PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

ए डिभिजन लिग : मनाङ र आर्मी पाँचौ चरणसम्म अपराजित, दुई क्लबको पहिलो जित, दुई क्लब अझै जितविहिन



गोविन्दराज नेपाल

ए डिभिजन लिग : मनाङ र आर्मी पाँचौ चरणसम्म अपराजित, दुई क्लबको पहिलो जित, दुई क्लब अझै जितविहिन

काठमाडौँ : गत असोज १३ गतेदेखि सुरु भएको पल्सर सहिद स्मारक ए डिभिजन लिग २०७५ मा पाँचौ चरणसम्मको खेल सकिएको छ। लिगमा सहभागि १४ क्लबले ५-५ खेल खेलिसकेका छन्। लिगमा एकतिहाई भन्दा बढी खेल सकिएको छ।

यसैगरी उपाधि कसले जित्छ भन्ने अनुमान पनि सुरु भइसकेको छ। पाँच चरणसम्म अपराजित मनाङ मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा थ्री स्टार क्लब उपाधि होडमा सबैभन्दा अगाडी देखिएका छन्।

अपराजित मनाङ र आर्मीसँगै थ्री स्टार, संकटा र नेपाल पुलिस अंकतालिकामा अगाडी छन्।

पाँचौ चरणमा पुगेर फ्रेण्ड्स र जावलाखेलले पहिलो जित हात पारे भने हिमालयन शेर्पाको अपराजित यात्रामा आर्मीले ब्रेक लगाइदिएको छ। पाँचौ चरणसम्म आइपुग्दा दुई क्लब भने अझै जितविहिन छन्।

 

पाँचौ चरणको खेलको नतिजा

एनआरटी ०-३ पुलिस

थ्री स्टार २-० एपीएप

च्यासल युथ क्लब १-२ संकटा

मनाङ मर्स्याङ्दी २-० सरस्वती युथ क्लब

मछिन्द्र ०-३ फ्रेण्ड्स

त्रिभुवन आर्मी २-१ हिमालयन शेर्पा

ब्रिगेड ०-१ जावलाखेल युथ

मनाङ र आर्मी अपराजित

उपाधि दाबेदारमा सबैभन्दा अगाडी देखिएका दुई क्लब हुन्, मनाङ र आर्मी। यी दुई क्लबले अपराजित यात्रालाई पाँचौ चरणसम्म कायम राखेका छन्। मनाङले खेलेको पाँच वटै खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ।

पाँचौ चरणको खेलमा मनाङले सरस्वती युथ क्लबलाई २-० ले हरायो। यस्तै आर्मीले हिमालयन शेर्पालाई २-१ ले पराजित गर्दै चौथो जित हात पारेको हो।

पाँच खेलबाट १५ अंकसहित मनाङ शीर्ष स्थानमा छ। चार जित र एक बराबरीसहित १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ।

मनाङ र आर्मीलाई पछ्याइरहेको थ्री स्टार संकटाले समान १२ अंक जोडेका छन्। दुवै क्लबले चार खेल जिते र एक हारको नतिजा निकालेका छन्। गोलअन्तरमा थ्री स्टार अगाडी छ।

पाँचौ चरणको खेलमा थ्री स्टारले एपीएफलाई २-० ले पराजित गरेको थियो भने संकटाले च्यासल युथ क्लबमाथि २-१ को जित हात पारेको थियो।

यी चार क्लबलाई टक्कर दिइरहेको अन्य दुई क्लबमा नेपाल पुलिस र हिमालयन शेर्पा रहेको छ। पुलिस र शेर्पाको समान १० अंक छ। गोलअन्तरमा पुलिस शेर्पाभन्दा अगाडी छ। पुलिसले पछिल्लो खेलमा एनआरटीमाथि ३-० को जित हात पारेको थियो। जुन यस सिजन पुलिसको फराकिलो जित अन्तर हो। यस्तै हिमालयन शेर्पाको अपराजित यात्रामा भने आर्मीले ब्रेक लगाइदिएको छ।

पाँचौ चरणको एकपछि थ्री स्टार, संकटा र पुलिसले एक-एक स्थान सुधार गर्दा पहिलो हार बेहोरेको शेर्पा भने तीन स्थान तल झरेको छ।

यी ६ क्लबमध्ये मनाङ, आर्मी र थ्री स्टारका प्रशिक्षकले आफ्नो टार्गेट उपाधि जित्नु नै रहेको बताउँदै आएका छन्। यस्तै कुनै समय घरेलु फुटबलमा वर्चस्व कायम गरेको पुलिस अहिले युवा खेलाडीहरुको साथमा ठूला क्लबहरुलाई टक्कर दिइरहेको छ। पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसको पुरानो साख फर्काउने बताएका छन्। संकटाको लक्ष्य टप फाइभ र शेर्पाको लक्ष्य टप सिक्स रहेको छ।

च्यासलको खराब प्रदर्शन जारी

संकटासँग पाँचौ चरणको खेलमा २-१ ले हारेपछि च्यासलका प्रशिक्षक राजु काजी शाक्यले अब आफूहरु उपाधि दाबेदारीबाट आउट भएको प्रतिक्रिया दिए।

राष्ट्रिय टिमका खेलाडीहरु विमल घर्ती मगर, हेमन्त थापा मगर, देवेन्द्र तामाङ अनी पूर्व स्ट्राइकर सन्तोष साउखललाई जापानबाट बोलाएको च्यासलले सोचेअनुसारको प्रदर्शन गर्न सकेन।

हुनत च्यासलको यो डेब्यु ए डिभिजन लिग हो। विमलले पनि पहिलो पटक एडिभिजन लिग खेलिरहेका छन्। तर पनि खेलाडी नाम र प्रशिक्षकको नामका कारण च्यासलाई राम्रो टिमको रुपमा हेरिएको थियो। मैदानमा भने च्यासले अपेक्षाअनुसारको खेल देखाउन सकेको छैन।

फेस्टिभल ब्रेकपछि नवलपरासीमा राइनो गोल्डकपको उपाधि जित्दै च्यासल काठमाडौँमा लिग खेल्न आंएको थियो। तर त्यसपछि च्यासलले एनआरटीलाई ५-१ ले पारजित गर्नु नै उपलब्धी रह्यो। यो खेल एन्फा कम्प्लेक्समा भएको थियो। हललचोक मैदानमा खेलेको अन्य तीन खेलमा भने च्यासल आर्मी, पुलिस र संकटासँग पराजित भयो।

पाँच खेलबाट ४ अंक मात्र जोडेको च्यासल अंक तालिकामा आठौँ स्थानमा छ।

पाँच मध्ये २ खेल जित्दै ६ अंक जोडेको सरस्वती युथ क्लब च्यासभन्दा अगाडी सातौँ स्थानमा छ।

 

फ्रेण्ड्स र जावलाखेलको पहिलो जित, मछिन्द्र र एनआरटी जितविहिन

ललतिपुरका दुई क्लब फ्रेण्ड्स र जावलाखेल युथले पाँचौ चरणमा पुगेर पहिलो जित हात पारे। फ्रेण्ड्सले मछिन्द्रलाई ३-० ले तथा जावलाखेलले ब्रिगेडलाई १-० ले हरायो। ब्रिगेडले यसअघि नै एक खेल जितिसकेको छ।

सुरुको दुई खेलमा बराबरी खेलेको मछिन्द्रले भने लगातार तेस्रो हार बेहोरिसकेको छ र एनआरटीसँगै जितविहन छ।

उता पहिलो खेलमा आर्मीसँग अंक खोसेको एनआरटीले लगातार चार खेल हारिसकेको छ। लिगमा सातौँ/आठौँ स्थानमा रहने लक्ष्य बनाएको एनआरटीले पाँच वटै खेल ठूलो क्लबसँग खेलेको छ। अझै उसले संकटा हिमालयन शेर्पासँग खेल्न बाँकी छ। त्यसपछि बाँकी खेलमा कस्तो प्रदर्शन गर्नेछ त्यसबाटै एनआरटीको स्थान कहा हुने टुङ्गो लाग्नेछ।

पहिलो जित हात पारेको फ्रेण्ड्स र जावालखेलले समान ४ अंक जोडेका छन्। फ्रेण्ड्स नवौँ र जावलाखेल दशौँ स्थानमा छ। ४ अं नै रहेको एपीएफ गोलअन्तरमा पछि रहँदै ११औँ स्थानमा छ।

ब्रिगेड (३) १२औँ स्थानमा छ भने मछिन्द्र (२) १३औँ र एनआरटी (१) १४औँ स्थानमा छ।

 

दुई प्रकारको क्लब

एन्फाले यस पटक रेलिगेशन नहुने लिग आयोजना गरिरहेको छ। जसमा उपाधि जित्ने क्लबबीच प्रतिस्पर्धा भएपनि अंक तालिकामा पूछारमा रहने क्लबबीच खासै प्रतिस्पर्धा छैन। यसअघि अंकतालिकामा तल रहने क्लब रेलिगेशन जोगाउनका लागि खेल्थे। अहिले त्यस्तो अवस्था छैन।

पूछारमा रहने क्लबहरु पनि अर्को सिजनका लागि ए डिभिजन लिगमै रहनेछन्। भलै पूछारको दुई स्थानको क्लको एक र दुई अंक अर्कोसिजनको लागि माइनस हुनेछ भने तयारी रकममा कटौती गरिनेछ।

यस पटक सहभागि १४ क्लबमा दुई धार देखिएको छ। उपाधिको मुख्य दाबेदारसँगै अन्य ठूला क्लबहरु टफ फाइभका लागि फाइट गर्दैछन्। बाँकी क्लबहरु भने सातौँ/आठौँ स्थानका लागि खेलिरहेका छन्। लक्ष्य सातौँ आठौँमा पर्ने भएपनि त्यसभन्दा तल रहेपनि क्लबहरुलाई खासै असर भने पर्ने छैन।

ति क्लबहरुले आउने सिजनका लागि खेलाडी तयार पार्ने अवसरका रुपमा यस सिजनको लिग खेलिरहेका छन्।

 

...................

छैटौँ चरणको खेल भोलीबाट

आयोजक एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार छैटौँ चरणको खेलहरु भोलीबाट सुरु हुनेछ। एक दिनको ग्यापपछि नै छैटौँ चरणको खेल हुन लागेको हो।

भोली पहिलो खेल एपीएफ र एनआरटी तथा दोस्रो खेल नेपाल पुलिस र संकटा क्लबबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell