PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

एउटा पुतली जसले मिलनलाई बनायो 'दी बटरफ्लाइ म्यान' : यसरी तयार हुँदैछ शहर सजाउने उनको नयाँ प्रोजेक्ट 'भर्टिकल गार्डेन'



स्वेच्छा राउत

एउटा पुतली जसले मिलनलाई बनायो 'दी बटरफ्लाइ म्यान' : यसरी तयार हुँदैछ शहर सजाउने उनको नयाँ प्रोजेक्ट 'भर्टिकल गार्डेन'

असोज ८ गते सोमबार, मिलन राई बानेश्वरबाट साइकलमा हुइकिँदै ललितपुर महानगरपालिकाको कार्यालय पुगे। तर, कार्यालय बन्द रहेछ। जुन दिन उनी पुगेका थिए त्यो दिन इन्द्रजात्रा थियो भन्ने उनलाई चालै रहेनछ।

उनी निराश भए। किनकि ठिक दुई दिनअघि त्यसैगरी हुत्तेर त्यहाँ पुग्दा शनिबार परेको थियो। करिब तीन महिनादेखि ललितपुरका सार्वजनिक पर्खाल र भित्ताहरुमा ‘भर्टिकल गार्डेन’ बनाउने प्रस्ताव लिएर त्यहाँ धाउन थालेका थिए, मिलन। हरेक पटक जाँदा महानगरपालिकाका कर्मचारी उनको योजनाप्रति सकारात्मक बनिदिन्थे। तर, काम भने शून्य।

‘आज त जसरी पनि भेटेर कामको कुरा गर्छु भन्यो, त्यही दिन बिदा पर्ने। पहिलो पटक त हाँस्दै फर्किएको थिएँ,’ उनले सम्झिए, 'दोस्रो पटकको निराशा भने धेरै बेर रहेन।’

एक्कासी मेयर चिरिबाबु महर्जन बाटोमै भेटिए। मिलनले उनलाई रोके। र, हत्तपत्त आफ्नो कुरा राखिहाले। उनी चाहन्थे ललितपुरका भत्किएका र अव्यवस्थित सार्वजनिक पर्खालहरुमा बोट, बिरुवा रोप्न र कलात्मक ढङ्गले सजावट गर्न। नगरपालिकाले उनको प्रस्ताव स्वीकारेको थियो। तर, सरकारी कार्यालयमा हुने ढिलासुस्तीबाट उनको योजना किन फरक हुन्थ्यो?

जोगैले बाटोमा भेटिएका महर्जनले अप्रत्यासित रुपमा नै मिलनलाई आफ्नो गाडीमा चढ्न भने। त्यहीँ कुराकानी भयो। मिलनले फोटोसप गरेर लगेका भर्टिकल गार्डेनका चित्रहरु चिरिबाबुले गाडीभित्रै हेरे अनि बनाउन सम्भव ठाउँहरुको खोजी समेत गरे।

‘अप्ठ्यारा, बाधाहरु प्रसस्तै हुन्छन्, तीनलाई चिरेर अघि बढ्ने हो भन्ने कुरा भयो। कुरा सुन्ने र मनन गर्ने मेयरको बानी निक्कै मन पर्‍यो । यो पटक उहाँले पक्का वचन दिएर छुट्टिनुभयो,’ मेयरको सकारात्मक स्वीकारोक्तिको खुलेर प्रशंसा गर्छन् मिलन्।

त्यसको भोलिपल्टै मेयरले मिलन र सम्बन्धित कर्मचारी राखेर भर्टिकल गार्डेनको योजना सुनाए। सहयोग र साथको निर्देशन सहित। त्यसको केही महिनापछि मात्र काम सुरु भयो। मिलनको निरन्तर झक्झकाउने बानी र धैर्यताले बल्ल आकार पाउन थाल्यो- भित्ता भित्तामा। 

*** 

आजकल तपाईँ पुल्चोकको बाटो हिँड्दै हुनुन्छ भने त्यहाँको आकाशे पुलतर्फ अवश्य आँखा पुर्‍याउनुहुन्छ होला। भित्तामा ठूलो चमेरो देखिन्छ। फलामले बनाएको त्यो आकृतिले कौतुहलता जगाउन सक्छ।

महिनौंदेखि पुलमा झुण्डिएका होर्डिङ बोर्ड, पुलमुनि थुप्रिएका फोहोर पनि छैनन्। त्यसैको पारी भित्तामा फलामे बार लगाइएको छ।
केही महिनापछि बोटबिरुवाले त्यहीबार र चमेरोको आकारमा टेक्दै उचाई लिनेछन्। मिलनको योजना अन्तर्गत पहिलो भर्टिकल गार्डेन हुनेछ त्यो।

‘शहरमा बोट बिरुवाको आवश्यकता त पूरा गर्छ नै। साथै यसले सौन्दर्य पनि बढाउँछ,’ मिलन भन्छन्, 'अब नो ब्रेक। ललितपुर महानगरपालिकाको साथले उर्जा थपेको छ।' 

भर्टिकल गार्डेनसँगै पेटीहरुमा रोपिएका बिरुवा संरक्षण, कलात्मक ‘ट्री गार्ड’को प्रयोग, हराभरा शहर उनको टु डु लिस्टमा रहेका केही योजना हुन्। उनी ढुक्क छन्, योजना सफल हुनेमा।

यसरी धमाधम काम हुने अवस्थामा पुग्न थोरै भागदौडले भने पुगेन मिलनलाई।

*** 

डेढ वर्षअघि उपत्यकामा सडक विस्तार हुँदै थियो। सडक र घरहरु भत्काउँदा निस्किएको धुलो र त्यसले निम्त्याउने समस्या कम हुने छाँट देखिएको थिएन। जसको विरुद्ध सांकेतिक ग्याँस मास्क लगाएर एकल प्रदर्शनीमा उत्रिएका थिए, मिलन। उनी बाटोमा मात्र सीमित भएनन्। स्वास्थ्य मन्त्रालयदेखि ट्राफिक महाशाखासम्मै पुगे। भित्र छिर्न दिन्थेनन्। मास्क झोलामा हाल्थे र भित्र पुगेपछि फेरि लगाउँथे।

चित्रकार समेत रहेका उनी भन्छन्, ‘कलाकारको पनि समाजप्रति जिम्मेवारी हुन्छ र कलात्मक ढङ्गमा परिवर्तनका लागि दवाव दिनुपर्छ भन्ने लागेको हो।’ 

धुलो निवारणका लागि केही गरौं भनेर सम्बन्धित निकायमा पुग्ने उनी हरेक कार्यालयबाट त्यस्ता आश्वासनका बचन लिएर फर्कन्थे जुन कहिल्यै पूरा भएन।

त्यसै बीच कामका लागि लण्डन जान पर्‍यो। त्यहाँको बसाई छ महिना लामो भयो। नेपाल फर्कँदा शहरको अवस्था झनै गम्भीर। धुलो धुँवा चर्को। उपत्यकामा मान्छे निसास्सिएको देखेपछि चुप नलाग्ने अठोट लिए। र, लागे काठमाडौं महानगरपालिकाको कार्यालय, मेयर विद्यासुन्दर शाक्यलाई भेट्न।

यो पटक उनीसँग योजना थियो- काठमाडौंका खाली जग्गाहरुमा रुख रोप्ने, पार्क बनाउने। उनले तीनकुनेमा खाली ठाउँ देखेका थिए, त्यसैले त्यहीँ उनको आँखा परेको थियो। महानगरपालिका पुगेपछि थाहा पाए – त्यो त विवादित जग्गा रहेछ, सबै होइन केही भागमा। विवादमा नरहेको भागमा रुख रोप्न अनुमति माग्न महानगरपालिकाले वन विभाग पठायो। उनी त्यहाँ पटकपटक पुगे। प्रस्ताव स्वीकार्न त टाढाको कुरा निवेदन च्यातिन लाग्दासमेत एउटा हस्ताक्षर पाउन मुश्किल भयो।

‘त्यहाँबाट अनुमति माग्न सम्बन्धित वडा नम्बर ३२ को कार्यालय गएँ। उहाँहरुले सिधैं हुँदैन भन्नु भयो। मलाई त आफ्नै सुरले रोप्छु भन्ने जोश आयो,’ मिलनले सुनाए।

उनले सोधे – मैले आफैँ रोपे के गर्नुहुन्छ? 

जवाफ मिल्यो – उखेलेर फालिदिन्छौं।

जवाफले छक्क पार्‍यो उनलाई।

पेप्सीकोलामा रहेको त्यो वडा कार्यालयबाट एयरपोर्ट पछाडिको बाटैबाटो उत्तरतिरको बौद्धतिर हानिए। महानगरपालिकाको वडा नम्बर ६ कार्यालयमा छिरे। र, घटनाक्रमको बेलिबिस्तार लगाए। त्यहाँ गएको पहिलो दिन नै बौद्ध वरपरका केही सार्वजनिक जग्गा देखाइयो- वृक्षारोपणका लागि।

टुसालस्थित जग्गामा २३ वटा बिरुवा रोप्न वडा कार्यालय र जिल्ला वन कार्यालयको अनुमति लिए। आर्थिक संकलनका लागि सार्वजनिक सहयोग आह्वान मार्फत् भयो। 

‘ट्री गार्ड’ प्रायोजनका लागि बैंकहरुलाई प्रस्ताव राखे। पहिलो गाँसमै ढुंङ्गा। योजना सुनाएको पहिलो बैंकबाट जवाफ आयो – ट्री गार्ड राख्ने ठाउँ नै त्यति भित्र रहेछ। हाम्रो प्रचार हुँदैन, सरी।

‘मान्छेहरु वातावरणबाट टाढा भएको देखेर निकै नरमाइलो लाग्यो,’ त्यो क्षणलाई उनले सम्झिए। 

उनी केही महिनाअघि भोगेको अवस्था बारे सुनाउँछन्, 'अनि मैले ट्री गार्डलाई पनि मानवीय संवेदनासँग जोड्ने प्रयास गरेँ। प्रयास सफल भयो।' 
उनले ट्री गार्डमा बैंक वा अन्य कुनै व्यापारिक संस्थाको नामको सट्टा शुभकामना, समवेदना वा सम्झनाका संदेशहरु राख्ने भए। जसले राख्छ उसले ट्री गार्ड प्रायोजन गर्नु पर्ने व्यवस्था गरे।

पहिलो सम्झना संदेश आयो उनलाई – ‘मेरो दाइ सानैदेखि खेलौना प्लेन र हेलिकप्टरसँग रमाउनु हुन्थ्यो। पछि उहाँ पाइलट नै बन्नुभयो। हामी खुशी थियौं। विडम्बना – प्लेन क्र्यासमै उहाँको निधन भयो। उहाँको सम्झना र आत्म शान्तिको कामना गर्दछु।'

२३ वटैरुखका लागि विभिन्न सन्देश आए। भावना आए। ट्रीगार्ड आए। मिलन भन्छन्, 'ती बोटहरु मान्छेको भावनाले बेरिएर सुरक्षित हुने भए। रुख बनेपछि प्राकृतिक कला बनेर उभिन्छन्। पहिलो प्रोजेक्ट सकिनुको खुशीले अर्को ठाउँमा कुदिहाल्ने साहस दियो।' 

वडा कार्यालयले जग्गाहरु देखाइदियो, त्यसपछि भौतिक, नैतिक सहयोगको प्रतिवद्धतासहित। साथीहरु महात्मा पराजुली, लोप्साङ स्याङ्बो, सृष्टि श्रेष्ठ र अमोद कर्माचार्य टिम बनेर सुरुदेखि जोडिएका थिए। उनीहरुको मुख्य नारा 'लभ लेटर टू द सिटी' रहेको थियो। कुटो कोदालो स्थानीय साथी राजन योन्जनको घरबाट ल्याइयो। वडा कार्यालयका कर्मचारी र वरपरका केही छिमेकीले साथ दिए- खन्न, रोप्न, स्याहार सुसारका लागि पनि। 

प्रोजेक्टका लागि हेरेको दोस्रो जग्गा विवादित भएको जानकारी वडा कार्यालयकै कर्मचारीले दिए। मिलन र टोलीले १४ दिन कुदेपछि पत्ता लगाए – जग्गामा त कुनै विवाद नै छैन पो त।

‘उहाँहरुको आशय बुझियो। स्थानीय बासिन्दासँगको समन्वयमा काम गर्नेबारे सोच्यौं। त्यहाँ पनि कसैलाई रुख, बोट, बिरुवाको महत्व नै थिएन,’ उनी आफूलाई दिक्क लागेको त्यो क्षण सुनाउँछन्, 'समाज भनेको मान्छे र घरमात्र होइन यहाँ रुख, किरा, फट्याङ्ग्रा पनि हुनुपर्छ भन्ने सोच भएकाहरुको आवश्यकता थियो।'

ठाउँ र मान्छे खोज्दाखोज्दै मनसुन सकियो। त्यसपछि विरुवा रोप्न उपयुक्त मौसम रहेन।

*** 

सन् २०१९ को मनसुन क्यालेन्डर तयारी गरे। अर्को वर्ष बोट बिरुवा लगाउने ठाउँ खोज्दै जाँदा भत्किएका पर्खाल देखे, सद्दे पर्खालमा फिल्मका पोस्टर र राजनीतिक नारा देखे। र, आयो ‘भर्टिकल गार्डेन’को योजना। न भिन्न ठाउँ चाहिने न त धेरै समयको हेरचाह। थोरै ठाउँ, कम चुनौतीबीच शहरमा हरियाली सिर्जना हुन्छ भने किन नगर्ने?

पुन:  एक पटक महानगरपालिका छिरे। काठमाडौंका तर्फबाट ‘हुन्छ’ भन्ने आशाबाहेक केही पाएनन्। त्यहाँबाट पाएको आशाले ललितपुर महानगरपालिकासम्म डोहोर्‍यायो। त्यहाँ पनि सुरुमा वातावरण सहज थिएन तर उनीसँग धैर्यता थियो। सक्दो नम्र भएर पटकपटक आग्रह गर्थे। हात जोड्थे।

‘हरेक दिन गएर चार, पाँच घण्टासम्म पनि पर्खिएँ। कुरा बुझाउन पनि गाह्रो भयो, समय लाग्यो,’ उनले सुनाए, 'वर्षौ सरकारी कार्यालयभित्र बसेर काम गरेकाहरु बीच पसेर केही दिनमै सबै परिवर्तन गर्छु भन्नु मुर्खता हुन्थ्यो। त्यसैले बाहिरैबाट आफैलाई पर्खिन, उहाँहरुको कुरा सुन्न निर्देशन दिएर पस्थेँ।’

यस्तैक्रम चलिरहेकै थियो जात्राको दिनि अप्रत्यासित रुपमा बाटोमै  चिरिबाबु भेटिए। र, मिलनको मिसनको पहिलो चरण सुरु भयो। 

***

धरानमा कक्षा ८ पढ्दा पढ्दै मिलनको स्कूले पढाइको पथ धर्मराउन थाल्यो। रङहरुको तालमेल मिलाउनमै रमाउने उनलाई हिसाबको शुत्र रट्न मन लाग्न छाड्यो। पूर्णाङ्क सयमा अंक २, सबै विषयको कापी एउटै, गृहकार्य साथीको सार्ने, कक्षामा लुकेर चित्र बनाउने- उनको क्रियाकलाप स्कूलका नियम विपरीत ठहरिए। उनी धरानको विजयपुर स्कूलबाट निकालिए। त्यसपछि तीन महिनामा दुईवटा स्कूल चहारे। त्यहाँ पनि रहन सकेनन्। अन्तत: परिवारले काठमाडौं ल्यायो। न्यू मिलिनियम स्कूलमा कक्षा ९ मा भर्ना गराइदिए। यहाँ धरानमा जस्तो गाह्रो भएन। दुईवटा विषयमा फेल हुँदा पनि कक्षा दशमा चढाइयो। 

‘तर, मेरो मन पढाइमा लागेन। एसएलसी अघि नै पढ्न छाडेँ। मसँग कक्षा आठसम्मको मात्र सर्टिफिकेट छ,’ मिलन गम्भीर सुनिए, 'पढ्न छोडे पनि सिक्न छाडिनँ नि।' 

मिलन पूर्णकालीन आर्टिस्ट भए। 

चित्रकलामै समय र लगन खर्चेका उनलाई कलाले सामाजिक परिवर्तनको जिम्मेवारी बोक्नुपर्छ भन्ने लाग्यो। त्यसैले आफ्ना चित्रकलाहरुको माध्यमबाट विभिन्न संदेश प्रवाह गर्न चाहे। प्रदर्शनीमा राखे। 

कलाले ग्यालरीसम्म पुगेकालाई मात्र बुझायो। त्यतिमै सीमित हुनु उनको रोजाइको कुरो थिएन। र, ग्यालरी नछिर्नेहरु पुग्ने ठाउँ भेटे - झम्सिखेलका रेस्टुरेन्टहरु। त्यहाँ लाइभ म्युजिकको तालमा चित्रकला कोर्न थाले। रमाए पनि किनकि कहिल्यै प्रदर्शनीमा नआएको डाक्टर, इन्जिनियर, पाइलट, कलेजका विद्यार्थीको समूह आउँथ्यो, त्यहाँ। उनलाई लाग्थ्यो - यीनै मान्छेलाई देखाउन खोजेको हुँ कला।

एकदिन उनले रेस्टुरेन्टसम्म पुर्‍याउने ट्याक्सी चालकलाई आफूसँगै आउन आग्रह गरे। उनले भने- यस्तो ठाउँमा त पस्न डर लाग्छ सर, खर्च धेरै हुन्छ। त्यो जवाफले मिलनको कलात्मक यात्रालाई फरक दिशा दियो। 

‘कला समाजको लागि हो भने खोइ त समाजका ती वर्गका सम्म पुगेको?,’ उनले आफैसँग प्रश्न गरे र जवाफ खोज्न निस्किए। 

भन्छन्, 'त्यसपछि म हरेक वर्गले चाहेको कला बुझ्नका लागि निस्किएँ।'

बाटोमा भेटिएका अन्जान व्यक्तिहरुलाई रोक्थे र कुरा गर्थे। नाङ्लो पसल राख्नेदेखि कारखाना, अस्पताल, माइक्रो, स्कूल कलेजसम्मका मान्छेसँग कलाबारे धारणा बुझ्न थाले। करिब एक वर्ष त्यसरी नै बिताए र निचोड निकाले- ‘सबका लागि माइतिघर मण्डलामा ठूलो पेन्टिङ राख्छु।’ समाज चित्रण गर्ने र दुनियाँ छक्क पार्ने पेन्टिङको क्यान्भास कल्पिएका थिए उनले। 

तर, अनुमति पाएनन्। अरु उपाय खोज्नुको विकल्प थिएन। 

‘दिनभर सुत्ने र रातभर सोच्ने गरेर करिब ६ वर्ष बित्यो। तर, न आम मान्छेसम्म कलात्मक केही पुर्‍याउन सकेँ न समाज परिवर्तन गर्न,’ भावुक सुनिए उनी, 'केही नभएपछि म फ्रस्टेटेड भएँ।' 

अनि त उनको जीवन अनौठो हुन थाल्यो। रुँदै हिँड्न थाले। निर्जीव बस्तुसँग बात मार्न थाले। कहिले नेपाल त कहिले इन्डियाका ठाउँठाउँ चहार्थे। यतिन्जेल नियमित चित्रकला त छुटिसकेको थियो। नेपालमा हुँदा अधिकांश समय गोदावरीमा बिताउन थाले। बिहानै जान्थे। दिनभरी त्यही सुत्थे। र, बेलुकीमात्र फर्कन्थे। उनी अझै पनि कलाको अर्थ र आम मानिसमा त्यसको औचित्यबारे निचोड खोज्दै थिए। 

एकदिन गोदावरी बगैंचाको सेतो पुतली उनको हातमा आएर बस्यो। उनी एक्कासी खुशी भए। तर,  एकछिनमै पुतली उडेर गयो।

यो घटनाले उनको सोच्ने शैलीमा परिवर्तन आएको सुनाउँछन्। त्यसपछि उनले कलालाई फरक बुझे। उनी बने बटरफ्लाइ म्यान। 

'आफ्नो सुरमा बस्ने, उड्ने पुतलीले मलाई खुशी बनाउन सक्यो। मैले पनि बिना कुनै अपेक्षा आफ्नो सुरमा काम गरेँ भने कोही न कोही पक्कै खुशी होला भन्ने लाग्यो,' पुतलीले दिएको ज्ञान साटे उनले।

अनि कलालाई चित्रमा मात्र सीमित नरहेको निचोड पनि निकाले। प्रकृतिमा जसर आउँछन् या पाइन्छ ती त्यसैगरी जान्छन् या जान दिनुपर्छ भन्ने ज्ञान पुतलीले उनको दिमागमा छाडेर गयो। आफू खुशी भएर अरुलाई खुशी महसुस गराउनुपर्छ भन्ने बुझे। तीनै बुझाइहरुको परिणाम उनी ‘बटरफ्लाइ म्यान’ मा रुपान्तरित भए। 

स्वतन्त्र उड्ने पुतलीलाई आशा र शान्तिको संकेतका रुपमा उडाउन चाहन्थे। सन् २०१२ को कुरा हो। उनले आफैँ डिजाइन गरेको सादा सेतो पुतली उपत्यकाको गल्ली, पेटी, रुख, सम्पदाहरुमा टाँस्दै हिड्न थाले। बाड्दै हिँड्न थाले। ती पुतली कतिले कुल्चिए, कतिले हातमा लिए र खुशी  भए। खुशी हुनेहरुले उनलाई अझ धेरै पुतली बनाउन प्रेरित गरे। 

‘पुतलीको जीवन आफैँले पनि लामो प्रक्रिया पछिको सुन्दर नतिजा संकेत गर्छ। पुतली त्यही संदेश पनि हो,’ उनी आफ्नो जीवनसँग जोडेर सुनाउँछन्, 'म पनि त कलाको अर्थ र आम मान्छेमा औचित्यको खोजीमा ६, ७ वर्ष भौतारिएँ। अन्तिममा त्यति सुन्दर पुतलीले सबैको संवेदना छोयो।' 

शान्तिपूर्ण प्रदर्शनीदेखि भूकम्पपछि आशाको प्रतीकका रुपमा पनि टाँसेका थिए उनले पुतलीहरु। हाल उनको ह्वाइट बटरफ्लाइ विश्वव्यापी रुपमा फैलिएको छ। ४० भन्दा बढी देशमा जन्मदेखि मृत्यु संस्कार सम्म प्रयोग भएका छन् – सेता पुतलीहरु। 

ब्रसेल्स, बेल्जियममा भएको आत्मघाती हमलापछिको शोक सभामा पनि उनको पुतली राखियो। हङकङकको गोर्खा स्मारकमा, फिनल्यान्डको एक अस्पतालमा पनि राखियो सेतो पुतली। सेतो पुतलीका लागि नै उनलाई स्कटल्यान्ड, लण्डन, जर्मनीबाट निम्तो आयो। उनले नाम नै नसुनेका अफ्रिकी मुलुकहरुमा पनि स्वतन्त्रता र आशाको प्रतीक सेतो पुतली उडेकोमा उनी खुशी छन्।

‘कला आफूबाट बाहिर पुगेपछि सबैको हुन्छ। यसको निश्चित प्रकार, परिभाषा केही रहेनछ,’ यो अर्को ज्ञान हो आठ पास मिलनको।

आम मान्छेमा कला पुर्‍याउन ह्वाइट बटरफ्लाई प्रोजेक्ट प्रयोग गरेका उनले सन् २०१६ मा हावार्ड युनिभर्सिटी अन्तर्गत् द लक्ष्मी मित्तल एण्ड फेमिली, साउथ एसियन इन्सटिच्युटमा भिजिटिङ आर्टिस्टका रुपमा पुगे। काठमाडौंको स्कुलमा ९ भन्दा माथितिर नउक्लेका उनले विश्वविख्यात विश्वविद्यालयमा प्रवचन दिए।  

त्यसयता वायु प्रदुषणविरुद्ध कलात्मक विरोध र शहरी सौन्दर्यमा कलात्मक प्रयोगको प्रयास गरिरहेका उनलाई लाग्छ - कलाकार चाहेको काम गर्न स्वतन्त्र छ। त्यो स्वतन्त्रताको प्रयोग आवश्यक छ।

‘सामाजिक अभियानमा सृजनशीलता देखिँदैन। सृजनात्मक काममा सामाजिक अभियान जोडिँदैन। यो दु:खको कुरा हो,' उनले नेपाली समाजबाट पाएको अर्को ज्ञान साटे।

उनले त्यही बीचको खाडलमा उभिने प्रयास गरेका छन्। भन्छन्, 'आखिर परेको खण्डमा मोबाइलले ब्रस र सामाजिक सञ्जालले रङको काम गर्दो रहेछ त।' 

उनले आफ्नो हरेक कामको जानकारी र प्रगति विवरण फेसबुकमार्फत् सेयर गर्छन्। लाइभमा पनि जान्छन्। प्रेरणाका कुरा नसुन्ने तर टेलिभिजनका क्यामेरा देखेपछि टोपी लगाउने, कोट मिलाउने जनप्रतिनिधिहरु पाए उनले।

व्यक्तिगत स्वार्थ र अपेक्षाहरुबाट टाढा रहेर जुटिरहेका यी कलाकार शहरहरुलाई क्यानभास बनाएर हरियो रङ पोत्न लागिपरेका छन्। ललितपुरका सार्वजनिक ठाउँ र सडकहरुलाई सुन्दर बनाएपछि काठमाडौं आउने उनको योजना छ। 

‘योजना सफल भएको देखेपछि त काठमाडौं महानगरपालिकाले पनि पक्कै साथ दिनेछ। त्यही विश्वास जित्ने कोशिश गर्दैछु,’ उनी अझै कन्फिडेन्ट सुनिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell