PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

इपीएल : लो स्कोरिङ म्याचमा करण केसीको 'वान मेन सो', विराटनगर वारियर्सको विजयी सुरुवात



गोविन्दराज नेपाल

इपीएल : लो स्कोरिङ म्याचमा करण केसीको  'वान मेन सो', विराटनगर वारियर्सको विजयी सुरुवात

काठमाडौँ : करण केसीको अलराउण्ड प्रदर्शन अनी स्पिनरको उत्कृष्ट प्रदर्शनमा साविक विजेता विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गरेको छ।

इपीएल २०१८ को उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै २ अंक जोडेको हो।

वारियर्सलाई जित दिलाउन करण केसीले १९ बलमा नटआउट ३६ रन बनाए। २ विकेट समेत लिएका करण खेलको म्यान अफ दि म्याच चुनिए।

लो स्कोरिङ म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा विराटनगरले एक बल बाँकी छदा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

विराटनगरका कप्तान पारस खड्काले टीयूको विकेटमा खेल्न कठिन भएपनि करणले राम्रो इनिङ्स खेलेर जिताएको भन्दै प्रशंसा गरे।

सातौँ नम्वरमा ब्याटिङ गरेका करणले १९ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा नटआउट ३६ रन बनाए।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १० रन चाहिएको अवस्थामा ललितपुरले नयाँ बलर योगेन्द्रसिंहकार्कीलाई बलिङ गराएको थियो। उनको पहिलो बलमा करण केसीले २ रन लिए भने दोस्रो बलमा छक्का प्रहार गर्दै लक्ष्य सहज बनाए। तेस्रो बलमा कारणले एक रन लिएपछि स्कोर टाई भएको थियो। चोथो बलमा मिकेरनले रन लिन नसकेपनि पाँचौ बलमा एक रन जोड्दै जितको औपचारिकता पुरा गरे।

कम लक्ष्य पछ्याएको विराटनगरले ७३ रन बनाउँदा ७ विकेट गुमाएपछि करणले डच खेलाडी पउन भान मिकेरेनसँग ३२ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याए। मिकेरेन ९ रनमा नटआउट रहे। ओपनर आरिफ शेखले १९ र अनिल कुमार शाहले ११ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा ललितपुरका स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरे। गौरव तोमारले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिए। नेपालका स्टार सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए।

ललितपुरका लागि सबैभन्दा महँगो सावित बनेका फास्ट बलर रसिद खानले ३ ओभरमा ३१ रन खर्चे।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गर्को ललितपुरले खराब सुरुवात गरेपनि पूरै २० ओभर खेल्दै १०४ रन बनायो। कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउनबाट एक रनले मात्र चुके। उनी अन्तिम ओभरको पाँचौ बलमा करण केसीको बलमा आउट भए। मल्लले ५२ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४९ रन बनाए।

पहिलो ओभरमै जयकसिसन कोल्सावाला (४) लाई करण केसीले आउट गरेपछि ललितरपुले नियुकित अन्तरमा विकेट गुमाएको थियो। पाँचौ विकेटका लागि मल्ले सन्नी पटेलसँग ३४ रनको साझेदारी गरेका थिए। त्यो नै ललितपुरको इनिङ्समा ठूलो साझेदारी थियो। पटेलले २० रन बनाए। पवन सराफले १४ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा विराटनगरका रोलेफ भान डेर मर्वे र करण केसीले २-२ विकेट लिए। किफायती बलिङ गरेमा मर्वेले ४ ओभमा १४ रन मात्र खर्चे। करणले ४ ओभरमा २० रन खर्चे। यस्तै सन्त रेग्मीले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिए। एक ओभर मात्र बलिङ गरेका कप्तान पारसले ४ रन दिएर १ विकेट लिए।

पहिलो खेल जितेपछि विराटनगरका कप्तान पारस खड्काले जितबाट खुशी रहेपनि विकेटमा १०५ को लक्ष्य पछ्याउन पनि त्यो विकेटमा गाह्रो भएको बताए। 'एक ब्याट्सम्यानले राम्रो गर्दा खेल जितिने भएपनि टप अर्डर नचल्दा करणले राम्रो इनिङ्स खेलेर चाहेको बेला जिताए।'

करणले खेल जिताउन सक्छ भन्ने विश्वस्त भएको र करणले त्यही अनुसार खेलेको पारसले बताए। 'ओभरअल बलिङ युनिटबाट खुशी छौँ। फिल्डिङमा हामीले केही चान्स मिस गर्‍यो। अझै २० रन कममा रोक्न सक्यौँ। तर पनि हामीले जित्यौँ। फस्ट डे फस्ट विन। आशा छ वि क्यान कन्टिनिउ एण्ड कमब्याक स्ट्रोङ्गर आफ्टर कफल अप डेज।'

पारसले विदेशी खेलाडीद्वय भान मर्वे र मिकेरेन प्रोफेसनल प्लेअर भएको र उनीहरुले पनि राम्रो प्रदर्शन गरेको बताए।

म्यान अफ दि म्याच बनेका करणले ब्याटिङ गर्न जाँदा 'यु आर दि बेस्ट यु क्यान डु इट' भनेर प्रशिक्षकहरुले भनेको र त्यही अनुसार आफूले ब्याटिङ गरेको बताए। 'ब्याटिङ गर्दा विकेटमा नहेर बलमा मात्र हेरे ब्याटिङ गरेँ। म्याच जिताउँदा खुशी लागिराछ।' विपक्षी बलरले लुज बल फाल्दा जसरी पनि हानिहाल्ने रणनीत बनाएकोले सन्नी पटेलको बलमा छक्का हान्न सफल भएको बताए।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ले लो स्कोरिङ भएपनि खेल उत्साहजनक भएको प्रतिक्रिया दिए। 'जित नजिक भएर पनि चुक्यौँ। तरपनि बलिङ युनिटले धेरै राम्रो गर्‍यो। १०५ डिफेण्ड गर्न जुन फाइटिङ स्प्रिट देखायो त्यो राम्रो हो। ब्याटिङमा हामी १५ रनजती पछि थियौँ।' पहिलो खेलमा पराजित भएपछि मल्लले भने। 'यो विकेटमा खेल्न अली गाह्रो थियो। सुरुमै बल टर्न भइरहेको थियो जसले ब्याटिङ गर्न गाह्रो भइरहेको थियो।। दोस्रो इनिङ्समा पनि त्यस्तै थियो।'

यस्तै ललितपुरका प्रशिक्षक राजु बस्न्यातले पनि पिच सोचेभन्दा फरक भएकोले ब्याटिङ गर्न गाह्रो भएको बताए। 'ब्याटिङ कमजोर हुनु पिचको कारण हो। हामीले सोचेभन्दा फरक भयो। एउटा टिमले मात्र होइन, दुवै टिमलाई ब्याटिङ गर्न गाह्रो भइरहेको थियो। स्पिनरहरुको बल खेल्न यो पिचमा अझ गाह्रो छ।'

'पहिलो इनिङ्समा जसरी पिचले बिहेभ गरिरहेको थियो हाम्रो बलिङ स्ट्रेन्थ अनुसार १०५ रन डिफेण्डन गर्न सकिने थियो तर विराटनगरको पनि करणले मात्र खेलेर खेल जितायो। नत्र ११० रन जति बनाउने हो भने यो पिचमा धेरै गाह्रो छ।' बस्न्यातले भने। उनले आगामी खेलहरुमा राम्रो प्रदर्शन गर्ने बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell