाँचौ चरणको खेल हुन लागेको हो।

भोली पहिलो खेल एनआरटी र नेपाल पुलिस तथा दोस्रो खेल थ्री स्टार र एपीएफबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell