PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ए डिभिजन लिग : भरत खवासको दुई गोलमा आर्मी दोस्रो स्थानमा उक्लियो, हिमालयन शेर्पाको पहिलो हार



गोविन्दराज नेपाल

ए डिभिजन लिग : भरत खवासको दुई गोलमा आर्मी दोस्रो स्थानमा उक्लियो, हिमालयन शेर्पाको पहिलो हार

काठमाडौँ : भरत खवासको दुई गोल मद्दतमा त्रिभुवन आर्मीले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आइतवार हिमालयन शेर्पालाई पराजित गरेको छ।

एन्फा कम्प्लेक्समा हात पारेको २-१ को जितपछि आर्मी अपराजित यात्रा कायम राख्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ। पाँच खेलबाट १३ अंक जोडेको आर्मी पहिलो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले पछि छ।

लिगमा पाँच चरणको खेलमा समाप्त हुँदा मनाङ मात्र शतप्रतिशत नतिजा हात पार्ने एक्लो टोली बनेको छ। मनाङ र आर्मी अझै अपराजित छन्। शेर्पाले भने लिगमा पहिलो हार बेहोरेको छ। पाँच खेलबाट १० अंक रहेको शेर्पा छैटौँ स्थानमा यथावत छ।

हिमालयन शेर्पालाई लिगको पहिलो हार चखाउने क्रममा आर्मीका लागि कप्तान भरत खवासले खेलको दुवै हाफमा गोल गरे।

भरतले ३३औँ मिनेटमा सन्तोष तामाङको कर्नरमा फ्रि हेडरमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा खासै मुभ बनाउन नसकेको शेर्पाले दोस्रो हाफको सुरुवातदेखि नै आर्मीलाई दबाबमा राखेको थियो। ५९औँ मिनेटमा शेर्पाको रवि थापा मगरले करिब ४० यार्ड टाढाबाट प्रहार गरेको बल आर्मीका गोलकिपर विकेश कुथुले मुस्किलले पोष्ट बाहिर पठाएका थिए।

शेर्पाले दबाब बनाइँरहँदा भरतले ८५औँ मिनेटमा दिनेश हेन्जनको पासमा शेर्पाको गोलकिपर किशोर गिरी बिट भइसकेको अवस्थामा गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसको एक मिनेटपछि नै विदेशी खेलाडी उलरिच सिवेले गोल गोल गर्दै शेर्पालाई खेलमा फर्काउने आशा दिलाएका थिए। ९०औँ मिनेटमा निरज श्रेष्ठको प्रहार क्रस बारमा लागेर बाहिरिदा शेर्पाले बराबरी गर्ने मौका गुमाएको थियो।

दोस्रो हाफमा आर्मीका गोलकिपर कुथुले शेर्पाको तीन प्रहारलाई विफल पारेका थिए।

आर्मीको लागि दुई गोल गरेका कप्तान भरत खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार ट्रफी पाए।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानले पहिलो हाफमै गोल गरर्दा खेलमा जित हात पार्न सफल भएको बताए। 'हामीले अवसर पायौँ तर गोल हुन सकेन। पहिलो हाफमा एक गोल गर्न सफल भयौँ। हाम्रो रणनिती नै पहिलो हाफमा प्रेसर दिएर गोल गर्ने थियो।' न्यौपानेले भने। 'दोस्रो हाफमा हामीले डिप डिफेन्समा खेल्ने र काउन्टरमा गोल गर्ने रणनीति बनाएका थियौँ। गोल पनि भयो तर दोस्रो गोल गरेपछि खेलाडीले हल्का ढंगले लिदा गोल खानुपर्‍यो। यसपछि खेलमा अटोमेटिकल्ली प्रेसर पर्‍यो।'

उनले शीर्ष स्थानको मनाङलाई चुनौती दिनपनि शेर्पा विरुद्ध जित्नैपर्ने अवस्था खेलेको र यो ३ अंकले उपाधि यात्रामा धेरै अर्थ राख्ने बताए।

उता पहिलो हारपछि शेर्पाका प्रशिक्षक सुवास गुरुङले पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु नै हारको कारण रहेको बताए। हामीले पहिलो हाफमा राम्रो खेल्न सकेनौँ। दवस्रो हाफमा सुधार भएको थियो तर अवसरमा गोल गर्न नसक्दा त्यही समस्या बन्यो। गुरुङले भने।

उनले सुरुको खेलमा भन्दा विदेशी खेलाडीको प्रदर्शनमा सुधार भएको र मिडफिल्डमा पनि प्रदर्शन सुधारिरहेको बताए।

एउटा हारेले फरक पारेपनि यो ठूलो धक्का नभएको र आफ्नो लक्ष्य टप सिक्समा पर्नु रहेको प्रतिक्रिया दिए। 'हामी कमब्याक गर्न सक्ने स्थितीमा छौँ।'

यस्तै आइतवारै हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ। जावलाखेलले ब्रिगेडलाई १-० ले पराजित गरेको हो।

पहिलो जितपछि पाँच खेलबाट ४ अंक जोडेको जावलाखेल अंकतालिकामा दशौँ स्थानमा उक्लेको छ। जावलाखेलका लागि ८८औँ मिनेटमा अरुज सिंहले पेनाल्टीमा निर्णायक गोल गरेका थिए।

आइतवारै भएको पहिलो खेलमा मछिन्द्रलाई ३-० ले पराजित गर्दै पहिलो जित हात पारेको फ्रेण्ड्सको पनि ४ अंक छ। गोल अन्तरमा फ्रेण्ड्स नवौँ स्थानमा छ। समान अंक रहेको एपीएफ भने ११औँ स्थानमा झरेको छ।

४ अंक नै रहेको अर्को क्लब च्यास युथ आठौँ स्थानमा छ। ३ अंक रहेको ब्रिगेड १२औँ स्थानमा छ भने मछिन्द्र २ अंकसहित १३औँ स्थानमा छ। मछिन्द्र र पूछारमा रहेको एनआरटी जितविहिन छन्। एनआरटीको १ अंक मात्र छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell