PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विदेशी खेलाडीको भर पर्दा पोखरा र चितवनको उस्तै हालत, लगातार तीन खेल हारेपछि क्वालिफायर पुग्न कठिन



गोविन्दराज नेपाल

विदेशी खेलाडीको भर पर्दा पोखरा र चितवनको उस्तै हालत, लगातार तीन खेल हारेपछि क्वालिफायर पुग्न कठिन

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल २०१८) सुरु हुनुअघि ठूला नामका विदेशी खेलाडी नेपाल आउने खबरले निकै चर्चा पायो। आउनपनि टेष्ट क्रिकेट खेलेका देखि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिसकेका खेलाडीहरु नेपाल आए।

इपीएलमा सहभागि ६ मध्ये ४ टोलिले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्दा चार टोलीले ३-३ विदेशी खेलाडी अनुबन्ध गरे। यसरी २० खेलाडी इपीएल खेल्न अनुबन्ध भए।

उत्कृष्ट विदेशी खेलाडी भित्र्याउनेमा सबैभन्दा अगाडी रहेको पोखरा राइनोजले ४ विदेशी खेलाडी र विदेशी प्रशिक्षक नै नियुक्त गर्‍यो। साविक विजेता विराटनगर वारियर्सले पनि चार विदेशी खेलाडी र विदेशी प्रशिक्षक भित्र्यायो।

पोखराले कुनै समय टी-२० मा सबैभन्दा छिटो शतक प्रहार गर्ने दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान कायल कोत्जर र इंग्ल्याण्डमा काउन्टी क्रिकेट खेलिसकेका पउल कघिलनलाई नेपाल ल्याएको हो। यस्तै प्रशिक्षकमा अष्ट्रेलियाबाट नाथन डोडलाई भित्र्यायो।

यस्तै आयरल्याण्डका विष्फोटक ओपनर पउल स्ट्रलिङसहित इंग्ल्याण्डमा काउन्टी खेल्ने जोन सिम्पसन र जर्ज स्कटलाई चितवन टाइगर्सले अनुबन्ध गर्‍यो। गत सिजन विविध कारणले राम्रो गर्न नसकेको चितवनले यस पटक टिम बलियो बनाउन र उपाधि दाबेदारी दिन भन्दै तीन विदेशी खेलाडी ल्याएर टिम सन्तुलित बनाएको जनाएको थियो।

तर यही ठूला नामका विदेशी खेलाडी भित्र्याउने पोखरा र चितवनको प्रदर्शन यस पटक इपीएलमा राम्रो हुन सकेन।

दुवै टोलीले लगातार तीन खेल खेल्दा तीन खेलमा पराजित भए। केही हदसम्म यसको कारण विदेशी खेलाडीमा निर्भर परेकाले पनि हुन सक्छ।

चितवन पहिलो खेलमा ललितपुर प्याट्रिओट्ससँग ११ रनले, दोस्रो खेलमा काठमाडौँ किंग्स ११ सँग ६ विकेटले तथा तेस्रो खेलमा भैरहवा ग्लाडिएटर्ससँग १२ रनले पराजित भयो।

उता पोखरा पहिलो खेलमा भैरहवासँग ४ विकेटले, दोस्रो खेलमा ललितपुरसँग ८ विकेटले तथा तेस्रो खेलमा विराटनगरसँग पराजित भयो। इपीएलकै पहिलो सुपर ओभर खेलमा पोखरा विराटनगरले दिएको २१ रनको लक्ष्य पुरा गर्न नसक्दा पराजित भयो।

लेभी र कोत्जरले पोखराको ओपनिङ सम्हालेका थिए भने स्ट्रलिङले पनि चितवनको ओपनिङ गरेका थिए। यीनीहरुले राम्रो प्रदर्शन गरेपनि समग्र टिमले राम्रो गर्न नसकेकै कारण टिमले हारे बेहोर्नुपर्को प्रष्ट देखिन्छ।

रिचर्ड लेभी

चितवनबाट ब्याटिङमा दिपेन्द्रसिंह ऐरीले राम्रो प्रदर्शन गरेपनि अन्य नेपाली खेलाडीको प्रदर्शन सम्झन लायक छैन। दिपेन्द्र गत सिजन कप्तान र मार्की खेलाडी थिए। यस पटक पृथु बास्कोटाले चितवनको कप्तानी गरिरहेका छन्।

तीन विदेशी खेलाडीसँगै युवा नेपाली खेलाडी रहेको चितवन सन्तुलित देखिएपनि त्यसअनुसारको प्रदर्शन देख्न सकिएको छैन।

दुई खेलमा १४४ रनको लक्ष्य पाएको चितवनले राम्रो सुरुवात गरेपनि जितसम्म पुग्न सकेन। भैरहवा विरुद्ध १४४ रनको लक्ष्य पछ्याउँदा ४ ओभरमा ४९-० को अवस्थामा रहेको चितवनले २० ओभरमा १३१-९ रन मात्र बनाउन सक्यो।

चितवनका पउल स्ट्रलिङ

गत सिजन कप्तान र मार्की खेलाडी रहेको भेट्रान स्पिनर शक्ति गौचनलाई हटाउँदै पोखराले स्कटिस खेलाडी कोत्जरलाई कप्तान नियुक्त गर्दै ठूलो जिम्मेवारी दिएको थियो। स्कटल्याण्डको कप्तान समेत रहेकाले उनलाई फ्रेन्चाइजले विश्वास देखाएको समेत हुन सक्छ। तर कोत्जरको कप्तानीमा पोखरा खेल जित्न भने सकेन। सुरुवाती दुई खेलमा पोखराले उच्च स्कोर बनाएपनि डिफेण्ड गर्न सकेन र हार बेहोर्न बाध्य भयो।

इपीएलको इतिहासमै सबैभन्दा धेरै रन बनेको खेलमा पोखराले दिएको २१६ रनको लक्ष्य भैरहवा ग्लाडिएटर्सले चेस गरेको थियो। उक्त खेलमा लेभी र कोत्जरले शतकिय साझेदारी गरेका थिए। उक्त खेलमा लेभीले विष्फोटक ब्याटिङ गर्दै ३६ बलमा ७ चौकार ७ छक्काको मद्दतमा बलमा ७९ रन बनाएका थिए। तर भारतीय खेलाडि रवी इन्द्र सिंहले नटआउट १२५ रन बनाएपछि भैरहवा विजयी हुँदा लेभीको इनिङ्स छायाँमा पर्‍यो।

यस्तै ललितपुर विरुद्ध पनि लेभीले ३९ बलमा ३ चौका र ९ छक्काको मद्दतमा ८४ रन बनाउदै लगातार दोस्रो अर्धशतक प्रहार गरेका थिए। उक्त खेलमा लेभीले कोत्जरसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले २५ बल अगावै २ विकेट गुमाएर पुरा गरेको थियो।

यस्तै तेस्रो खेलमा पोखराले विराटनगर विरौध ८४ रन मात्र बनाउन सकेपछि विपक्षीलाई ८४ रनमै अलआउट गर्दै खेललाई सुपर ओभरसम्म पुर्‍याएको थियो। तर सुपर ओभरमा विराटनगरका करण केसी एक्लैले २० रन बनाएपछि पोखराले जवाफमा १३ रन मात्र बनाउन सक्यो। यस खेलमा पोखराका बलरहरुले राम्रो प्रदर्शन गरेका थिए।

अहिलेसम्म सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीको सूचीमा पोखराकै खेलाडी अगाडी छन्। यस्तै शीर्ष दशमा पनि पोखरा र चितवनका खेलाडी धेरै छन्। तर टिमले भने नतिजा आफ्नो पक्षमा ल्याउन सकेको छैन।

लेभी दुई खेलमा १६६ रन बनाउँदै धेरै रन बनाउनेमा पहिलो स्थानमा छन्। यस्तै ८९ रन बनाएका चितवनका दीपेन्द्र ऐरी नेपाली खेलाडीमा पहिलो र समग्रमा चौथो स्थानमा छन्।

बलिङमा पोखराका सुशन भारी र पउल कघलिनले ललितपुरका सन्दीप लामिछाने समान ५ विकेट लिएका छन्। दुई खेल खेलेर ललितपुर प्याट्रिओट्सका सन्दीप बिबीएल खेल्न अष्ट्रेलिया पुगिसकेका छन्।

यस्तै पोखराका विक्रम सोव र चितवनका जर्ज स्टाले समान ४ विकेट लिएका छन्।

पोखरा र चितवनले अब लिगमा दुई-दुई खेल खेल्न बाँकी छ। दुवैले शीर्ष चारमा रहँदै क्वालिफायर पुग्न बाँकी दुवै खेल जित्नैपर्नेछ र अन्य खेलको नतिजा कुर्नुपर्नेछ। तर यी दुईले एकआपसमा खेल्न बाँकी छ। उक्त खेल शनिवार हुनेछ। त्यसअघि शुक्रवार हुने खेलमा चितवनले विराटनगर वारियर्स र पोखराले काठमाडौँ किंग्स ११ सँग खेल्नेछ।

चितवन र पोखरामध्ये शनिवार हुने खेलमा पराजित हुने टिम लिग चरणबाटै बाहिरिने पक्का छ।

प्रतियोगितामा अहिलेसम्म साविक विजेता विराटनगर वारियर्स र साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले खेलेका दुवै खेल जितेका छन्। दुवै टोली अपराजित छन् र ४ अंक जोडेका छन्। यस्तै उद्घाटन खेलमा विराटनगरसँग हारेपनि त्यसपछि लगातार दुई खेल जितेको ललितपुर प्याट्रिओट्सले ३ खेलबाट ४ अंक जोडिसकेको छ। क्वालिफायरमा पुग्न यी तीन टोली अगाडी देखिएका छन्। यस्तै काठमाडौँ किंग्स ११ ले पनि पहिलो खेल जित्दै २ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell