डिसेम्बर ४ सोमबार। अबिन भोको मोबाइलमा एक्कासी नोटिफिकेसनको बाढी लाग्यो। फेसबुक, इन्स्टाग्राम, युट्युब सबैतिर। श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा पुगेको खबरसँग नोटिफिकेसनको वर्षा भएको थियो।
श्रृङ्खलाले मल्टिमिडिया अवार्ड विजेता घोषणा भएसँगै आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत खुशी साटिन्। सबैलाई आभार प्रकट गरिरहँदा विशेष धन्यवादका पात्र बनेका थिए ‘अबिन भो’। भो तिनै हुन् जसले श्रृङ्खला चिनाउने भिडियो बनाएका थिए।
श्रृङ्खलाले पोस्टमा लेखेकी छिन्- ‘मेरो परिचयात्मक भिडियोका लागि धन्यवाद अबिन। त्यो भिडियो अहिले सबै नेपालीको मुटुमा छ। यो जीतमा त्यो भिडियोको भूमिका विशेष छ।'
‘अन त मेरो युट्युब च्यानलको सब्स्क्राइबर त ह्वात्तै बढ्यो। इन्स्टाग्राममा फलोअर्स पनि,’ अबिन दङ्ग पर्दै सुनाउँछन्।
श्रृङ्खलाले जित्नुअघि चर्चामा रहेको भिडियो बनाउनेको खोजी भने उनको जितपछि भयो। त्यसैले त १४ हजार सब्स्क्राइबर रहेको उनको युट्युब च्यानलमा फलोअरहरु ह्वात्तै बढ्न थाले। ४ दिनमै करिव ३० हजार थपिए।
‘मेसेज र मेन्सन त कति कति। खुशी लागेको छ,' उनले भने, 'तर, सबैलाई रिप्लाइ गर्न नभ्याउँदा नराम्रो महसुस गर्छु।'
श्रृङ्खला खतिवडाको युट्युब च्यानलमा २ साता अघि अपलोड भएको भिडियोमा पहिलो कमेन्ट अबिनले नै गरेका थिए, साथ र सहयोगको अपिलसहित। त्यसमा पनि धेरैको आँखा जितपछि मात्र पुग्यो। हाल त्यही कमेन्टमै चार हजारभन्दा बढी लाइक र डेढ सय बढी कमेन्ट छन्।
भन्छन्,'सबै कुराको आफ्नै समय हुने रहेछ।‘
शृङ्खलाको मिस वर्ल्ड यात्राले चर्चाको चुलीमा पुराइरहेको भए पनि उनी भिडियो मेकिङ र फिल्मिङमा नयाँ मान्छे भने होइनन्। भिडियो र डकुमेन्ट्री नै उनको पेशा हो। उमेरले भर्खरै २० वर्ष टेकेका उनी भन्छन्, 'यही सेक्टरमा प्यासन छ। मिहेनत पनि गर्न सक्छु। त्यसैले होला मलाई कुनै पनि काम गर्दा म सानै छु जस्तो कहिले पनि लागेन।'
***
भोका बुबा यादवदास भोछिभोया फिल्म मेकर हुन्। उनी नेवारी फिल्मका लागि अडियो भिजुअलको काम गर्छन्। त्यसैले बाल्यकाल देखि नै उनी क्यामेरा, कम्प्युटरसँग नजिक रहे, बुबाको फुर्सदमा धेरै कुरा सिक्न पाए।
त्यति हुँदाहुँदै पनि आफूले चाहेको बेलामा क्यामेरा भने चलाउन पाएनन्। बिगार्ला भन्ने डरले हुनसक्छ बुबाले दिँदैनथे। नपाउनुका कारण उनको क्यामेराप्रतिको मोह झन् बढ्दै गयो। कहिले काहीँ साथीहरुसँग क्यामरा मागेरै पनि फोटो र भिडियो खिच्थे। सम्पादन गर्थे। बुबासँग भएको क्यामेराले झनै राम्रो खिच्छ भन्ने थाहा थियो। त्यसैले कहिले काहीँ थाहै नदिइ झिक्थे र चलाउँथे।
अबिन सम्झन्छन्- ‘पछिपछि त ड्याडीले ताल्चा लगाएर राख्न थाल्नु भयो। कर गरेर माग्दा पनि दिनुहुन्थेन।'
कक्षा ८ मा पढ्दै गर्दा उनमा सर्ट फिल्म बनाउने 'भूत सवार' भयो। तर, उनीसँग न क्यामेरा थियो न त कुनै कथा। तर, फिल्म बनाउने हुटहुटीले छोडेन। सधैं झै साथीको डिजिटल क्यामेराले खिच्ने तय गरे। उनको आइडिया, एउटा साथीको क्यामेरा, अरुहरुको साथ। अनि सिङ्गो क्रु तयार भयो।
‘काम गर्ने जोश र आँट थियो तर कथा नै थिएन,’ हाँस्छन् र भन्छन्, 'हामीले अरुले बनाएको सर्ट मुभीको कथा साभार गर्यौं।'
घाउचोट प्रोडक्सनले बनाएको सर्ट फिल्मकै कथामा सर्ट फिल्म ‘बोइलर पारा’ बनाए। सुटिङका लागि दुई दिन लाग्यो। जसमा ‘ग्याङ्’कै साथ र सहयोग रह्यो। पोस्ट प्रोडक्सनमा कलर, साउन्डदेखि सट मिलाउने काम भने उनी एक्लैले गरे।
‘त्यो बेलामा के के न गरियो भन्ने भा'थ्यो। अहिले हेर्दा हाँसो लाग्छ,’ उनी सुनाउँछन्।
'बोइलर पारा' स्कूलमा देखाए। तारिफ र प्रतिक्रियाले सबैलाई हौस्यायो। सायद, उनको बुवालाई पनि। त्यसैले सिक्न चाहेको कुरामा रोक लगाएनन्। भो र साथीहरु मिलेर नियमित भिडियो खिच्न थाले। खिच्दै जाँदा कथा र कन्सेप्ट पनि आफै बन्दै गयो। किशोर अवस्थाको चञ्चलता र उर्जाले राम्रै गति लिँदै थियो। कक्षा १० मा पुगेपछि भने त्यो रफ्तारमा ब्रेक लाग्यो। स्कूलमा पढाई बिग्रने चेतावनी, घरकालाई पनि एसएलसीको चिन्ता। उनी पनि राम्रो पर्सेन्ट ल्याएर ए लेभल गर्न चाहन्थे।
‘प्लान नै ए लेभल गरेर अमेरिका जाने थियो, कम्प्युटर पढ्न,’ उनी पुरानो योजना सम्झन्छन्। सपना पूरा गर्नका लागि केही समयलाई प्यासन साइडमा राख्न पर्थ्यो, राखे। र, पढाइको प्रेसर अङ्गाले। पढुन्जेल भिडियो बनाएनन्।
ए लेभलमा साइन्स पढेका थिए। स्कोर पनि राम्रो। टोफेलमा राम्रो गर्न सके अमेरका उड्ने निश्चित थियो। त्यही सपना पूरा गर्ने बाटो बनाउन सन् २०१७ मा काठमाडौं आए। आवश्यक तयारी गरे। अठोट थियो ‘पढ्नका लागि हार्वड नै जान्छु’। विडम्बना त्यसो भएन। उनको भिजा रिजेक्ट भयो। दोहोर्याएर अप्लाइ गरे पुन: भएन।
अप्लाई गरुन्जेल काठमाडौंमा रहे। साथीहरुसँग समय बिताए। घुम्दा डुल्दा गल्लीहरुमा पुग्थे। पात्रहरु भेट्थे। चोक चोकका हरेक दृश्यमा सुन्दर सट कल्पन्थे। तर, उनीसँग क्यामेरा थिएन। साथीहरुको क्यामरा कति माग्नु?
‘काठमाडौंमा त हरेक सिन खिच्न पाए हुन्थ्यो, फिल्मिङ गर्न पाए हुन्थ्यो जस्तो लाग्ने,’ उनले ती दिन सम्झिए, 'तर, मैले भने नि हरेक कामका आफ्नै समय हुने रहेछ।’
***
यस्तै बीच २०१७ को अगस्तमा हनी गाइडले ट्राभल भिडियो प्रतियोगिता आयोजना गर्यो। प्रतियोगीले भिडियोमार्फत् – नेपाल हरेक मौसम घुम्नका लागि उपयुक्त ठाउँ रहेको देखाउनु पर्ने थियो। प्रथम पुरस्कार पन्ध्र हजार रुपैयाँ। उनका लागि यो प्रतियोगिता अवसर बन्यो, आफूले देखेर अरुलाई देखाउन खोजेको काठमाडौं खिच्ने। उनले सहभागिता जनाए।
उपत्यकाको गल्लीहरु चहारे। सम्पदाहरुमा पुगे। मान्छे भेटे। धार्मिक, सांस्कृतिक परम्परा नियाले। यी सब समेटेर भिडियो बनाए। नाम राखे: ‘अउरा अफ द भ्याली’।
उक्त भिडियोले प्रतिस्पर्धा जित्नु नै उनको फिल्मिङ करियरको टर्निङ पोइन्ट बन्यो।
‘मैले देखेको उपत्यका साँच्चै सुन्दर रहेछ। त्यसैले त मन पराइयो। त्यसपछि ‘अमेरिका ड्रिम’ प्राथमिकतामा रहेन। उनले केही समय डकुमेन्ट्री र भिडियो बनाउने काममा खर्चने बारे सोचेँ।
‘काम गर्दै जाँदा यतै राम्रो हुँदै गयो। कम्प्युटर पढ्ने मन क्यामेरा सिक्नतिर मोडियो,’ उनले भने।
प्रतियोगिता जिते लगत्तै बुद्ध एयरले उनलाई व्यवसायिक भिडियो बनाउनका लागि प्रस्ताव राख्यो। तर, उनीसँग न क्यामेरा थियो न अरु कुनै आवश्यक सामाग्री। भएको आँट बटुले र भने ‘हुन्छ। गर्छु।’
पहिलो भिडियो राम्रो बनेपछि बुद्ध एयरले अन्य सामाग्री बनाउनका लागि ग्रिन सिग्नल दियो। जिम्मेवारी लिएपछि फेरि अर्को साहस जुटाए। अष्ट्रेलियामा भएको बेस्ट फ्रेन्ड सौरभ सुनारसँग ‘लोन’ लिए- दुई लाख नेपाली रुपैयाँ। क्यामेरा किने ‘सोनी ए सेभेन फाइभ टु’।
बाल्यकालदेखि भिडियो खिच्नेदेखि इडिटिङमा सट, कलर र साउन्डको कामसम्म आफै गरेर ‘वान म्यान आर्मी’ बनिसकेका उनी। क्यामेरा हात लागेपछि हतियारको कमी भएन।
बुद्ध एयरको लागि बनाएको भिडियोहरु धेरैले रुचाउनु अर्को प्लस पोइन्ट बन्यो। जसका कारण अरु व्यवसायिक विज्ञापन र भिडियो बनाउन अफर आउन थाल्यो। त्यसैमा रमाउन पनि थाले। काम कसरी उत्कृष्ट बनाउन सकिन्छ खोज्न र बुझ्न थाले।
पढाइ ग्याप भएकोमा चिन्तिन परिवार उनको मेहनत देखेर खुशी भए। उनले चाहेजस्तै ‘क्रियटिभ फ्रिडम’ दिए।
‘मलाई स्वतन्त्र रहेर काम गर्न मजा लाग्छ। त्यस्तोमा आफूले सोचेको कुरालाई आफ्नै तरिकाले प्रस्तुत गर्न पाइन्छ,’ आफ्नो काम गर्ने शैली बारे प्रष्ट्याउँछन्, 'अरुले दिएको प्याट्रनमा काम त गरिन्छ तर राम्रो काम गर्न सकिँदैन।’
नियममा बाँधिन नरुचाउने उनी आफूलाई ‘मिस्टर पर्फेक्सनिस्ट भन्छन्। स्वतन्त्र रहेर काम गर्ने बानी र हरेक काममा उत्कृष्टता खोज्ने तरिका मन परेर नै श्रृङ्खलाले कामको प्रस्ताव गरेको उनको विश्वास छ।
त्यसअघि अबिन र श्रृङ्खलाले बुद्ध एयरको वाराणसीको प्रोजेक्टमा एकसाथ काम गरेका थिए। त्यतैबाट चिनजान भएको अबिनलाई एकदिन श्रृङखलाले बोलाइन्। मिस वर्ल्डका लागि परिचयात्मक भिडियो बनाउने प्रस्ताव राखिन्। उनले सिधैं भने ‘हुन्छ’। जब उनले आफ्नो कन्सेप्ट सुनाइन् तब चुनौती महसुस गरे।
श्रृङ्खलाले भनेकी थिइन्- मलाई भिडियोमा म होइन नेपाल देखाउनु छ।
‘सक्दिँन’ भन्ने पक्षमा उनी थिएनन्। त्यसैले लागे श्रृङखला र टोलीसँग गोसाईंकुण्ड। यात्रा रमाइलो थियो, सहज थिएन। घण्टौंको पैदल यात्रा, चिसोले हात खुट्टा कठ्याङ्ग्रिदो मौसम। ‘क्रुको सबैले जिन्दगीमा पहिलोपटक हिउँ परेको देख्न पायौं त्यसपछि भने काम गर्ने उत्साह थपियो,’ भो सुनाउँछन्।
उनी श्रृङ्खुला र टिमलाई भाग्यमानी ठान्छन् मौसम चाहेजस्तै भइदिएकोमा। सट दिँदा बादल, खिचिसकेपछि घाम। ‘बाह्र बजेको घाममा भिडियो राम्रो हुँदैनथ्यो। प्रकृतिले पनि साथ दियो। दिदी त जस्तो चिसो भएपनि बेस्ट सट दिन रेडी तर गाउन मात्र लगाउनु भएको देखेर माया लाग्थ्यो। त्यसैले घाम लाग्दा उहाँको लागि खुशी हुन्थ्यौं।'
दुई दिनको यात्रा सकेर टोली फर्कियो। अन्य दृश्यहरु भने काठमाडौं उपत्यकाभित्रै लिइएको हो।
ट्राभल भ्लग र डकुमेन्ट्रीमा रुची राख्ने उनका लागि उक्त प्रोजेक्ट बलियो प्ल्याटफर्म बन्नेमा ढुक्क थिए। त्यसैले आफ्नो शत् प्रतिशत दिए।
नतिजा- नोभेम्बर १६ भिडियो सार्वजनिक भएको दिन सामाजिक सञ्जालदेखि मिडियाहरुमा देखियो।
अहिले पाएको चर्चा, तारिफ, बधाई र धन्यवादको संदेश उर्जा बनेको बताउँछन्। भन्छन्, ‘यसरी राम्रो काम गरेर नै फिल्म मेकिङमा भविष्य छ भन्ने संदेश प्रवाह गर्न चाहन्छु।’
सँगै पढेका साथीहरुले कलेज जान थाल्दा उनी फिल्म मेकिङमा लागे, सिक्दै नसिकी। अमेरिकाको सपना स्थगित गरेर काठमाडौंका गल्लीमा कथा खोज्न हिँडे, बेपर्वाह। कतिले गाली गरे, लफङ्गो पनि भने- तर नसुनेझै गरिदिए।
नियम तोड्नुलाई नै आफ्नो कामको सुत्र मान्छन् उनी। उदाहरण दिन्छन्, ‘ज्ञानी बन्ने नियम पालना गरेर घरमै भएको क्यामेरा र कम्प्युटर नचलाएको भए कहाँ यो सब सिक्थेँ र?’
सन् २०२० उनी पर्यटन विकासमा केही योगदान पुर्याउन चाहन्छन् उनी। केही ट्राभल भिडियोसँगै आफ्नो पोर्टफोलियो बलियो बनाउन चाहन्छन्। त्यसपछि भने फिल्म पढ्न विदेशिने योजना छ।
‘सिक्न जानुछ। आएर उदाहरणीय नेपाली फिल्म बनाउने मन छ,’ उनले गन्तव्यबारे प्रस्ट्याए।
बुबाले खनिदिएको जगमा आफै गाह्रो थप्दै गए। केही सिके इन्टरनेटसँग। बाँकी सिक्नको लागि निस्कनुपर्छ, देख्नुपर्छ, खोज्नुपर्छ भन्ने उनको बुझाइ छ।
भन्छन्, 'मायाले बाँधेर राख्दा हिँड्नु पर्दैन, नहिँडेपछि लडिँदैन, चोट लाग्दैन। तर नहिँडेपछि कहीँ पनि पुगिँदैन भन्ने पनि सोच्नुपर्छ।’
‘दादाले गर्दा ड्याडी ममीले पनि यो कुरा बुझ्नु भयो। आजकाल भन्नुहुन्छ- १८ वर्षको उमेरसम्म राम्रो वातावरण दिनसके त्यसपछि छोराछोरी बिग्रन्छन् भनेर नडराए हुनेरै'छ,’ नजिकै बसेर कुराकानी सुनिरहेकी बहिनी यशश्वी भन्छिन्, 'दे आर प्राउड अफ हिम।’